मनाङ मस्र्याङदी क्लब सेमीफाइनलमा

  प्रकाशित मिति
२२ फाल्गुन २०७४, मंगलवार १९:०५


बिर्तामोड । टाइब्रेकरमा भाग्यमानी सावित हुँदा मनाङ मनाङ मस्र्याङदी क्लब तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले टाइब्रेकरमा सहारा क्लब पोखरालाई ४−३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो । टाइब्रेकरमा सहारा पोखराका भिषण गुरुङको प्रहार बाहिरिएको थियो भने टीम कप्तान समेत रहेका मानबहादुर तामाङको प्रहार मनाङका गोलरक्षक दिनेश थापामगरले बचाएका थिए ।

मनाङका तर्फबाट सुजल श्रेष्ठ, बिमल बस्नेत, अन्जन बिष्ट, डोना थापाको प्रहारले जाली चुमेको थियो । पोखराका बिजय श्रेष्ठ, रन्दिप पौडेल र बिशव अधिकारीले मात्र गोल गर्न सकेका थिए ।

खेल अवधिभर मनाङ मस्र्याङदी क्लबले बललाई आफ्नो पकडमा राख्न सफल भएपनि गोल गर्ने अवसर भने खेर फ्यालेको थियो । खेलको २२ औं मिनेटमा मनाङका लागि बिदेशी खेलाडी भिक्टोरले डि एरियाभित्र पाएको बललाई पोष्टको दिशा दिन सकेनन् । ३४ औं मिनेटमा मनाङका लागि झापाली खेलाडी बिशाल राइले गरेको फ्रि किक पोष्ट बार नजिकैबाट बाहिरिएको थियो । ४९ औं मिनेटमा मनाङका अन्जन बिष्टको कडा प्रहार सहारा क्लब पोखराका गोलकिपर बाबु मगरले पञ्च गरेर फर्काइदिएका थिए ।

खेलको ५६ औं मिनेटमा सहारा पोखराका डिफेन्डर बीट भइसकेको अवस्थामा मनाङका बिदेशी खेलाडी भिक्टोरले गरेको प्रहार पोष्टमाथीबाट बाहिरिएको थियो । ८५ औ मिनेटमा अञ्जन बिष्टको हेडर बाहिरिएपछि जितका लागि मनाङले टाइब्रेकरमा पर्खिनुपरेको थियो ।

त्यसैगरी सहारार पोखराका तर्फबाट खेलको ३६ औं मिनेटमा रिचार्ड पुनले गरेको प्रहार पोष्टमाथीबाट बाहिरिएको थियो । ६१ औ मिनेटमा फुर्वा लामाको प्रहार त्यसैगरी बाहिरिएको थियो । खेल अवधिभर सहाराका तीन र मनाङका १ जना खेलाडीलाई रेफ्री श्याम दनुवारले पहेलो कार्डको दर्शन गराएका थिए । खेलको म्यान अफ द म्याच मनाङका अन्जन बिष्ट घोषित भए । उनले ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको नगद २५ हजार रुपैंया पुरस्कार पाएका थिए । बुधबारको पहिलो क्वाटरफाइनल खेल आयोजक रमपम झापा ११ र सिक्किम युनाइटेड बीच हुने आयोजक समितिले जनाएको छ ।

खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै पराजित टीम सहाराका प्रशिक्षक किरण श्रेष्ठले मनाङलाई निर्धारित समयसम्म रोक्नु सफलता भएको भएपनि टाइब्रेकरमा गोल हुन नसक्नु अनलक्की भएको बताए । उनले आयोजकको ब्यवस्थापन र खेल मैदानको उच्च प्रशंसा समेत गरे ।

मनाङका प्रशिक्षक शैलेस कर्माचार्यले सहारा पनि राम्रो टीम भएकाले खेल अवधिभर धेरै मुभ बने पनि स्कोर हुन सकेन । हावाका कारण पनि बल कन्ट्रोल गर्न मुस्किल परेको उनको भनाइ थियो । उनले डोमालाल रंगशाला नेपालकै उत्कृष्ट रहेको भन्दै प्रसंसा गरे । आगामी खेलमा अझ सधारे प्रदर्शन गरिने रणनीति लिएको बताए । प्रतियोगिताको विजेताले नगद १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाउने छ ।

यसैबीच आयोजक रमपम झापा ११ ले प्रतियोगिताको समापनका अवसरमा ७ जना खेलाडी अनुबन्धन गर्ने भएको छ । बिर्तामोडको सहारा अटोमोवाइल्सले डिफेन्डर देवेन्द्र तामाङ र निगाले सिमेन्टले योगेश गुरुङलाई झापा ११ का लागि अनुबन्धन गरेको हो ।

बिर्तामोडको कनकाइ फाउण्डेसन, कनकाइ नगरपालिका, प्रदिप इँटा उद्योग, होटल हिकोला हेरिटेज र मनसा सिमेन्टले एक−एकजना खेलाडी अनुबन्धन गर्ने सहमति गरेको झापा गोल्डकप आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए । अनुबन्धनमा परेका खेलाडीलाई ति कर्पाेरेट हाउसले दुई बर्षसम्म मासिक २५ हजारका दरले पारिश्रमिक उपलब्ध गराउने शर्तमा सहमति गरेको उनले बताए ।

झापा ११ लाई ब्यवसायिक फुटबल क्लब बनाउन यस्तो शुरुवात गरिएको गिरीले बताए । उनले यो बर्षभित्र झापा ११ का सम्पुर्ण खेलाडीलाई अनुबन्धन गरेर टीममा स्थायित्व दिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: