महालक्ष्मीको साधारणसभा, शेयर बढेर ७० लाख नाघ्यो

  प्रकाशित मिति
२५ पुष २०७७, शनिबार १५:१७


मेचीनगर, २५ पुस । महालक्ष्मी कृषि सहकारी संस्था मेचीनगरको १२ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष गीता कुँवरले सहकारीले महिलाहरुको सशक्तिरणमा ठूलो योगदान पुर्याएको बताइन् । उनले सहकारीकै माध्यमबाट महिलाहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण भएको  बताइन् ।

संस्थाकी अध्यक्ष दुर्गा खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाकी प्रमुख मुना घिमिरे, पत्रकार महासंघ प्रदेश नम्बर १ की कोषाध्यक्ष अम्बिका भण्डारी, सल्लाहकार मिलनसार राई, पुण्यप्रसाद भूर्तेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वि.सं. २०६५ मा ५४ जना शेयर सदस्यको रु. ५४ हजार शेयरपूँजीबाट स्थापना भएको सहकारी संस्थामा हाल दुई हजार बढी शेयर सदस्य र ७० लाख २९ हजार ४०० रुपैयाँ शेयर पूँजी पुगेको संस्थाकी अध्यक्ष दुर्गा खतिवडाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा शेयर सदस्यको आय आर्जन बृद्धि गर्ने उद्देश्यले संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहुलियत दरमा कर्जा लिई सय बढी युवाहरुलाई स्वरोजगार बनाएको समेत उल्लेख गरिएको छ ।

अध्यक्ष खतिवडाले संस्थाले चार करोड ६१ लाख छ हजार रुपैयाँ कर्जा लगानी गरेको, निक्षेप बृद्धि चार करोड ३० लाख ८७ हजार रुपैयाँ रहेको बताइन् । उनले विषादि न्यूनीकरण अभियानलाई जोड दिँदै अग्र्यानिक तरकारी उत्पादन तथा कौशी खेती सम्बन्धी विभिन्न तालिम, महिला हिंसासँग सम्बन्धित सचेनामूलक कार्यक्रम सञ्चालन, वित्तीय सारक्षता तालिम, सहकारी शिक्षा तालिम र रेमिटान्सको कारोवार लगायतका कार्यक्रम गर्दै आएको बताइन् ।

सहकारीकी लेखा संयोजक लीना भण्डारीले संस्थाले गरेका गतिविधि बारे जानकारी गराएकी थिइन् । उनले सहकारी विभागबाट जारी गरिएका मापदण्ड अनुसार नै संस्थाले गतिविधि गरिहरहेको बताइन् ।

उनले संस्थाले उत्पादन गरेको विषादिरहित तरकारीहरु, जैविक मल तथा विषादि, विऊ विजनहरु शेयर सदस्यले खरिद गरी लाभान्वित हुन आग्रह गरिन् ।

संस्थाकी सदस्य मञ्जु खनालले स्वागत मन्तव्य व्यक्त गर्दै कोभिड–१९ का कारण शेयर सदस्यहरुलाई एक हप्ता अघिदेखि प्रतिवेदन घरघरमा पुर्याएर सल्लाह सुझाव माग गरेको बताइन् ।

प्रतिनिधि मूलक सदस्य छनौट गरी आयोजना गरिएको कार्यक्रम व्यवस्थापक प्रेमकुमारी सुवेदीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: