महान नेपाली नारीहरु

  प्रकाशित मिति
२५ फाल्गुन २०७३, बुधबार १६:५४


‘महिला र पुरुष एक रथका दुई पाङ्ग्रा’ त्यसै भनिएको होइन । जब अवसर पाउँछन्, तव दुबैले उत्तिकै प्रगति गर्न सक्छन् । तर नेपालमा अझै पनि पुरातन सोच र व्यवहार हावी छ जसले गर्दा महिलाहरु जहिले पनि पुरुषको नियन्त्रणमा छन् । पछिल्लो समय सहरी क्षेत्रमा केही मात्रमा महिला अधिकारका कुरा व्यवहारमा लागु भए ता पनि ग्रामिण क्षेत्रको अवस्था एकदमै नाजुक छ । असक्षम, बोक्सी, दाइजो लगायत विविध निहुँमा महिला आमा, दिदीवहिनीहरु दिनहँु प्रताडित भैरहेका छन् । अवसर पाएमा महिलाहरुले पुरुषहरुले भन्दा पनि उत्कृष्ट काम गर्न सक्छन् । पढौँ ती नारीहरुलाई, जसले विश्वमा नेपाललाई चिनाए ।

mahila aruna१. अरुणा लामा
नेपाली गायन क्षेत्रको एक सुप्रसिद्ध गायिका अरुणा लामालाई ‘स्वर किन्नरी’का रूपमा लिइन्छ । वि.सं. २००२ भाद्र २४ को दिन पिता सूर्यबहादुर लामा र माता सानमाया लामाबाट दार्जीलिङको घूम पहाडमा जन्मिएकी अरुणा लामाको पहिलो गीत ‘ए कान्छा मलाई सुनको तारा खसाईदेउ न’ थियो भने ‘किन यौवन उदास उदास छ मेरो’ भन्ने गीतबाट उनको गीति यात्रा अघि बढेको थियो ।
वेदना, पीडा र व्यथाका गीतहरूको साम्राज्ञी लामाको पहिलो गीत वि.सं. २०१२ देखि रेडियोमा बज्न सुरु गरेको थियो । उनले आफ्नो गायन कलाको लागि नेपाल र भारत दुवै देशबाट अनेकौँ पुरस्कारहरू पाएकी थिइन् । उनले सङ्गीत पुरस्कार, सुर श्रृङ्गार सम्मेलन पुरस्कार, मित्रसेन पुरस्कार, दिशारी पुरस्कार (कोलकता), भानु एकेडेमी पुरस्कार (दार्जीलिङ), नेपाली चलचित्र पुरस्कार (माइतीघर गीतको लागि), छिन्नलता गीत पुरस्कार, उर्वशीरङ्ग पुरस्कार, गोरखादक्षिण बाहु पुरस्कार, साधना पुरस्कार जस्ता थुप्रै पुरस्कारहरू पाएकी थिइन् ।
लामाको वि.सं. २०५४ माघ २२ गते बुधबारको दिन दुखद निधन भयो ।

mahila anuradha२. अनुराधा कोइराला
भारतीय कोठीहरूमा बेचिएका नेपाली चेलीबेटीहरूको उद्धार र पुनस्र्थापनामा सक्रिय ‘माइती नेपाल’की संस्थापक अध्यक्ष हुन्–अनुराधा कोइराला । वि.सं. २००६ वैशाख २ गते ओखलढुङ्गाको रुम्जाटारमा जन्मेका कोइरालाले वि.सं. २०६६ सालमा सीएनएन हिरोको उपाधि पनि जितेकी थिइन् । साथै उनले वि.सं. २०७० सालमा ‘मदर टेरेसा’ सम्मान पनि पाइन् ।
३. पासाङ ल्हामु शेर्पा
mahila pasangबि.सं. २०१७ साल मङ्सिर २५ गते सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के–४ मा जन्मिएकी पासाङ ल्हामु शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन् । उनले बि.सं. २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
पासाङ ल्हामुको साहसको सम्मान गर्दै नेपाल सरकारले बि.सं. २०५९ साल वैशाख १० गते उनलाई नेपालको राष्ट्रिय विभूति घोषित गरेको थियो । नेपाल सरकारले उनलाई ‘नेपाल तारा अलङ्कार’ले पनि पुरष्कृत गरेको थियो । यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको थियो ।
पासाङ ल्हामुले सगरमाथ चढ्नुभन्दा पहिले ‘मोन्ट ब्लाङ्क’, ‘चोयू’ तथा अन्य हिमालहरू चढिसकेकी थिइन् । उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिइन् भने शिखरबाट श्रीमान सोनाम छिरिङसँग फर्कँदै गर्दा बि.सं. २०५० वैशाख १० गते ३२ वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।

mahila jhamak४. झमक घिमिरे
वि.सं. २०३७ साल असार २१ गते धनकुराको कचिडेमा जन्मिएकी झमक कुमारी घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन् । ‘सेरिब्रल पल्सी’ मस्तिष्क रोगबाट पीडित घिमिरे जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने समस्याबाट पीडित छिन् ।
खुट्टाको ३ औँला मात्र चल्ने उनले तिनै ३ औँलाको सहयोगले धेरै रचनाहरू प्रकाशित गरिसकेकी छिन् । औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले घरमा भाइ र बहिनीले पढेको र लेखेको देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकी हुन् । वि.सं. २०५३ सालदेखि उनको लेखन विधामा रुचि बढेको हो ।
उनले आफ्नो ‘जीवन काँडा की फूल’ नामक आत्मकथाबाट नेपाली साहित्यको क्षेत्रमा सबैभन्दा सम्मानित ‘मदन पुरस्कार’ पनि पाएकी छिन् भने प्रबल गोरखा दक्षिण बाहु लगायत दर्जनौँ पुरस्कार एवम सम्मान प्राप्त गरेकी छिन् ।

mahila puspa५. पुष्पा बस्नेत
‘प्रारम्भिक बाल विकास केन्द्र’ र ‘पुतली घर’ नामक गैरसरकारी संस्थाकी संस्थापक अध्यक्ष हुन् पुष्पा बस्नेत । उनी विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काममा क्रियाशील छिन् । पुष्पाले २०१२ का लागि सीएनएन हिरोको उपाधि जितेकी थिइन् भने यसैबर्ष सीएनएन सुपरहिरो उपाधि समेत पाएकी छन् ।

६. तारा देवी
mahila taraवि.सं. २००२ साल माघ २ गते जन्मिएकी प्रसिद्ध नेपाली गायिका हुन् तारादेवी । उनले आफ्नो जीवनकालमा ४ हजार भन्दा बढी नेपाली गीतहरू गाएकी छिन् ।
दशकदेखिको अथक साधनाद्वारा गायनकलामा उत्कृष्टता हासिल गरी नेपाली भाषालाई स्वदेशभित्र र बाहिरसमेत सङ्गीतको मधुरिमाद्वारा लोकप्रिय बनाई नेपाली वाङमयको श्रीवृद्धि गर्नमा उल्लेखनीय योगदान गरेकोले उनलाई राष्ट्रिय देनको कदर स्वरूप वि.सं. २०५० सालमा ‘जगदम्बाश्री पुरस्कार’ले सम्मान गरियो ।
उनले ‘इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार’, ‘छिन्नलता पुरस्कार’, ‘मैना पुरस्कार’ र ‘नई सुर सम्मान’ पाइन् । उनी सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु प्रथमबाट पनि विभूषित भइन् । उनले महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, विरेन्द्र ऐश्वर्य सेवापदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि पाएकी थिइन् । उनको वि.सं. २०६२ सालमा दुःखद् निधन भयो ।

mahila bidhya७. विद्यादेवी भण्डारी
नेपालको वर्तमान राष्ट्रपति तथा पहिलो महिला राष्ट्रपति हुन् । गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन् । यिनी स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन् । नेकपा एमालेमा रही सकृय राजनीति गर्ने यिनी नेपालको जनसङ्ख्या तथा वातावरण र रक्षामन्त्री समेत भइसकेकी छिन् । उनलाई विश्व प्रसिद्ध पत्रिका फोब्र्सले बर्ष २०१६ का शक्तिशाली महिलाहरु मध्ये ५२ औं स्थानमा सूचिकृत गरेको छ ।
विद्या भण्डारीको जन्म भोजपुर जिल्लामा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखमा भएको थियो। विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा सकृय विद्या २०३७ मा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन् । उनको २०३९ सालमा तत्कालिन नेकपा मालेका नेता मदन भण्डारीसित भूमिगत रूपमा विवाह भयो । पतिको २०५० साल जेठ ३ मा विवादास्पद जीप दुर्घटनामा मृत्यु भएपछि यिनी राजनीतिमा पुनः सकृय भइन् । मदन भण्डारीको निधनपछि रिक्त काठमाडौं क्षेत्र नं. १ मा २०५० सालमै भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली काङ्ग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि राजनीतिमा यिनको परिचय झन् व्यापक भयो ।

(लोकतन्त्र दैनिकमा प्रकाशित, स्रोत ः विविध)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: