मरेपछि पनि हेरिरहन पाउने भए रुद्रप्रसादले

  प्रकाशित मिति
२४ चैत्र २०७४, शनिबार १०:१२


मेचीनगर । मेचीनगर–६ का ८६ वर्षीय रुद्रप्रसाद पौडेलको कालगतिले शुक्रवार निधन भयो । तर उनको आँखाले भने अरु कैयन वर्षसम्म यो सुन्दर धरती हेरिरहन पाउने भएको छ ।

अज्ञात दृष्टिविहीनलाई नयाँ दृष्टि दिने उद्देश्यले झापामा पहिलोपटक मृतक रुद्रप्रसादको आँखाको कर्निया (नानी) सङ्कलन गरिएको हुँदा उनको आँखाले मरणोप्रान्त समेत संसार हेरिरहन पाउने भएको हो ।

आँखा दान गरेका व्यक्तिको मरणोप्रान्त आँखाको नानी सङ्कलन गरेर आई बैङ्कमा राखिन्छ र दृष्टि गुमाएका कुनै व्यक्तिमा त्यसलाई प्रत्यारोपण गरेर नयाँ दृष्टि प्रदान गरिन्छ ।

झापामै यो नयाँ कार्यमा सहभागी बन्ने पहिलो सौभाग्य पाए रुद्रप्रसाद पौडेलले । र, दान गरिएको आँखाको नानी सङ्कलनको पहिलो श्रेय पाएको छ–काँकरभिट्टाको मेची नेत्रालयले ।

पौडेलको शुक्रवार विहान मृत्यु भए पश्चात उनका परिवारले काँकरभिट्टास्थित दुर्गा चन्द्र मेमोरियल ट्रस्टमा आँखाको नानी दान गर्न इच्छुक रहेको खबर पठाएका थिए ।

ट्रस्टले मेची नेत्रालयको प्राविधिक सहयोगमा दिवङ्गत पौडेलको आँखाको नानी सफलतापूर्वक सङ्कलन गरेको ट्रस्टका अध्यक्ष तथा मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा. शरदचन्द्र प्रकाश राईले जानकारी दिए ।

मृत्यु भइसकेका आफ्ना बुवाको आँखाले अरु दृष्टिविहिनले संसार देख्न सक्ने कुरा बुझेर पौडेलका छोराछोरीहरुले आँखाको नानी निकाल्न सहमति जनाएको मेची नेत्रालयका कर्मचारी तथा दुर्गा चन्द्र मेमोरियल ट्रस्टका सहसचिव जयप्रसाद पोख्रेलले बताए ।

परिवारका सदस्यहरुको इच्छा अनुसार नै दाह संस्कार स्थल मेची खोलामा नै मृतक पौडेलको दुवै आँखाको बाहिरी भागको पातलो झिल्ली अर्थात नानी निकालिएको थियो ।

मेची नेत्रालयका आँखा बैङ्क प्राविधिक योगराज खत्री र मिलन खत्री सहितको प्राविधिक टोलीले पौडेलको आँखाको नानी निकालेको थियो ।

मृतकको आँखाको नानीलाई विशेष प्रकारको रसायनमा राखेर महिनौं दिनसम्म सुरक्षित गर्न सकिन्छ । तर शनिबार पौडेलको आँखाको नानीलाई काठमाडौको तीलगङ्गा आँखा अस्पतालस्थित नेपाल आँखा बैङ्कमा पठाइने मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा. राईले जानकारी दिए ।

डा. राईका अनुसार आँखासँगै मृतकको शरीरबाट दुई मिलिलिटर रगत समेत निकालिएको र उक्त रगत र नानीको चेकजाँच गरे पछि मात्र उक्त नानी अर्को व्यक्तिमा प्रत्यारोपण गरिने बताइएको छ ।

डा. राईका अनुसार विशेष रुपमा चोट पटकका कारण आँखाको नानीमा समस्या आएर दृष्टि गुमाएकाहरुका लागि आँखाको नानी प्रत्यारोपण गरिने छ ।

दृष्टि गुमाउने बढी हुने र त्यसको तुलनामा आँखा दान गर्ने ब्यक्ति कम हुने भएकाले कर्नियाँको अत्याधिक माग छ । मृतकको आँखाबाट निकालिएको नानी खेर नजाने समेत डा. राईले बताए ।

दुर्गा चन्द्र मेमोरियल ट्रस्ट मार्फत मेची नेत्रालयको प्राविधिक सहयोगमा आँखा दानको प्रक्रिया सञ्चालन भइरहेको र मृत्यु भएकाहरुको कर्निया निकाल्ने काम समेत हुने भएकाले यस कार्यमा ईच्छुकहरुले कुनै पनि बेला काँकरभिट्टा स्थित मेची नेत्रालयमा सम्पर्क गर्न सकिने मेची नेत्रालयका मेनेजर नवराज प्रधानले बताउँछन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: