मनु मञ्जिलको दुश्मन भन्छ–तेरो घरमा आँधी आएर बसोस्

  प्रकाशित मिति
२३ श्रावण २०७७, शुक्रबार ०८:५०


मनु मञ्जिल

एकदिन कवि मनु मञ्जिल आफ्नै घरमा बसिरहेका थिए । पाँचथरबाट एक शिक्षक आए ।

ती शिक्षक टुसुक्क बस्नेबित्तिकै आउनुको कारण खोेले ‘तपाईँको ल्याम्पपोस्ट कविता संग्रह मलाई पाँच वटा चाहिएको छ । पाइन्छ ?’

त्यसबेला कविले भनेका थिए, ‘पाइन्छ किन नपाइनु ? तर पसलमा पाइन्छ ।’

शिक्षकले अनेक प्रयास गरेर खोजे पनि पुस्तक नपाएपछि कविको घरमा पुगेका थिए । त्यसैले भने, ‘पसलमा त भेटिनँ । तपाईंसँग कति वटा छ ?’

कविले भने, ‘मसँग जम्मा पाँचवटा छ ।’

शिक्षकले भने, ‘दिन मिल्छ भने पाँचै वटा दिनुस् । मिल्दैन भने म फोटोकपी गरेर ल्याउँछु ।’

कविले एउटा किताब शिक्षकलाइ थमाइदिए । फोटोकपी गरेर शिक्षक एकैछिनमा फर्किए । त्यसपछि कविलाई उनको किताब फिर्ता दिए । कविलाई अचम्म लागिरहेको थियो किनभने कुनै पनि पाठकले अहिलेसम्म खुरन्धार गरेर उनको कविता खोजेको थिएन ।
कविले भने, ‘किन यति दुःख गर्नुभयो ?’

शिक्षकले भने, ‘मेरो गाउँमा मेरा पाँचजना दुश्मन छन् । ती प्रत्येकलाई यो कविता दिनु छ र पढाउनु छ ।’

माथिको जस्ता धेरै किस्साहरु कवि मनु मञ्जिलका बारेमा बनेका छन् ।

उनका कविताहरु पढ्न मात्र होइन, सुन्न लालायितहरु सार्वजनिक मञ्च र च्यानलहरुमा अनगिन्ती छन् ।

हामीले अनेकौँ मान्छे जीवनमा पाएका हुन्छौँ । ती मान्छे सबै हितैषी, मित्र बन्न सक्दैनन् । हृदयमा अलिकति म ठूलो वा म राम्रो भन्ने भाव त आउँछ नै । यही भावमा रुमलिएको व्यवहारलाई हामी दुश्मन भनेर हिँडिरहेका छौँ ।

कवि मनु मञ्जिलले दुश्मन कविता लेख्नु अगावै थुप्रै कविता लेखेका थिए । तर उनलाई ‘दुश्मन’ कविताले नै किन उचाइ दियो ? दुश्मन कवितापछि मात्र उनी नेपालीभाषी माझ किन कवि भनेर चिनिन थाले ? के थियो दुश्मनमा र लगभग तीन करोड जनसङ्ख्या भएको देशमा उनकै दुश्मन कविता एक करोडभन्दा बढी हेरियो ?

प्रस्तुत छ कवि मनु मञ्जिलको दुश्मन कविता–

दुश्मन

मेरो एउटा दुश्मन छ
जो मलाई फोहोर जत्तिकै घृणा गर्छ
तर म उसलाई
फूल जत्तिकै मन पराउँछु ।
ऊ मेरो अनुहारमा
घाम नउदाउनू भन्छ
मेरो बगैँचामा वसन्त नआउनू भन्छ
मेरो घरको झ्यालढोकाबाट
हावा नपस्नू भन्छ
मेरो आँगनमा फूलले नमग्मगाउनू भन्छ ।

मेरा बालबचेराले
उसले सुन्ने गरी नकराउनू भन्छ
उसलाई दुख्ने गरी नरमाउनू भन्छ
ऊ आफ्नो घरको बार्दलीमा बस्छ
र परबाट बाटो हिँड्ने जो कोहीलाई
मनमनै मेरो घर नपस्नू भन्छ
कोसेली वा उपहार बोकेका
कोही नपसून् भन्छ
मन्दिरबाट आशीर्वाद लिएर फर्केका बुढाबुढीलाई
मेरो घर अगाडिको
चौतारामा नबसून् भन्छ ।

उसलाई मेरो घरमाथि
चरा बसेको मन पर्दैन
जून मेरो छानामाथि बसेको
मेरो खेतबारीमा भाग्य लहलह झुलेको
आँपका रूखमा आशाका फूलहरु फुलेको
कुलाको पानी मेरो गैह्रीखेतमा डुलेको
उसलाई केही मन पर्दैन ।

यो बर्षात
किन मेरो घरको छानो भत्काउँदैन ?
पल्लो गाउँको खोलो
किन मेरो घरको बाटो आउँदैन ?
आगो किन यसरी
अँगेनामा चुपचाप छ ?
किन झिल्को जूनकीरी जस्तो
माथिमाथि उड्दैन ?
किन केही जलाउँदैन ?

ऊ मेरो सपनामा मरुभूमि पसोस् भन्छ
मेरो घरमा आँधी आएर बसोस् भन्छ
राति चोर आएर भकारीमा घुसोस्,
मेरो ओठबाट मुस्कान उडेर
बालुवामा गई खसोस् भन्छ
तर म उसलाई
फूल जत्तिकै मन पराउँछु ।

यत्रो दुनियाँमा ऊ बाहेक अरू
मेरो साथी सगोत्री, आफ्नो अर्को
ठूलो सानो, परिचित अपरिचित
एउटै कतै कोही छैन
जसले आफ्नै रहर र सपना भुलेर
फूल, जून र चराहरू भुलेर
घर, धरती र आकाश भुलेर
मबारे यति बिघ्न सोचोस्
मलाई यति बिघ्न सम्झोस्
दुश्मन नहुनु भनेको त
आफूतिर हरदम फर्किरहने
जीवनको एउटा रमाइलो
पाटै नहुनु रहेछ
म उसलाई फूल जत्तिकै मन पराउँछु ।

(स्रोत : साहित्यपोस्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: