मन्त्री श्रेष्ठद्वारा सुखानी प्रतिष्ठान र सहादतस्थलको निरीक्षण

  प्रकाशित मिति
९ मंसिर २०७७, मंगलवार १३:०३


अर्जुनधारा, ९ मङ्सिर । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज विहान झापाको अर्जुनधारास्थित सुखानी सहिद स्मृति प्रतिष्ठान र सुखानी सहादतस्थलको निरीक्षण गर्दै त्यहाँको विकासमा सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् ।

निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमनका लागि झापा आएका मन्त्री श्रेष्ठले प्रतिष्ठानको हाता र इलामको सीमामा रहेको सुखानी सहादतस्थलमा रहेको पाँच सहिदको शालिकमा श्रद्धाञ्जलि अर्पण गरे ।

उनले प्रतिष्ठानभित्र रहेको पर्यटकीय स्थलहरु र कछुवा संरक्षण केन्द्रको बारेमा जानकारी लिएका थिए ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि झापा विद्रोह र सुखानीका सहिदको बलिदानी सदैव स्मरणीय भएको बताउँदै मन्त्री श्रेष्ठले सुखानी सहिद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पुर्याउने आश्वासन दिए ।

सो अवसरमा प्रतिष्ठानमा अध्यक्ष देवराज घिमिरेले सुखानी सहिद स्मृति उद्यानको गुरुयोजना मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
वि.सं. २०२९ सालमा झापामा भएको कम्युनिस्ट आन्दोलनलाई झापा विद्रोहका रुपमा चिनिन्छ ।

सोही आन्दोलनमा पक्राउ परेका रामनाथ दाहाल, वीरेन राजबंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायती सरकारले झापाको चन्द्रगढी कारागारबाट जेल सार्ने निहुँमा इलाम र झापाको सीमानास्थित सुखानी जङ्गलमा लगी गोली हानेर हत्या गरेको थियो ।

सुखानीमा बलिदान गरेका सहिदहरुको स्मृतिमा झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ सालबारीमा विशाल उद्यान, कछुवा संरक्षण केन्द्र र पाँच सहिदको पूर्ण कदको शालिकसहितको सुखानी सहिद स्मृति प्रतिष्ठान स्थापना गरिएको छ ।

यसैगरी, इलाम र झापाको सीमास्थित सुखानी सहादतस्थलमा पाँच सहिदको शालिक र विशाल स्मारक निर्माण गरिएको छ ।

राष्ट्रिय गौरवको विषय भएको सुखानी सहिद स्मृति प्रतिष्ठानको निरीक्षणपश्चात मन्त्री श्रेष्ठले सरकारका तर्फबाट थप सहयोग जुट्ने आशा पलाएको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरि रानाले बताए ।

दुबै स्थानमा मन्त्री श्रेष्ठले निरीक्षण गरेका थिए । त्यहाँ निर्माण भएका संरचना र विकासका योजनाका बारेमा प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरे, संविधानसभा सदस्य प्रेम गिरी, अजुृनधारा नगरपालिकाका मेयर हरि रानालगायतले मन्त्रीलाई जानकारी गराएका थिए ।

सो अवसरमा संघीय सांसद्त्रय पवित्रा निरौला खरेल, एलपी साँवा र विमला विक, प्रदेश सांसद्त्रय बसन्त बानियाँ, एकराज कार्की र वृख प्रधान, जिसस झापाका प्रमुख सोम पोर्तेल, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव इन्द्र भण्डारी, सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलगायतको उपस्थिति रहेको थियो ।

फोटो सौजन्य ः सुशिल अधिकारी, सहरी विकास मन्त्रालय सचिवालय

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: