मदन भण्डारी राजमार्गका परिकल्पनाकार

  प्रकाशित मिति
७ असार २०७५, बिहीबार १२:५४


ज्ञानेन्द्र निरौला

मेचीनगर । सरकारले घोषणा गरेको बहुचर्चित ‘मदन भण्डारी राजमार्ग’को वास्तविक परिकल्पनाकार प्रधानमन्त्री केपी ओली होइनन्, नत अर्थमन्त्री डा. युवराज खतिवडा नै हुन् ।

मेचीनगर–१ स्थित बाहुनडाँगीको पाटापुरदेखि डडेल्धुरासम्म निर्माण गरिने यस कान्छो राजमार्गका वास्तविक परिकल्पनाकार झापाले नदेखेको र इलामले नचिनेको झापा–इलाम सीमा क्षेत्र बहुवनका सामाजिक अगुवा बृहस्पति खतिवडा हुन् ।

सामाजिक अगुवा खतिवडाले तराई र पहाडको सङ्गमस्थल चुरे क्षेत्रका स्थानीयको जीवनस्तर उकास्न चुरे राजमार्गको पहिलो प्रस्ताव गरेका हुन् ।

उनले पाटापुरदेखि बर्नेसम्मको छोटो दूरीको बाटो निर्माणको प्रस्ताव गरेका थिए । २०७१ सालको अन्त्यतिर खतिवडाले आफ्नै घर अगाडिको बाटोलाई पश्चिममा बर्ने चोक र पूर्वमा पाटापुर जोड्न सके त्यस क्षेत्रका स्थानीयलाई मूलप्रवाहमा जोड्न सकिने परिकल्पना सहित चुरे मार्गको परिकल्पना गरेर विभिन्न सरकारी निकायमा योजना लगेका थिए ।

मदन भण्डारी राजमार्गमा पर्ने बहुवनको सुकेनिन्दा पुल !

उनको प्रस्तावले चुरे क्षेत्रका वासिन्दाको व्यापक समर्थन पाएपछि राजमार्गलाई लम्ब्याएर चतरासम्म पुर्याउने प्रस्ताव गरिएको थियो । त्यही प्रस्तावलाई टेकेर सरकारले अहिले नेपाली कम्युनिस्ट नेता मदन भण्डारीको नाम जोडेर पूर्व–पश्चिम राजमार्गकै रुपमा विकास गर्दै बजेट समेत विनियोजन गरेको छ ।

खतिवडाकै पहलमा २०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बिर्तामोडको कार्यक्रममा आउँदा बौद्धमोडका अगुवा ज्ञानबहादुर मगर सहितको समूहले यही चुरे मार्ग बनाउन प्रधानमन्त्रीलाई अनुरोध गर्ने प्रयास गरेको थियो । तर अन्य नेताहरुले नपत्याइदिँदा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउन खतिवडा त्यसबेला सफल भएनन् ।

खतिवडा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन नपाउँदा निराश भएनन्, बरु सो मार्गको प्रचारमा झन् लागे । आखिर उनले प्रधानमन्त्री ओली, अर्थमन्त्री डा. युवराज खतिवडा लगायतलाई चुरे मार्गको महत्व बुझाएरै छाडे । जसको फलस्वरुप उनको सानो परिकल्पना आज राजमार्गको रुपमा विस्तारित भएको छ ।

मदन भण्डारी राजमार्गका बारेमा बिस्तृत जानकारी लिन पत्रकारको समूहसहित यो पङ्तिकार एक बिहान बहुबन पुग्दा मदन भण्डारी राजमार्गका परिकल्पनाकार खतिवडा सोही राजमार्गको विषयमा स्थानीयवासीसँग छलफल गरिरहेका भेटिए ।

हामी उनको घरमा पुग्दा गाउँलेहरु राजमार्ग निर्माणको पहलका लागि खतिवडालाई बधाइ दिइरहेका थिए ।

‘तत्कालीन प्रधानमन्त्री केपी ओली २०७२ को तिहारको लक्ष्मी पुजाको दिन पाँचथरको रबि आउने खबर पाएर पछि चुरेमार्ग निर्माणको ज्ञापन पत्र लिएर रबि पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायौं’, कुराकानीको क्रममा खतिवडाले भने–‘त्यसैबेला प्रधानमन्त्री ओलीले सरकारले सोच्नु पर्ने कुरा तपाईहरुले सोच्नु भएछ राम्रो भयो भनेर सकारात्मक जवाफ दिनु भएको थियो ।’

सोही ज्ञापन पत्रबाट सुरु भएको चुरेमार्ग निर्माणको सपनालाई सरकारले २०७५÷०७६ को बजेट मार्फत मदन भण्डारी राजमार्ग नामाकरण गरेर साकार तुल्याइदिएको छ ।

सुरुमा बर्नेसम्म जोड्ने मात्र परिकल्पना गरिएकोमा प्रधानमन्त्री नै सकारात्मक भए पछि यसलाई दमकसम्म पु¥याउन सकिन्छ कि भनेर छलफल अगाडि बढाइएको खतिवडाले बताए ।

छलफल कै लागि २०७२ सालमा झापा, मोरङ, इलाम र सुनसरी जिल्लाका सरोकारवालाहरु उर्लाबारीको हाम्रो सहकारी संस्थाको भवनमा भेला भएका थिए ।

