मरिच विक्री नहुँदा किसान मारमा

  प्रकाशित मिति
९ श्रावण २०७५, बुधबार २१:५३


भद्रपुर । तेस्रो मुलुकबाट आयातीत मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच विक्री हुन छाडेको छ ।

झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेको छ । आफुले उत्पादन गरेको मरिच बिक्री नहुँदा सयौँ किसान मारमा परेका छन् ।

अर्जुनधारा नगरपालिकाका कृषि शाखाका अधिकृत शालिकराम भट्टराईका अनुसार झापामा आर्थिक वर्ष २०७४÷०७५ मा १७ मेट्रिक टन मरिच उत्पादन भएको छ ।

सुपारीको बोटमा लहराएर फल्ने भएकाले मरिचको खेतीलाई ‘परजीवी खेती’ भनिने गरिएको छ । गतबर्ष प्रति केजी रु. एक हजार ६ सयमा घरबाटै विक्री भएको मरिच यस वर्ष रु. चार सय प्रतिकेजीमा पनि व्यापारीले नलगेको अर्जुनधारा–१० का मरिच किसान दिनबन्धु पोखरेलले दुःखेसो व्यक्त गरे ।

‘छ सय केजीभन्दा बढी मरिच मैले यसपाली उत्पादन गरेको छु’, पोखरेलले भने–‘तस्करी गर्नका लागि तेस्रो मुलुकबाट भित्र्याएको मरिचले गर्दा हाम्रो उत्पादन बिकेन ।’

बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ का किसान योगेश निरौलाको पीडा पनि उस्तै छ । उहाँ तेस्रो मुलुकबाट मरिचको आयातमा प्रतिबन्ध लगाए मात्रै स्थानीय किसानको मरिचले उचित बजार भाउ पाउने बताउँछन् ।

मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक बर्ष २०७४÷२०७५ मा पूर्वी नाकाबाट ९६ हजार ८०० किलोग्राम मरिच आयात भएको जनाएको छ ।भन्सार प्रमुख टेकबहादुर अर्यालले नेपालमा इन्डोनेसिया, श्रीलंकालगायतका तेस्रो मुलुकबाट मरिच आयात हुने गरेको बताए ।

तेस्रो मुलुकबाट आयातित मरिच भारतीय भूमि हुँदै भित्रिने र तस्करी भएर भारततिरै जाने गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले एक हप्ता अघि मेचीनगर—६ स्थित भान्साखोलाबाट अवैधरुपमा भारततर्फ लैजादै गरेको अवस्थामा ५०० केजीभन्दा बढी मरिच बरामद गरेको थियो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले तस्करी हुन लाग्दा उक्त मरिच बरामद गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: