महावीरको महान् उद्देश्य

  प्रकाशित मिति
३ भाद्र २०७३, शुक्रबार १०:२१


naresh-khati1-225x300

उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’, महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविताको हरफमार्फत् धेरै वर्ष अघि भनिसकेका छन् । मानव भएर धर्तीमा जन्म लिएपछि कुनै महान् काम गर्नुपर्छ । अझ भनौँ नेपाल जस्तो विकासोन्मुख देशका लागि त झनै सान्दर्भिक छ, यो भनाइ । आज नेपालीले आफ्नो भविष्य मातृभूमिमा सुरक्षित देख्न छाडिसेकेका छन् । सारा सम्भावनाको ढोका बन्द भएको भन्दै चिच्याहट र रोदन मात्र सुन्न अभ्यस्त नेपालीको कानमा सानो सुखको सन्देश फुस्फुसाएको छ ।
एउटा पुरानो चिनियाँ कथा छ ‘जहाँ एउटा मूर्ख बुढो दुई ठुला–ठुला अजङ्गका पहाड फोर्न हातमा हम्वर र गैती लिएर दैनिक जाने गर्छ । गाउँलेहरु उसको मूर्ख चाला देखेर अवाक हँुदै बुढोलाई सोध्छन्, ‘यो के गरेको ? यी पहाडले हामीलाई बाधा गरेका छन् त्यसकारण यसलाई फोरेर सम्याउने हो ।’ उसको उत्तर सुनेर गाउँलेहरुले असम्भव भने ठाने तर बुढो आफ्नो काममा दृढ थियो । उसले भन्यो, ‘म सकुञ्जेल पहाड फोर्छु, म मरेपछि मेरा छोराले फोर्छ । त्यसपछि नातीले एवम् रितले एकदिन त पक्कै सम्याउन सकिएला । उसको दृढ सङ्कल्प सुनेर सारा जनता पहाड फोर्न लागे केही वर्षमै पहाड सम्याउन सफल भए ।

हालै नेपालका प्राविधिज्ञ तथा एसियाको नोबेल पुरस्कार मानिने रमन म्यागेसेस पुरस्कार विजेता महावीर पुनले एउटा महान् कामको थालनी गर्ने घोषणा गरेका छन् । उनले आफ्नो निजी सम्पत्ति ‘राष्ट्रिय आविष्कार केन्द्रको’ नाममा दान गरेका छन् । आविष्कार केन्द्रमार्फत् विज्ञानको प्रयोग गरेर आविष्कार गरिएका सामग्रीले देशको आश्यकता पूरा गर्ने । पछि विदेश निर्यात गर्ने र देशलाई सम्पन्न बनाउने योजना अघि सारेका छन् । हुन त यस अघि पनि उनले धेरै काम गरिसकेका छन्, गर्दै आएका छन् । उनी एक्लैले दुर्गम गाउँमा गएर तारविहीन प्रविधिबाट इन्टरनेटमार्फत् गाउँलाई विश्वसँग जोड्ने काम गरे । उनी एक्लैको प्रयासबाट दशाँै हजार मानिसको जीवनमा परिवर्तन ल्याएका छन् । तथापि पछिल्लो घोषणाले नेपालको उन्नति चाहने जो कोहीलाई उत्साहित तुल्याएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न मार्ग प्रसस्त गरेको छ ।

चार वर्षसम्म सहयोगको याचना गर्दै सरकारसामु हात फैलाउँदै आएका महावीर पुनले अब उप्रान्त सरकारको दैलो नधाउने घोषणा गरेका छन् । साउन २५ गते अविष्कार केन्द्रको स्थापनाको अन्तर्य, यसको उद्देश्य र कामको प्रकृतिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा ‘अब जनताकै सहयोगमा केन्द्रको स्थापना गर्ने र केही गरेर देखाउने’ बताए । विज्ञान प्रविधिको क्षेत्रमा सरकारको लगानी हुनुपर्ने हो, कसैले विज्ञान प्रविधिको क्षेत्रमा काम गर्छु भन्छ भने, उसको कामको कदर गर्नुपर्ने हो । तर, हालसम्म कुनै पनि सरकारले यसका लागि दिलचस्वी देखाउन सकिरहेको छैन । इतिहास साक्षी छ, नेपालका पहिलो बैज्ञानिक गेहेन्द्र शमशेरलाई चन्द्र शमशेरको निर्देशनमा विष प्रयोग गरी हत्या गरिएको थियो । वर्तमान सरकारले वैज्ञानिकलाई मार्ने नै त गरेको छैन । तर, नेपालमा बाँच्न सक्ने वातावरण पनि दिएको छैन । नेपालमा उचित वातावरणको कमीले नेपाली प्रतिभा पलायनको व्रmम रोक्न सकिएको छैन ।

अन्धविश्वासले जकडिएका सरकारका सञ्चालकहरु वर्षौँ पहिले लेखिएका दन्त्यकथाका कुसंस्कार र कुरीतिपूर्ण व्यवहारलाई प्रोत्साहन गर्न व्यस्त छन् । इन्द्रजात्रा, घोडेजात्रा, मच्छिन्द्रनाथको रथयात्रा, भोटेजात्रा यस्तै–यस्तै जात्रा र कुमारी पूजा, अरु धेरै पूजाआजामै सरकारी ढिकुटी खर्च गरेर जनतालाई वेवकुफ बनाउन चाहन्छन्, कि यो सबै पूर्वजन्मको कर्मको फल हो । नेपालको विकास नहुनु पनि देवताको इच्छाले गर्दा हो भनी बेला–बेला विश्वशान्ति र नेपालको शान्तिको कामना गर्दै राष्ट्रपतिले पशुपतिनाथको पूजा गरेबाट थाहा हुन्छ । केही समय अघि केपी सरकारले ‘गुगल ब्योइ’ भनिने आदित्यलाई करोड दिने घोषणा गर्यो, तर विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्छु भनी चार वर्षसम्म सरकारको ढोका ढक्ढक्याउँदै हिँड्ने महावीरको अनुनय विनय किञ्चित सुन्नु आवश्यक ठानेन, यसले कुनै प्रभाव पार्न सकेन ।

महावीरले स्थापना गरेको ‘आविष्कार केन्द्र’को मुख्य उद्देश्य युवाहरुलाई मुख्य पुँजी मानेर उनीहरुको सोचलाई सदुपयोग गर्ने । पहलो, विदेसिने युवाहरु मध्ये तृक्ष्ण बुद्धि भएका युवाहरुलाई स्वदेशमा नै रोकेर केही गराउनु । दोस्रो, देशमा विज्ञान–प्रविधिको विकास गर्न, युवाहरुलाई उनीहरुमा भएको नयाँ–नयाँ सोचलाई अघि बढाउन आविष्कार केन्द्रअन्तर्गत विज्ञान–प्रविधिका क्षेत्रमा काम गर्ने अवसर दिने । तेस्रो, यस्ता आविष्कार नेपालमै प्रयोग गर्ने र विदेशमा निर्यात गर्ने ।
आविष्कार केन्द्रमा अहिले एक अध्यक्ष र चार सदस्यसहित पाँचजना छन् । हाइड्रो विज्ञ डम्बर नेपाली, पूर्वअर्थ सचिव रामेश्वर खनाल, क्यानाडाबाट फर्किएका वरिष्ठ वैज्ञानिक प्रमोद दाहाल र वैज्ञानिक दिनेश भुजु छन् । संस्थाको बोर्डमा रहेका कसैले पनि तलब र अन्य सुविधा नपाउने भन्दै यो स्वयम्सेवामा आधारित संस्था भएको केन्द्रका अध्यक्ष पुनले जानकारी दिएका छन् ।

दिगो आर्थिक स्रोतका लागि सुरुमा १० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने योजना अघि सारिएको छ । जलविद्युतबाट आउने आम्दानी केन्द्रका निम्ति खर्च गरिनेछ । डेढ अर्ब रुपैयाँ लाग्ने जलविद्युत आयोजनाका लागि तत्काल ५० करोड जुटाउन सकेमा ७० प्रतिसत बैङ्कबाट क्रण लिने योजना छ, पुनको । अहिले महावीर आर्थिक सहयोग जुटाउन स्कुल, कलेज र सङ्घसंस्थामा गएर केन्द्रको योजनाका बारेमा बताइरहेका छन् । हालसम्म ३४ लाख दिने वाचा भएको र ९० लाख रुपैयाँ उठिसकेको छ । (२६ साउनसम्म)

आविष्कारका व्रmममा केन्द्रलाई आवश्यक ज्ञान स्वदेशी तथा विदेशी वैज्ञानिक र विषय विज्ञबाट दिलाउने व्यवस्था मिलाउने भनिएको छ । अमेरिकामा रहेका चारसय नेपाली वैज्ञानिक, कोरियामा रहेका डेढ सय र जापान र युरोपमा रहेका वैज्ञानिकहरुको डाटा तयार पारेको र आवश्यक परे तिनीहरुसँग प्राविधिक सहयोग लिइने पुनले बताए ।

प्राविधिक विषय पढ्न अमेरिका पुगेका पुनले, त्यहाँ पुगेपछि त्यहाँको सरकार र कर्मचारी जनताको लागि कति चिन्तित छन् भन्ने चाल पाए । अमेरिकामा कम्प्युटरका बारेमा जे जाने, त्यो कुरा ग्रामीण नेपाली जनतालाई सिकाएर उनीहरुको जीवनमा केही सुधार गर्न सकिन्छ भनेर उनी गाउँ फर्किए । उनी हुर्कंदा गाउँ जस्तो थियो, त्यत्रो वर्ष बाहिर बसेर फर्कंदा पनि गाउँ त जस्ताको तस्तै रहेछ । पुनले सोचे आफ्नो गाउँको विकास आफै नगरी नहुने रहेछ भनेर काम सुरु गरे, नभन्दै परिर्वतन आयो ।
गाउँमा काम गरेर परिवर्तन ल्याउन सफल पुनलाई लाग्यो म एकजनाले दशौँ हजार परिवारको जीवनमा परिवर्तन ल्याउन सक्छु भनेर । पूरै राष्ट्रका नेता, कर्मचारी एवम् बौद्धिक वर्गले किन देश बनाएनन् । उनको ठहर छ, यहाँ कसैले काम गरेकै छैनन् ।

आज महावीर पुनको सपना देख्दा हामीलाई लाग्न सक्छ कतै मूर्खता त होइन ! तर यो पनि चिनियाँ कथाको मूर्ख बुढाको कथा जस्तै हो, जुन सम्भव छ । जसका लागि तपाईं हाम्रो आर्थिक, नैतिक समर्थनको खाँचो छ । अँध्यारो छ, तर हामीले अँध्यारोसँग लड्नु भन्दा पनि सानो भएपनि दियो जलाउने प्रयास गर्नुपर्छ । महावीरको योजनामा सबैको साथ सहयोगको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: