।। अर्जुन कार्की ।।
मेचीनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्दयेश त्रिपाठीसँग मेचीनगरका मेयर विमल आचार्यको बुधबार भिडियो कन्फ्रेन्समा छलफल भएको छ ।
सरकारले लकडाउन गरेको २३ दिन पछि मन्त्री त्रिपाठीले मेचीनगरको विषयमा मेयर आचार्यसँग भिडियो कन्फ्रेन्समा छलफल गरेका हुन् ।
मन्त्री त्रिपाठीले बुधबार देशैभरिका पालिकाका प्रमुखसँग एकैसाथ भिडियो कन्फ्रेन्समा छलफल गरेका छन् ।
५ मिनेटमा सकिएको भिडियो कन्फ्रेन्सको छलफलमा चार वटा विषयमा कुराकानी भएको मेयर आचार्यले जानकारी दिए ।
पहिलो मेचीनगरको क्वारेन्टाइन, आइसोलेशन र स्वास्थ्य, दोस्रो कृषि र उद्योग खोल्न र तेस्रो स्वास्थ्य सम्बन्धी समस्याको पहिचान गरी प्रस्ताव पेश गर्न र सीमा नाकाको सुरक्षाका विषयमा मन्त्री त्रिपाठीले भिडियो कन्फ्रेन्समार्फत कुराकानी गरेको मेयर आचार्यले बताए ।
उनले किसानहरुलाई सामाजिक दुरी कायम गरेर कृषि तथा उद्योगमा काम गर्न आग्रह गरेको बताए ।
भिडियो कन्फ्रेन्सको छलफलमा मेयर आचार्य, उपमेयर मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ लगायतका जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति थियो ।
उपमेयर उप्रेतीले नगरको स्वास्थ्य, कृषि, सुरक्षा र वजेटका विषयमा छलफल भएको बताइन् ।
मन्त्री त्रिपाठीले लकडाउनको पालना गर्दै डिस्टेन्स मेन्टेन गरेर कृषि र उद्योग सञ्चालन गर्न अनुरोध गरेको उनले बताइन् ।
स्वास्थ्यका लागि वजेट र बोर्डरको सुरक्षाका विषयमा ५ मिनेट कुराकानी भएको उपमेयर उप्रेतीले जानकारी दिइन् ।
झापाका १५ वटै स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरुसँग भिडियो कन्फ्रेन्समा कोरोना भाइरस (कोभिड–१९) का विषयमा बढी छलफल केन्द्रीत भएको नगरपालिकाहरुले जनाए ।