झापा । पूर्वको पशुपतिनाथ भनेर कहलिएको झापाको अर्जुनधारा जलेश्वर धाममा तामाको छानो लगाउन दाताबाट तामाको भाडाकुडा सङ्कलन अभियान सुरु गरिएको छ ।
शनिअर्जुन–१ मा अवस्थित धामको मूल मन्दिर पशुपतिनाथको प्रतिरुप जस्तै भएकाले यसलाई पूर्वको पशुपतिनाथको विशेषणले पुकारिएको हो ।
धामले मूल मन्दिरमा छानो लगाउन सर्वसाधारण धर्मप्रेमीलाई घरमा प्रयोजनविहीन अवस्थामा रहेका तामाका गाग्री, खड्कुला, लोटा, थाल, बटुका लगायतका सामान दान गर्न सार्वजनिक अपिल गरेको ताम्रपत्र निर्माण उपसमितिका सहसंयोजक दिपक तामाङले बताए ।
विगत ३ दिनमा २ सय केजी तामाका भाडाकुडा दानबाटै सङ्कलन भइसकेको जानकारी दिदै उपाध्यक्ष तामाङ यसै बर्ष सम्पन्न गरिने छानो निर्माणमा ३ हजार केजी तामाको धातु आवश्यक पर्ने बताए ।
धाममा बाला चतुर्दशीका अवसरमा विशेष मेला लाग्ने गरेको छ । मेलामा सद्वीज छर्न आउने भक्तजनले समेत तामाका भाडाकुडा दान गर्न ल्याउने अपेक्षा गरिएको निर्माण उपसमितिका सदस्य मनोज जोशी बताउँछन् ।