भेलाले परिकल्पनाकार खतिवडाकै अध्यक्षतामा ७ सदस्यीय चुरेमार्ग सरोकार समिति गठन गरेको थियो । भेलाले चुरे मार्ग निर्माणको कामलाई तीब्रता दिनका लागि सरकारसँग पहल गर्ने निर्णय गरेको थियो ।

यही पहल नै चुरे मार्गलाई मदन भण्डारी मार्गमा रुपान्तरण गर्ने आधार बनेको थियो । तर तराईमा हुलाकी र महेन्द्र राजमार्ग रहेको तथा पहाडमा अर्को पहाडी लोकमार्गको समेत निर्माण भइरहेको अवस्थामा चुरे मार्गप्रति सुरु सुरुमा राष्ट्रिय योजनाकारहरु समेत सकारात्मक नभएको खतिवडाको भोगाई छ ।

तत्कालिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडालाई यो बाटो निर्माणको कुरा लिएर भेट गर्न जाँदा सुरुमा उनले ‘देशले धान्न नसक्ने’ भनी पन्छाएको स्मरण खतिवडाले सुनाए ।

तर उनै युवराज खतिवडाले अहिले अर्थमन्त्री हुँदा चुरे मार्गको अर्को नाम बनेर आएको मदन भण्डारी राजमार्गलाई बजेट छुट्याएका छन् ।

दमकसम्म जोड्ने चुरेमार्गलाई अझै पश्चिमसम्म लान सकिन्छ भनेर मोरङ र सुनसरीका साथीहरुले हौसला दिए पछि चुरे मार्गलाई धरान हुँदै चतरासम्म पु¥याउने निष्कर्ष निकालेर अगाडि बढेको खतिवडा बताउँछन् ।

त्यसपछि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन लगत्तै मोरङको लेटाङमा यस क्षेत्रका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश र सङ्घीय सांसदहरुको भेला बोलाएर चुरेमार्ग निर्माणका लागि बृहत छलफल भएको थियो ।

त्यही भेलाले १५ सदस्यीय चुरेमार्ग उपभोक्ता सरोकार समिति समेत गठन ग¥यो । सो समितिको अध्यक्ष पनि परिकल्पनाकार खतिवडालाई नै बनाइयो भने सचिवमा मोरङका रमेश बस्नेत छानिए ।

यही भेला पछि सबैको सरोकारको बिषय बनेको चुरेमार्गलाई सरकारले बजेट मार्फत नयाँ नामाकरण सहित सम्बोधन गरेको हो ।

सरकारले नामाकरण गरेको मदन भण्डारी राजमार्ग पूर्वमा मेचीनगर–१ स्थित पाटापुरबाट सुरु भएर बौद्धमोड, बहुबन, बर्ने, साधुटार, बर्फल्याङ, सुखानी, दानाबारी, महमाई, चुलाचुली, जाँते, लेटाङ, केराबारी, पानमारा, धरान हुँदै चतरासम्म जाने छ भने त्यस भन्दा पश्चिम गाईघाट, कटारी हुँदै सिन्धुलीको भिमानबाट हैटौडा पुग्ने र यही मार्ग पश्चिममा डडेल्धुराको सुपौलसम्म पुग्ने सरकारले जनाएको छ ।

नयाँ नामाकरण सहित आगामी बर्षका लागि ४ अर्ब ५० करोड बजेट समेत छुट्टिएपछि परिकल्पनाकार खतिवडा समेत यतिबेला चर्चामा छन् ।

मदन भण्डारी राजमार्ग सरोकार समितिले यही असार ३ गते इलाम जिल्लाको चुलाचुली गाउँपालिकास्थित चपेटीमा बैठक गरेको छ ।

बैठकले चुरे मार्गको निर्माणमा सहयोग गर्नेलाई धन्यबाद सहित तीनवटा निर्णय गरेको अध्यक्ष खतिवडाले बताए ।

बैठकले मदन भण्डारी राजमार्गको लम्बाई र चौडाई कति हुने र राजमार्गले अधिग्रहण गर्ने जग्गाको क्षतिपूर्ति के हुने भन्ने बिषयमा सरकारको आधिकारिक धारणा माग गर्ने समेत निर्णय गरेको खतिवडाले बताए ।

त्यस्तै, बैठकले निर्माण सुरु भएको मदन भण्डारी राजमार्गको निर्माण कार्य अवधिभर सडक निर्माणको काममा सरोकार समितिले सहजिकरण गर्ने समेत निर्णय गरेको समितिका अध्यक्ष खतिवडाले जानकारी दिए ।

झापा–इलाम सीमा क्षेत्रमा पर्ने बहुबनका सामाजिक अगुवा खतिवडाले त्यस क्षेत्रको बिकास निर्माणका काममा महत्वपूर्ण भूमिका खेलेका छन् ।

हाल मदन भण्डारी राजमार्गमा पर्ने मेचीनगर–३ बेशीबजारस्थित सुके निन्दाको पुल, बौद्धमोडस्थित निन्दा खोलामा निर्माण भएको पुलको समेत खतिवडाकै पहलमा निर्माण भएको छ ।

त्यस क्षेत्रको बिद्युतीकरण र शैक्षिक बिकासमा समेत अगुवाई गरेका खतिवडा नेकपाका पुराना नेता हुन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: