मनाङको सदरमुकाम रहेको चामे र नेस्याङ गाउँपालिकामा एमाले बिजयी भएको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् । उनले १६९ मत प्राप्त गरेर बिजयी हुँदा एमालेकी टिकनदेवी गुरुङ ९ मतले पछि परिन् ।
त्यस्तै नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ । प्राप्त परिणाम अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जितेकी छन् भने कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । मनाङमा एमालेले चुनाव जितेको इतिहासमै यो पहिलो पटक भएको बताइएको छ ।
अहिलेसम्म मत गणना भइरहेका स्थानमध्ये धेरैमा नेकपा एमालेका उम्मेद्वारले अग्रता लिएका छन्।