झापा । सामाजिक अभियन्ता तथा रोमन म्याग्सेसे पुरस्कार प्राप्त महावीर पुनले आफ्नो नाममा भएको सबै जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने घोषणा गरेका छन् ।
उनले आइतबार फेसबुकमा स्टाटस लेखी करिब ३ करोड रुपैयाँ पर्ने जग्गा केन्द्रलाई दान गरेको घोषणा गरेका हुन् ।
पुनले तत्कालिन अर्थमन्त्री रामशरण महत र अहिलेका अर्थमन्त्री विष्णु पौडेललाई बारम्बार सहयोगका लागि आग्रह गर्दा पनि आविष्कार केन्द्रलाई सहयोग नगरेकाले आफ्नो जग्गा दान गर्ने घोषणा गरेको बताएका छन् ।
पुन व्यक्तिगत पहलमा लामो समयदेखि नेपालका ग्रामीण क्षेत्रमा सूचना प्रविधिका क्षेत्रमा समाजसेवा गर्दै आएका छन् । जग्गा दान गर्ने घोषणा सँगै पुनले आफ्नो नामको जग्गाको लालपूर्जा समेत सार्वजनिक गरेका छन् ।
पुनले भने–‘पटकपटक भएका प्रधानमन्त्री, अर्थमन्त्री र सचिवलाई सहयोग गर्न आग्रह गरेँ । सहयोग नगरे आफ्नै जग्गा दान गर्छु भनेर धम्की समेत दिए तर केही भएन अनि आज सबैको जानकारीका लागि यो कुरा सार्वजनिक गरेको छु ।’
‘यो घोषणा नयाँ होइन, यो घोषणा अर्थमन्त्री डा. रामशरण महत र बिष्णु पौडेलसहित अर्थ सचिव, सह–सचिव अनि दुई प्रधानमन्त्री र उनका सल्लाहकारलाई बिगतका दिनमा बारम्बार भनिसकेको कुरा हो’, पुन भन्छन्–‘मैले सबैलाई यदि, सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न मिल्दैन अथवा सहयोग गर्न सक्दैन भने मेरो नाममा भएको करिब ३ करोड पर्ने २८ रोपनी जग्गा बेचेरै भए पनि सुरु गर्छु । यसो भन्दा उहाँहरूले ‘जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ’ भनेका थिए ।’
पुनले आफ्नो २८ रोपनी जग्गाको बारेमा समेत प्रष्ट पार्दै फेसबुकमा लेखेका छन्–‘त्यो जग्गा पोखराको बेगनास तालको उत्तर पट्टिको ठुलाकोट भन्ने डाँडामा छ । त्यो जग्गा हाल अमेरिकामा बस्ने बन्बरे, पर्बतको पदम पुन भाइ र मैले २० बर्ष अगाडि किनेका हौँ । त्यो जग्गा किन्दा हामीले त्यसलाई भविष्यमा समुदायलाई फाइदा हुने कुनै राम्रो कामको लागि प्रयोग गर्ने भनेर सल्लाह गरेका थियौँ । त्यति बेला त्यो जग्गा पदम भाइको नाममा किनेका थियौँ । तर पदम भाई अमेरिकामा बसोबास गरेकोले केही महिना अगाडि सो जग्गा मेरो नाममा नाम सारी गरिएको छ । सो एरियाको हालको जग्गा लेनदेनको आधारमा त्यसको मोटामोटी मूल्य ३ करोड पर्छ ।’
पुनले अविष्कार केन्द्रका लागि सरकारको ढोका बन्द गरेर जनताको ढोकामा गइसकेको बताउँदै आफ्नो जिन्दगीको सम्पूर्ण समय यसमै लगाउने र आर्थिक सङ्कट परे २८ रोपनी जग्गा बेचेर केन्द्रको काम अगाडि बढाउने समेत बताएका छन् । आर्थिक सङ्कट नपरे जग्गामा भौतिक संरचना बनाएर अनुसन्धानका लागि उपयोग गर्ने पुनको योजना छ ।
पुन लेख्छन्, ‘अब हामी राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न सरकारको ढोका छोडेर जनताको ढोकामा गइसकेका छौँ । मैले नेपालको विकासका लागि मेरो बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्छु भनि रहेको अबस्थामा सो २८ रोपनी जग्गा पनि राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने कुरा घोषणा गर्दछु । पैसाको अति नै आवश्यकता भएको खण्डमा त्यो जग्गा बेच्ने अथवा पैसा पुगेको खण्डमा त्यो जग्गामा अनुसन्धानका लागि केही भौतिक संरचना बनाइनेछ ।’
पुनले जग्गा दान गर्न र सहयोग गर्न चाहनेलाई समेत आह्वान गरेका छन् । उनले सहयोग गर्न चाहनेले वेभसाइट वा उनको ९८४१५९२३६१ मोबाइल नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
(२०७३ साउन १७ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)