मथिङ्गल हल्लाउने जीवनकलाको त्यो आवाज

  प्रकाशित मिति
२४ माघ २०७३, सोमबार १८:१३


jeewan kala

जीवनकाल भण्डारी एक भद्र, मृदुभाषी, परिश्रमी, शालीन र साहसी नारी हुनुहन्थ्यो, जो भर्खरै यस धरतीबाट विदा हुनु भएको छ । उहाँको मलामी जान र अन्तिम दर्शन गर्न पुगेको त्यो दिन उहाँको श्रीमान रुद्रबाबु भण्डारीको वियोगको छपट्टी, अलापविलाप अनि छरछिमेकीको दिवङ्गत जीवनकलाको विषयमा भएको कुराकानीले मनमा अनेकौं कुराहरु तरङ्गित भए । उहाँसँगको अतितका सम्झनाहरु झल्झली घुमिरह्यो, अनि फोक्सोको क्यान्सर जस्तो डरलाग्दो रोगसँगको उहाँको सङ्घर्ष चर्चा परिचर्चा मेरो मानसपटलमा खेलिरह्यो । त्यसैले पनि उहाँको विषयमा केही नलेखी आफूलाई रोक्न सकिन ।

नाताले उहाँ मेरो साइली निनी पर्नुहुन्छ । त्यसैले पनि उहाँलाई नजिकबाट बुझ्ने मौका पाएँ । अहिले पनि गाउँघरमा जातपातको भेदभाव, ठूलोसानो जात विचको अन्तरद्वन्द्व कायम छ । झन त्यसबेला अर्थात आजभन्दा ४३ बर्ष अगाडिको अवस्था सोचौं त ? कस्तो थियो होला । त्यो समयमा आफूले रोजेको मान्छेसँग गन्धर्व विवाह गर्ने साहस….। हाामीले अनुमान लगाउन सक्छौँ कति धेरै आँट अनि हिम्मत चाहिन्थ्यो त्यो कदम चाल्न । अझ त्यसमाथि एक नेवारकी छोरी भएर ब्राह्मणको घरमा बुहारी बन्न पुग्दाको दुःख र सङ्घर्ष हामीले सहजै अनुमान लगाउन सक्छौँ ।

सानै उमेर भए तापनि निपुणता, सक्रियता र गतिशील नेतृत्वको परिणामले सबै घरपरिवारको उहाँ आत्मीय र सम्मानीय बन्न पुग्नुभएको थियो । आजभन्दा १०÷११ बर्ष अगाडि हामी शान्तिनगर निनी पाजुलाई भेट्न पैदल गएको स्मरण अझै पनि ताजा छ । पैदल यसकारण कि गाडी असाध्यै पातलो चल्ने गथ्र्यो । त्यो दिन जीवनकला निनीले तयार पार्नु भएको मिठो खानाको स्वाद अझै मुखमै झुण्डिएको छ । त्यतिबेला पाजु रुद्रवावु भण्डारीले आफ्नै घरमा फलेको सागसब्जी भएकोले यति मीठो लागेको होला तिमीलाई भन्नु भएको अझै ँ याद छ । साँच्चै त्यो दिनको खाना किन हो किन साह्रै मीठो थियो । त्यसपछि पनि धेरै पटक शान्तिनगर पुगियो तर त्यतिबेलाको जस्तो खानाको स्वाद मैले कहिल्यै पाइन । साँच्चै त्यो बेलामा घरको करेसाबारीमा फलेको साग सब्जी साह्रै मीठो हुन्थ्यो । कारण त्यो समयमा गाईबस्तुको मल प्रयोग गरी फलाइएको हुन्थ्यो । आज पनि कसै कसैले त्यसलाई निन्तरता दिनु भएको छ, तर थोरैले मात्र ……।

मैले यो विषय यहाँ उठान गर्न खोजेको विशेष गरेर अहिले साग सब्जी फलफुल तथा प्राय सबै खाद्यान्नमा प्रयोग गरिरहेको विषादी । जसले हाम्रो जीवनमा ठूलो पोइजनको कामा गरिरहेको हुन्छ । दिन प्रतिदिन गाउँघर, सहर बजार जता पनि नकरारात्मक असर परिरहेकोे छ । हामीलाई थाहै हुँदैन । कहिले र कसरी यसले हाम्रो जीवनलाई मृत्युका मुखसम्म पुर्याउँछ भनेर । यसैको एक उदाहरण हाम्राी निनी जीवनकाला भण्डारी हुन् । जो यही विषादीको शिकार भएर चार पाँच महिना थलिएर यस धरतीबाट विदा भइसक्नु भएको छ । उहाँ जाँदा जाँदै हामी सबैको लागि एउटा सन्देश रेकर्ड गराउनु भएको थियो । जो सबैका लागि अति महत्वपूर्ण रहेको छ ।

कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीज्यूले रेकर्ड गरी जनचेतनाका लागि रेडियोमार्फत सर्वाजनिक गर्नु भएको यो सन्देश जस्ताको तस्तै प्रस्तुत गर्दछु ।
‘नमस्कार म जीवनकाला भण्डारी । झापा शानितनगर–९ । अहिले म विरामी भएर लामो समयदेखि ओछ्यानमा छु । मेरो फोक्सो छैन । किड्नीमा समस्या छ । खुट्टाहरु पट्पटी फुट्न थाले । सुनिएको छ । भुँडी सुनिएको छ । चटपटाउन सक्दिन । चिलाएको ठाउँमा कन्याउन सक्दिन । कहिले वेहोस हुन्छु, विगत चार महिनादेखि मेरो यही हालत छ । यो हालत हामीले नै निम्त्याएको हो । शान्तिनगर विषको भण्डार भयो । यहाँ विष रोप्छौँ, विष फलाउँछौँ, विषै खान्छौँ । प्रतिबन्धित विषादी प्रयोग गर्छौँ । म यसै गर्थे । घातक विष प्रयोग गर्थे । बोडीमा, सिमीमा, अफसिजनको सब्जीमा पर्याप्त विष हाल्थेँ । ग्लोब्स पनि लगाइन, बुट पनि लगाइन, चश्मा पनि लगाइन ।
विष हातैले लगायौँ । यी कृषि विकासमा मान्छे आएर विष हाल्न सिकाउँथे । जेटीए गाउँ गाउँमा आउँथे, विष हाल्नु पर्छ भन्थे । रोबर जस्तो कडा विष हामीले प्रयोग गर्यौँ । हामीले खायौँ । बजारको खायौँ । आज घर घरमा मान्छे विरामी छन् । शान्तिनगरम मात्र १५ जनाभन्दा बढी क्यान्सरले मरिसके । किड्नी भएको पनि ठीक छैन । फोक्सो कसैको ठिक छैन । सबैलाई थाइराइड छ । ग्यास्टिक त सामान्य कुरा भयो । घरघरमा रोगीहरु छन् । ति सबै विषादिको प्रकोप हो ।
विष रोप्न सरकारी अड्डाहरुले सिकाए । हामी नजान्नेहरुलाई अर्थात अशिक्षितहरुलाई जे सिकायो त्यही गरिम् । टमाटर खाँदा विष खायौं । कोपी खाँदा विष खायौँ । सिमी खाँदा विष खायौं । गाईको दूध खाँदा विष पिइऔं । पहाडको सिमसारहरु सुके, मुल सुके, पानी पनि विषाक्त भयो । तिर्खा लाग्छ पानीमा पनि हामी विष खाँदैछौं । एक छाक खाँदै गर्नुपथ्र्यो । जान्ने बुझ्ने टाढाबाठाले गर्नुपथ्र्यो । कृषि कार्यालयले गर्नुपथ्र्यो । के यो देशमा कानुन छैन ? कानुनले नियन्त्रण गर्नुपथ्र्यो । कानुन किन सुतेको । मान्छेलाई किन मारेको ? आज नेपालभरि यस्तै चलन चलेको छ । सिमसार सुके, धारा सुके, खोला सुक्दैछन् । जिव जन्तु सबै मर्दैछन् । किटपतङ्ग मर्दैछन् । वातावरण सकियो । पर्यावरण सकियो । सरकार किन चुप लाग्छ ? स्कूलमा किन यसको पढाई हुँदैन । गाउँमा पार्टीहरु छन् । पार्टीहरु किन बोल्दैनन् । कार्यकर्ता किन बोल्दैनन् । किन मान्छेहरु आफैँ विषका ट्याङ्कीहरु बोक्छन् । खाली पैसा पैसा भनेर अघि बढ्दैछन् । म मरिरहेकी छु ।

जब कि चिलाएको ठाउँमा कन्याउन सक्दिन भने अब मेरो भविष्य के हो ? सरकारले यो कुरा किन सुन्दैन । डाक्टरले यो कुरा किन सुन्दैन ? गाविसहरु यो कुरा किन सुन्दैनन् । जिम्मेवार मानिस किन चुप छन् ? किन हामीलाई मारेको ? किन हामीले ज्ञान नदिएको । त्यसैले शान्तिनगरलाई विष मुक्त बनाऔं । इलामलाई विष मुक्त बनाऔं । भारतीय बजारबाट विषाक्त सब्जीहरु आउँछन् । भन्सार किन चुपचाप छ ? क्वारेन्टाइन किन चुपचाप छ ? पुलिस किन चुपचाप छ ? सरकार किन मौन छ ? यो अत्याचार भयो । विषलाई रोक्नुहोस् । विष रोपेर अमृत फल्दैन । आयू नछोट्याऔं । यो कुरा सबैले सुनिदिनु होला । कञ्चनजङ्घा एफएमबाट यो कुरा सधै प्रचार गरिदिनु होला ।
शान्तिनगर, बाहुनडाँगी, गौरादह, धनकुटा विषका भन्डार भए । हामी सुन्दैछौं । चितवनमा, भरतपुर क्यान्सर अस्पतालमा झापाका मान्छे बढी विरामी छन् । म जस्तै अपाङ्ग भइसके । मलाई बाँच्न मन थियो, हाँस्न मन थियो । परिवारसँग खेल्नु मन थियो । मेरा बुबा आमा धेरै समय बाँचे मेरा सासु ससुरा ९० बर्ष नाघेर गए । आज म ६० बर्ष नपुगिकन अपाङ्ग भएँ । चटपटाउन नसक्ने भएँ । त्यसैले गर्दा हामी अमृत खान्छौँ भने अमृत रोपौँ । विष रोपेर अमृत फल्दैन । उहाँहरु पैसै पैसा भनेर अफसिजनका सब्जी रोप्दैछन् र उनीहरुका छोराछोरीलाई मारिरहेका छन् । विरामीलाई मारिरहेका छन् । मानौँ हामीसँग मान्छे मार्ने लाइसेन्स छ । लाइसेन्स भए जस्तै गरेर आफ्नो मान्छेलाई सिध्याए जस्तो ।

ए कृषि विकास कार्यालय ! ए जिल्ला प्रशासन ! ए प्रहरी ! ए सेना ! ए पार्टीहरु हो ! नेताहरु हो ! कार्यकर्ताहरु, मेरा कुरा सुन्नुस् । म भनेको एउटा प्रतिनिधि मात्र हूँ । तर घरघरमा म जस्ता धेरै मान्छे हजाराँैको सङ्ख्यामा मरिसके । आज मौरी छैन, किटपतङ्ग छैन । जङ्गलमा बाँदरहरु हराउन थालिसके । पानीका स्रोत सुकिसके । मात्रै विषका कारण यस्तो भएको हो । त्यसैले गर्दा कञ्चनजङ्घा एफएमलाई मेरो आग्रह छ– विष विरुद्ध आन्दोलन गरिदिनोस् । धेरै गर्नुभएको छ । अझै गर्नुस् । म यो अवस्थामा यही सन्देश दिन चाहन्छु । हामी स्वस्थ रहुँ । देशलाई स्वस्थ बनाऔं । मान्छेलाई स्वस्थ बनाऔं । पृथ्वीलाई स्वस्थ बनाऔं । पृथ्वीलाई बचाउन सकेनौँ भने हामी बाँचेको के अर्थ भो ? म यति नै कुरा भन्छु । मेरो कुरा ध्यानपूर्वक सुन्नु होला । सबैको जय होस् ।’

यो सन्देश साँच्चै नै हामी सबैले राम्ररी गहन तरिकाले चिन्तन मनन गर्नुपर्ने देखिन्छ । र, हामी सबैले विषादि विरुद्ध आन्दोलन गर्नुपर्छ । आजै पनि हामी यस्तो गम्भीर विषयमा सजग भएनौं भने देशका मान्छेहरुको स्थिति भयावह हुनेछ । फेरि अर्को जीवनकला यसको शिकार बन्नेछ । मानव स्वाथ्य जस्तो सम्बेदनशील विषयमा सरकारी निकाय, गम्भीर नहुँदा हामी सबैको स्वास्थ्य माथि खेलबाँड भएको छ । साथै हामी पनि उत्तिकै जिम्मेवार छौं । छिटो नाफा कमाउने उद्देश्यले हामी कृषक तथा व्यापारीले साथ सब्जी र फलफुलमा विषादिको प्रयोग गरिरहेका छौं । अब त हामी उपभोक्ता पनि जागरुक हुन जरुरी छ । साथै आफू यस्तो पीडामा हुँदाहुँदै पनि हाम्रो आँखा खोल्ने हेतुले यस्तो शिक्षामूलक सन्देश दिने जीवनकलालाई सलाम अर्पण छ । हार्दिक श्रद्धाञ्जलि ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: