मन्त्रिपरिषद् पुनर्गठन तिहारपछि, अर्थ मन्त्रीमा विष्णु पौडेलको नाम

  प्रकाशित मिति
२२ आश्विन २०७७, बिहीबार १५:४४


झापा, २२ असोज । मन्त्रिपरिषद् पुनर्गठन तत्काल हुने सम्भावना टरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मत नमिलेपछि मन्त्रिपरिषद् पुनर्गठन तत्कालै हुने सम्भावना टरेको हो ।

तर, प्रधानमन्त्री ओलीले तत्काल खाली रहेको मन्त्रालयमा मात्र मन्त्रीहरु भित्र्याउने गृहकार्य थालेका छन् ।

भदौ २६ गतेको स्थायी कमिटी बैठक र असोज ४ गतेको सचिवालय बैठकको म्याण्डेड अनुसार मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दा पनि मत नमिलेपछि तत्कालका लागि रिक्त मन्त्रालय भर्ने गरी दुई अध्यक्षले छलफल अगाडि बढाएका हुन् । पुनर्गठन गर्दा प्रचण्ड प्रायः मन्त्रीहरु हटाउनुपर्ने र ओली केही मन्त्रीमात्रै हटाउने पक्षमा छन् ।

प्रधानमन्त्री निकट एक नेताका अनुसार अहिले तीन मन्त्रालयलाई पूर्णता दिने र पुनर्गठन भने तिहारपछि मात्र गर्ने तयारी भएको छ ।

‘प्रधानमन्त्री ओली अर्थ मन्त्रालय आफूले लिने पक्षमा हुनुहुन्न । अहिले रिक्त रहेको मन्त्रालयमा जिम्मेवारी दिने र पुनर्गठन चाहिँ तिहारपछि मात्र गर्ने चर्चा छ,’ ती नेताले भने ।

गत असोज २० गते बसेको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकबारे दुई अध्यक्ष गृहकार्यमा नै रहेको बताएका थिए ।

अहिले अर्थ, सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय रिक्त छ । अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्री ओलीले आफ्नो मातहतमा राखेका छन् ।

शहरी विकास मन्त्रालय भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङले सम्हाल्दै आएका छन् । ती मन्त्रालयमा तत्काल नयाँ नेतृत्वको सम्भावना बढेको छ ।

प्रचण्डले सञ्चार मन्त्रालय पूर्व माओवादीलाई दिनुपर्ने अडान राख्दै आएका छन् । तर, पूर्व एमाले पूर्व माओवादीलाई सञ्चार मन्त्रालय दिन तयार छैन ।

‘पूर्व पार्टीकै कुरा गर्ने हो भने, अर्थ र सञ्चार मन्त्रालय पूर्व एमालेको भागमा परेको थियो । शहरी विकास मन्त्रालय समाजावादी पार्टीलाई दिइएको थियो । अहिले अर्थ र सञ्चार मन्त्रालय पूर्व एमाले र शहरी विकास मन्त्रालय पूर्व माओवादीलाई भन्ने चर्चा छ,’ ती नेताले भने ।

अर्थ मन्त्रालयमा विष्णु पौडेलको नाम

डा युवराज खतिवडा बाहिरिएपछि रिक्त अर्थमन्त्रालयको जिम्मेवारी कसले पाउला भन्ने चासोको विषय बनेको छ । डा.खतिवडालाई ओलीले विशेष आर्थिक सल्लाहकारका रुपमा सचिवालयमा भित्र्याएपछि उनलाई छायाँ अर्थमन्त्रीको रुपमा समेत हेरिएको थियो ।

अर्थमन्त्री प्रधानमन्त्रीले नै आफ्नो मातहतमा राख्ने आशंका पनि थियो, खतिवडा सल्लाहकार बनाइएपछि । उक्त निर्णयको १५ दिनमा नै ओलीले खतिवडालाई अमेरिकाको राजदूत बनाउने निर्णय गरे ।

त्यसपछि भावी अर्थ मन्त्रीको चर्चा चुलिएको छ । पूर्व एमाले कोटामा परेको अर्थ मन्त्रालयमा मन्त्री बन्ने आकांक्षीहरुको लर्को छ ।

नेताहरु वामदेव गौतम, सुरेन्द्र पाण्डे र विष्णु पौडेलले अर्थ मन्त्रालय रोजेका छन् । तीमध्ये आफ्ना विश्वासपात्र विष्णु पौडेललाई अर्थमन्त्री बनाउने निश्चित भएको बालुवाटार स्रोत बताउँछ । अरु नेताहरुको चर्चा चले पनि अर्थमन्त्रीमा विष्णु पौडेललाई, ती नेता ठोकुवा गर्छन् ।

उता, उपाध्यक्ष गौतमविरुद्ध सर्वोच्चमा परेको मुद्दाको फैसला आइसकेको छैन ।

त्यस्तै, स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री पाण्डेले आफू अर्थ बाहेक अरु मन्त्रालयमा नजाने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । त्यसैले अर्थमन्त्रालयमा मन्त्री छान्नका लागि ओलीलाई सहज भने छैन ।

आज पनि छलफलमा

दुई अध्यक्षबीच अहिले पनि बालुवाटारमा छलफल भइरहेको छ । मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताका बाँकी काम लगायतका विषयमा दुई अध्यक्ष छलफलमा जुटेका हुन् । रिक्त मन्त्रालयमा मन्त्रीहरुका बारेमा छलफल हुन सक्ने बताइएको छ ।

(पहिलो पोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: