ज्यामिगढी । ज्यामिरगढी–९ गोमनसरीका मिर्गाैला पीडित मनोज राउतको उपचारका लागि सीताराम पौडेलले दुबईबाट ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग पठाएका छन् ।
इटहरी–२४ प्रगतिटोल निवासी पौडेलले राउतको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले बुधवार रकम पठाएका हुन् । विगत १२ वर्षदेखि स्टक्सन कन्सट्रक्सनमा अफिस सहायकको रुपमा काम गर्दै आएका उनले साउदीमा रहेका सन्तोष बस्नेतको सहयोगबाट पत्रकार देबु बानियाँको नाममा रकम पठाएका हुन् ।
विगत ३ वर्षदेखि मिर्गौला रोगबाट प्रताडित बनेका राउतलाई उपचारका लागि यतिबेला काठमाडौँ लगिएको छ । उनलाई आफ्ना फूपाजु अनिल तिम्सिनाले मिर्गौला दिने भएपछि प्रत्यारोपणका लागि काठमाडौँ लगिएको हो । सामान्य आर्थिक अवस्था भएका राउतको डाइलोसिसमा मात्र १४ लाख भन्दा बढी खर्च भइसकेको छ भने अझै १२ लाख भन्दा बढी लाग्ने चिकित्सकहरूले जनाएका छन् ।
यसैगरी उनको उपचारका लागि ज्यामिगढी माइतघर भएकी हाल मेक्सिकोको रसियामा रहेकी रुपा अधिकारी तिवारीले पनि २७ हजार रकम सहयोग गरेकी छिन् । केही वर्षदेखि रसियामा काम गर्दै आएकी रुपाको स्थायी घर काठमाडौँ हो ।
राउतको उपचारका लागि यसभन्दा अघि ज्यामिरगढीका श्याम गुरुङले साउदीबाट ५० हजार, मेचीनगर–१२ इटाभट्टाकी रम्बा भट्टराईले डेनमार्कबाट २५ हजार, बाहुनडाँगीका खेमराज राई र काँकरभिट्टाका विष्णु अधिकारीले इजरायलबाट २० तथा बाहुनडाँगीकै सन्तोष भट्टराईले कतारबाट ५ हजार रकम सहयोग गरिसकेको मनोज बचाउ अभियानका संयोजक राजन भट्टराईले बताए ।
यसैगरी, नेपाली काङ्ग्रेस ज्यामिगढीको पहलमा उनको उपचारका लागि गाउँ तथा नगरमा समेत तीव्र रुपमा रकम सङ्कलन भइरहेको छ ।