मसलाको धुलो बेचेर धर्मकर्म

  प्रकाशित मिति
२५ चैत्र २०७४, आईतवार ११:०७


धुलाबारी । कति व्यक्तिले चाहेर पनि आफ्नो इच्छा अनुसारको धार्मिक स्थानको दर्शन गर्न आर्थिक अभावका कारण सकेका छैनन् । तर, धुलाबारीकी एक बृद्धा भने मसलाको धुलो बेचेर आर्जन गरेको पैसाले नेपाल र भारतका गरी ३५ ठाउँभन्दा बढीको धार्मिक स्थानको दर्शन गरिसकेकी छिन् ।

उनी मेचीनगर–१० स्थित धुलाबारी स्वास्थ्य केन्द्रकै छेउमा बसोवास गर्दै आएकी ५८ बर्षीय दीनो राजवंशी हुन् । गत माघ महिनामा मात्र भारतको तातोपानी, मायापुरी, बृन्दाबन, जनतापुरीलगायतका धार्मिक स्थानको भ्रमण गरेर उनी आएको बताउँछिन् ।

बर्षमा दुई पटकसम्म भ्रमणमा निस्कने राजवंशी एकपटकको यात्रामा ५० देखि ६० हजार रुपैयाँ खर्च हुने बताउँछिन् । तर, उनी सो रकम न त छोराछोरीसँगै माग्छिन् न त आफन्तसँगै । आफैँ परिश्रम गरेर पैसा जम्मा गर्ने र अनि धार्मिक भ्रमण जाने गरेकोे बताउँछिन् ।

परिवारमा कसैलाई दुःख नहोस् भनेर उनी खुर्सानी, मसला र बेसारको धुलो बेचेर खर्चको जोहो गर्ने गरेको बताउँछिन् । ‘बसेर बोसो लाग्दैन, काम गर्दा एकातिर दिग्दारी पनि हुँदैन भने अर्कोतिर आम्दानी पनि हुन्छ,’ दीनो भन्छिन्, ‘इच्छाएको काम गर्न खर्चको पनि अभाव हुँदैन ।’

तीन छोरी र एक छोराकी आमा राजवंशी भारतको नक्सलबाडीबाट सुकेको खुर्सानी र मसला ल्याएर धुलो बनाउने गरेको बताउँछिन् । उनी परम्परागत रुपमा रहेको काठको ओख्ली र मुश्ली नै प्रयोग गरेर खुर्सानी, बेसार मसलाको धुलो बनाउने गर्छिन् । भन्छिन्, ‘मिलमा पिसेको भन्दा यसैमा स्वाद आउँछ, ग्राहकले पनि यस्तै खोज्छन् ।’

उनले बिहानभर लगाएर ओख्लीमा बनाएको धुलो मसला, खुर्सानी, बेसार धुलाबारीस्थित टिमाइ खोलाको किनारमा लाग्ने सब्जी बजारमा बेच्ने गर्छिन् ।

दैनिकजसो १ बजेपछि उनी मसला बेच्न सब्जी बजार आउने गर्छिन् । उनको मसलाका पारखी धेरै छन् । दैनिक १ हजार ५ सयदेखि दुई हजार रुपैयाँसम्मको मसला बेच्न राजवंशीको मुनाफा नै ४ सयदेखि ५ सय सम्म हुने बताउँछिन् ।

विगत तीन बर्षदेखि मसलाको व्यापार गर्दै आएकी राजवंशीको परिवारमा खान लाउनको दुःख छैन । उनले दैनिक मसला बेचेर गरेको आम्दानी नै उनको भ्रमण खर्चको मुख्य स्रोत हो । उनका श्रीमानको मृत्यु भइसकेको छ भने छोराछोरी सबैले घरजम गरिसकेका छन् ।

उनी आफू मात्र होइन, आफू जस्तै बृद्धा महिलालाई एक्लो भएर घरमा नबस्न आग्रह गर्छिन् । उनी भन्छिन्, ‘हातपाउ लागुञ्जेल काम गर्यो भने दुई पैसाको लागि कसैको मुख ताक्नु पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: