मलाई लाग्यो–‘आज सिदध्याउने भए’

  प्रकाशित मिति
२३ माघ २०७२, शनिबार ११:१९


sanjiv 22
२०२८ तिर झापा निकै हल्लियो हिंसा र आतङ्कले । अचानक हत्याका हल्ला आउन थाले । एक दिन बिहानै खबर आयो बुटन चौधरीको हत्या भएछ ।

थारु समाजका बुटन चौधरीको अलिकति जमिन र सानो घर थियो । जेनतेन वर्षभरि खान पुर्याउँथे । उनी पुराना काङ्ग्रेसी कार्यकर्ता । दलकृष्ण श्रेष्ठ र म साइकलमा बुटन चौधरीको घर पुग्यौँ । काठको सानो दुइतले घर । माथि दुइटा ससाना कोठा । कोठामा बुटनको लास, छेउमा श्रीमती बसिरहेकी लास रुँगेर । तिनी भनिरहेकी थिइन् ‘राति थियो, स्पष्ट केही देखिएन । ५÷७ जना जस्तो आँगनमा बसे । एकजना टर्च बालेर माथि आयो । केही नबोलिकन खुकुरीले काटेर गयो । त्यसकै टर्चको उज्यालोमा काट्ने मान्छे देख्ता गोरो, होचो, क्षेत्रीबाहुन जस्तो लाग्यो ।’ बुटन मारिए, सरकारले औपचारिकता मात्र पुरा गर्यो । कसले, किन मार्यो, खासै खोजी भएन ।

बुटन चौधरीको हत्याको केही दिनपछि विष्णुप्रसाद विमली र ईश्वरी चुँडालको हत्या गरेको सुनियो गरामनी गाउँको पाटाबारीमा । त्यो हत्याको सरजमिनमा धेरै मान्छे भेला भएका थिए । त्यहाँको अवस्था देख्ता सबैले आफ्नो कुरा भन्न सक्ने सम्भावना देखिनँ । त्यसैले मैले नरेन्द्रनाथ बाँस्तोलालाई भने–‘दाई हामी सबैले आफ्नो कुरा भन्ने अवस्था छैन । एउटा सामूहिक बयान लेखेर सही गरेर दिँदा हँुदैन ?

नरेन्द्रजीले ‘हुन्छ’ भन्नुभयो । केही साथीहरूलाई जम्मा गरेर सामूहिक बयान लेखौँ भने तर कोही तयार भएनन् । कसैले लेख्न नमानेपछि मँैले आफैँ लेखँे र नरेन्द्रनाथलाई देखाए । नरेन्द्रनाथले अलि कडा भएन र भने । मैँले भने–‘यति पनि नलेख्ने हो भने त केही थाहा छैन’ भनेर हिँडे भैगो नि ।

नरेन्द्रजीले सही गर्नुभयो, मँैले सही गरे । त्यसपछि काङ्ग्रेसका धेरै जनाले सही गरे । केही वामपन्थीहरू भने सामूहिक बयानमा सही गर्नुपर्ला भनेर हिँडे ।

जिल्लामा आतङ्क फैलिदै गयो । गाउँघरमा हुनेहरू बजारमा आएर बस्न थाले । म बिहान बेलुका घुमिरहने मान्छे, मेरो क्लिनिकमा रातबिरात बिमारी पनि आइरहने । केही शुभचिन्तकहरूले भन्नुभयो–‘तपाई होसियार रहनुहोस् ।’ मँैले उहाँहरूलाई भने–‘मेरो चिन्ता नगर्नुहोला, मलाई कसैको डर छैन ।’

विष्णुप्रसाद विमलीको हत्या भएको केही दिनपछि एक राति ९ बजेतिर एउटा गाडी मेरो घरमा आयो । एक जनाले ढोका खोल्नुहोस्, गरामनी जानुपर्छ भन्यो । मलाई डर लाग्यो अस्ति विमलीको सर्जमिनमा मेरो गतिविधि सबैले देखेका थिए । आज मलाई सिद्ध्याउने भएछन् ।

मैले झ्याल अलिकति खोलेर भने–‘म रातिहुँदो ढोका खोल्दिनँ, घर बाहिर जान्नँ ।’गाडीबाट विर्ता बजारका नापीलाल राजवंशी निक्ले । म नापीलालको पारिवारिक डाक्टर थिएँ । उनले भने–‘मेरी छोरी उद्रकान्तकी बुहारी हो । सुत्केरी भई, साल निक्लिएनछ, तपार्य गएर निकालिदिनु पर्यो । सुरक्षाका लागि मेरा केटाहरू छन् ।’

मैले नापीलाललाई जान्न भन्न सकिनँ । गएर साल निकालिदिएँ । त्यसको भोलिपल्ट राति उद्रकान्तको हत्या गरे भन्ने सुने । सिधासादा बुढा मान्छे उग्रकान्त राजवंशी । कुनै पार्टीमा आबद्ध नभएका, किन मारे होला जस्तो लाग्यो ।

उद्रकान्तलाई मारेको दुई चार दिनपछि झापाका एसपी शनिश्चरे आएका बेला दाँतको समस्या लिएर मेरो क्लिनिकमा आइपुगे । मैँले उनको दाँत जाँचिसकेपछि सोधे –‘दैनिक मान्छे मारिरहेछन्, तपाईहरू के गर्दै हुनुहुन्छ ?’

एसपीले भने–‘यी हत्याकाण्डमा एक दुई जनाको मात्र हात छैन, हत्याकाण्ड मच्चाउनेको सङ्ख्या निकै ठूलो छ, हामीलाई केही मान्छेको पत्तो लागिसकेको छ, एउटालाई समात्यो भने अरु भागिहाल्छन् । त्यसैले अरुको पनि पहिचानमा लागिरहेछाँै । केही दिनमा सबैलाई समातेर कारवाही गर्छौँ ।’

एक बिहान खबर आयो धर्मप्रसाद ढकाल र उहाँका माहिला छोराको आज बिहान हत्या गरेछन् । शनिश्चरेमै भएकाले बिहानै पुगँे । मान्छे भेला हुँदै थिए । पुलिस आए, आफ्नो सामान्य प्रव्रिmया पूरा गरे । लास पोस्टमार्टमका लागि लगे । घर फर्कँदा बाटोमा सोच्तै आएँ( अस्तिसम्म काङ्ग्रेसमा आस्था राख्नेहरूको मात्र हत्या भइरहेकाले मलाई लागेको थियो कि कहीँ पञ्च सरकारले नै काङ्ग्रेसीहरूको हत्या गर्न लागेको त छैन ? तर, धर्मप्रसाद ढकाल काङ्ग्रेस थिएनन्, उनी कुनै बेला राष्ट्रिय पञ्चायतका सदस्य भइसकेका मान्छे । फेरि किन यिनको हत्या गरे ।

मेचीपारि पश्चिम बङ्गालको नक्सलवाडी क्षेत्रमा चारु मजुमदारको नेतृत्वमा उग्रवामपन्थीहरूले केही हत्या र हिंसा गरिरहेका थिए । जसलाई पछि नक्सलवादी भनियो । तिनै चारु मजुमदारको विचारद्वारा प्रभावित भएका केही नेपाली वामपन्थीहरूले भविष्यको परिणामको विचारै नगरी हिंसाको बाटो अपनाएर झापामा ताण्डव मच्चाए जस्तो लाग्यो ।

धर्मप्रसाद ढकालको हत्या भएपछि बल्ल पञ्चायती सरकारको निद्रा खुल्यो । झापामा प्रहरी अधिकृतहरू कुकुर लिएर हत्यारा पत्ता लगाउन घुम्न थाले । कुकुर जति घुमाउँदा पनि कोही समातिएन । हत्या हुनु पहिले साँझतिर नारायण चोकमा केही मान्छे रक्सी खाएर धर्मप्रसादको घरतिर लागेका रहेछन् । सायद केहीले तिनीहरूलाई चिनेको पनि थियो होला तर डरले केही बोल्न सकेनन् ।

धर्मप्रसाद ढकाल धनीमानी मान्छे, जग्गाजमिन धेरै भएका, फलफुलको ठूलै इन्डस्ट्री पनि भएको हुँदा उहाँलाई नक्सलवादीले सामन्त भनेर हत्या गरे होला । केही दिनपछि हत्या भएको ठाउँमा सर्जमिन गर्न पुलिस आए । तर, डरले गर्दा गाउँको एउटा मान्छे पनि सर्जमिनमा आएनछ । धर्मप्रसादका भतिजा भीमप्रसाद ढकाल एउटा जिप लिएर मेरो क्लिनिकमा आएर भने– डाक्टरसाहेब पुलिस सर्जमिनमा आएको छ, तर गाउँका कोही मान्छे आएन, अब के गर्ने ?

म जिपमा बसेँ र शनिश्चरे बजारमा गएर ८÷१० जनालार्ई जिपमा राखी धर्मप्रसाद ढकालको घरमा लगेर सर्जमिन गराएँ ।
धर्मप्रसादको हत्यापछि अरुको हत्या भएन । बिस्तारै सुनियो झापामा हत्या मच्चाउनेहरूलाई पुलिसले पव्रिmयो । पव्रmाउ पर्नेमध्ये दुई जनालाई म चिन्थँे एक जना रामनाथ दाहाल, जो नातामा मेरा भाई पर्थे । अर्का थिए मनकुमार गौतम, जसको घर धर्मप्रसाद ढकालको छेउमै थियो । गौतमको परिवारका सबै जनालाई म चिन्थे । मनकुमारका बुबा, दाजुभाइ दिनभर हिँड्ने । मेरो क्लिनिकमा आएको बेला एक दिन मैले मनकुमारलाई सम्झाउन खोजे–‘बूढो बाबु दिनभर भैसी हेर्ने, तिमी चाहिँ बेगारी भएर किन घुम्छौ बाबु ।’ मनकुमारले कति बुझेँ, मलाई थाहा छैन तर पछि हल्ला सुने धर्मप्रसादको हत्यामा उनी पनि सामेल थिए रे ।

२०२९ फागुनमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा लगेर हत्या गरिएको खबर सुनेर दिक्क लाग्यो । ती मार्नेहरूलाई समातेर जेलमा राखेकै थियो । तिनीहरू आतङ्कवादी थिए भने मुद्दा चलाउनुपथ्र्यो, तिनीहरूका कुरा पनि सुन्नुपथ्र्यो, के उद्देश्यले आतङ्क मच्चाएका थिए भन्ने जनताले थाहा पाउनुपर्ने थियो । त्यो केही नगरी जङ्गलमा लगेर हत्या गर्दा के सरकारचाहिँ आतङ्ककारी भएन ?
(डा. उप्रेतीको हालै प्रकाशित ‘जीवन एक सपना’बाट साभार)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: