मन जितेकाले मत पनि लिन्छौँ

  प्रकाशित मिति
१८ मंसिर २०७४, सोमबार १४:५०


नेपाली काङ्ग्रेसभित्र अध्ययनशील र विचारवान नेताको रुपमा चिनिनु भएका विश्वप्रकाश शर्मा झापा १ मा दोस्रोपटक प्रतिनिधिसभा सदस्यको उम्मेद्वार हुनुहुन्छ । उहाँको उम्मेद्वारी, योजना र चुनावी अवस्थाबारे लोकतन्त्र पोस्ट र जनसंसद् दैनिकले गरेको कुराकानी प्रस्तुत छ –

झापा–१ का मतदाताले काङ्ग्रेसलाई किन मतदान गर्ने ?
निश्चय नै मतदाताले यही कारणले दलहरुलाई मत दिने भन्ने कुरा त हुन्छ नै । मतदाताले भोट दिने वा नदिने भन्ने कुरा पनि मतदाताकै हुन्छ । अघिल्लो पटकको चुनावमा उपविजेता हुँदा पनि विश्वप्रकाश नहराइकन निरन्तर जनताकै बीचमा छ, त्यही कारणले मलाई मतदाताले छनोट गर्न सक्छन् । राष्ट्रिय राजनीतिमा काँग्रेसका बारेमा कति गुनासा छन, कमिकमजोरीहरु भए भनेर । र, तिनलाई चिर्नका लागि विश्वप्रकाशहरुले निरन्तर बोलेका छन् । राजनीतिक सुधारका लागि बोलेका छन् भनेर पनि मतदाताको छनौट हुन सक्छ । प्रचण्डसँगसँगै गिरिजाबाबुले नेतृत्व गरिरहँदा देशमा शान्ति स्थापना भएको थियो भनेर मतदाताको रोजाइ हुनसक्छ । देशमा संविधान अरुले नेतृत्व गरिरहँदा बनेन, काँग्रेसले नेतृत्व गर्दा संविधान बन्यो त्यसकारण काँग्रेसको उम्मेद्वारलाई दिऊँ भन्ने हुनसक्छ । हिंसा र अस्थिरताका बीचमा पनि कति कामहरु भएका छन् बाटोघाटो, पुलपुलेसा, बिजुली इत्यादि । त्यो कुरालाई हेरेर मतदाताले छनोट गर्न सक्नेछन् । त्यसले गर्दा मलाई लाग्छ झापा क्षेत्र नम्बर १ मा मतदाताको छनोटमा हामी पर्नेछौंँ ।

चुनावी घरदैलो अभियानको अन्त्यमा हुनुहुन्छ, कस्तो पाउनुभयो अवस्था ?
चुनाव प्रचारको अभियान उत्साहवर्धक रह्यो । मतदातामा जागरण देखिएको छ । लोकतान्त्रिक प्रक्रियाबाट आफ्नो नेतृत्व चयन गर्ने मतदाताका लागि चुनाव लोकतन्त्रको एउटा सबैभन्दा बढी महत्वपूर्ण अभ्यास हो । हामी राजनीतिक व्यक्तिलाई पनि उम्मेद्वार बन्दै गर्दा आफूले गरेका कामहरु बताउने, अधुरो रहेका कामहरुका लागि अनुमोदित हुने अवसर हो । आफूलाई परिमार्जित गर्ने र मतदाताको म्यान्डेट लिएर काम गर्ने अवसर पनि हो । त्यसैले मतदातामा जागरुकता छ, हामीमा उत्साह छ ।

मतदाताले के भनेका छन् तपाईँ घरदैलोमा गएर भोट माग्दै गर्दा ?
मतदाताहरुले सामान्यतया देशले गति लिनु पर्यो । देश सम्वृद्धिको बाटोतर्फ लैजानु पर्यो भनेका छन् । स्थानीय स्तरका सन्दर्भमा विकास निर्माणले गति लिनु प¥यो । स्वास्थ्य, शिक्षा र विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्यो भनेका छन् ।

वाम गठबन्धनले माओवादी केन्द्रका नेता सुरेन्द्र कार्कीलाई उम्मेद्वार बनाएको छ । गाह्रो, सजिलो कस्तो देख्नुहुन्छ अवस्था ?
चुनावी मैदानमा जाँदै गर्दा यो गाह्रो या सजिलो भन्ने भन्दा पनि यो स्वाभाविक एउटा महत्वपूर्ण अभ्यास हो । यसलाई मैले अघिल्लो पटक पनि बडा सौहार्द ढङ्गले लिएको थिएँ । कसैलाई आलोचना नगरिकन चुनावमा लडेको थिएँ । परिणाममा उपविजेता हुँदै गर्दा पनि चुनाव जितेका एमालेका साथीलाई फोन गरेर बोलाएर अँगालो मारेर बधाइ दिएको थिएँ । यो स्वाभाविक प्रक्रिया मानेको हुँदा गाह्रो या अप्ठ्यारो वा सजिलो भन्ने मलाई लागेको छैन । बडो उत्साहवर्धक तरिकाले उम्मेद्वारी दर्ता अगाडि जसरी हिँड्दै थिएँ, त्यही रुपमा हिँडिरहेको छु । सामान्य ढङ्गले यसलाई मैले लिएको छु ।
तर, यहाँका मतदाताले अमुक कसैलाई उम्मेद्वार बनाएको छ । त्यसकारण गाह्रो होला भन्ने हुँदै गर्दा मतदाताको मनमा के छ भन्ने कुरा बुझ्न अहिले सकिँदैन । एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदै गर्दा अङ्कगणितका हिसावले उहाँहरु बढी देखिनु हुन्छ । तर, दुईवटा पार्टीको मत जोड्दै गर्दा यति छ, त्यसकारण उहाँहरुले जिति हाल्नुहुन्छ भन्ने हो भने त काठमाडौँ बसेरै नेताहरुले कुन क्षेत्रमा कुन गठबन्धनको बढी छ त्यसैलाई घोषणा गरे सकिहाल्थ्यो । त्यसैले राजनीतिमा के हुन्छ भने दुई र दुई जोड्दा कहिले चार हुन्छ । तर, कहिलेकाहीँ दुई र दुई जोड्दा पाँच हुन्छ । कोहीबेला तीन मात्रै पनि हुनसक्छ । त्यसकारण उहाँहरुको दुईमा दुई जोडेर ठ्याक्कै चार हुन्छ भन्ने मलाई लाग्दैन । धेरै मतदाताले को काङ्ग्रेस, को एमाले, को माओवादी भन्दैनन् । धेरै मतदाताले चाहिँ अघिल्लो पटकको उपविजेता जो निरन्तर मतदाताको बीचमा छ, त्यसकारण उसलाई आशिर्वाद दिऊँ, उसलाई साथ दिऊँ भन्ने खालको भावना पनि मैले पाएको छु । मैले उहाँहरु सबैको माया पाएर, काङ्ग्रेसकोे उम्मेद्वार तर, काँग्रेसको मात्रै होइन, यो हुँदै गरेको सिङ्गो क्षेत्रको विजयीका रुपमा लिने गरी हामी लागिराखेका छौँ ।

भनेपछि तपाईँ आफूले चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ?
म चुनाव जित्ने कुरामा आशावादी मात्रै होइन जित्ने कुरामा सम्पूर्ण रुपले विश्वस्त छु ।

उसो भए चुनावी अङ्कगणितबारे पनि बताइदिनु न !
मत यति भनेर भन्न सक्ने अवस्था छैन । दुई वटा दलको मत जोड्यौँ भने त हामी जितिहाल्छौँ भन्ने उहाँहरुलाई होला । मतदताको कुरा हो । त्यो, एक मतले पनि हुन सक्छ, एक हजार मतले पनि हुनसक्छ, पाँच हजार मतले पनि हुनसक्छ । तर, मतदाताको मन हामीले तुलनात्मक रुपले अलि बढी जितेका छौँ भन्ने लाग्छ । त्यसैले मैले अघिल्लो पटक भनेको थिएँ–मन जित्न सकिनँ, त्यसैले मत जित्न सकिनँ भनेर । यो पटक मलाई लाग्छ हामीले मन जितेका छौँ, हामी मत पनि लिन्छौँ ।

आफ्नो क्षेत्रको विकासका लागि के योजना अघि सार्नु भएको छ ?
अब क्षेत्रको समग्र सम्वृद्धिको लागि स्थानीय तह जो बनेको छ, त्यो तहको नेतृत्व काङ्ग्रेसकै छ । स्थानीय नेतृत्वसँग समन्वय गरेर, प्रदेश र केन्द्रसँग समन्वय गरेर आफ्नो क्षेत्रको सन्दर्भमा हामीले सुरु गरेको चक्रपथको परियोजना पूरा गर्नतर्फ हामी लाग्ने छौँ । बाहुनडाँगीमा झण्डै ४८ करोडको लगानीमा सिद्धी सिञ्चार्इँं आएको छ । माटो छँदै थियो, सिचाईं आयोजना आइपुग्यो । अब इजरायलमा कृषि पढेर आएका युवाहरु छन् । हामी त्यो ठाउँमा अब कृषिको आधुनिकिकरणका विषयहरु शुरु गर्नेछौँ । बाहुनडाँगी र शान्तिनगरमा कृषिको आधुनिकीकरण र पर्यटन क्षेत्र, त्यस्तैगरी दुवागढी, चन्द्रगढीमा केही उद्योग व्यवसायका लागि औद्योगिक क्षेत्र, स्वास्थ्य हब, काँकरभिट्टा, धुलाबारीलगायतका ठाउँहरुलाई व्यवसायिक क्षेत्रको रुपमा विकास गर्ने भन्ने हाम्रो घोषणा पत्रमा छ । यिनै योजनालाई पूरा गर्ने क्रममा स्थानीय तहसँगसँगै प्रदेशसँग समन्वय गरेर केन्द्रबाट काम गर्नेछु ।
यसबाहेक मुलुकलाई अबको १० वर्षपछि कहाँ पुर्याउने ? १५, २० वर्षपछिको नेपाल कस्तो हुने ? म निर्वाचित भएपछिको पाँच वर्षभित्र नेपालको समृद्धिको साझा दस्तावेज तयार पार्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यो साझा दस्तावेज निर्माणमा म आफै पनि लाग्नेछु । मुलुकको आर्थिक विकास र समृद्धिका लागि साझा बाटो निर्माणमा मेरो चासो र योगदान रहनेछ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: