मेचीनगर, ४ फागुन । जैन धर्मका सर्वोच्च गुरु आचार्य महाश्रमणजी अहिंसा यात्राको क्रममा मङ्गलवार विहान पूर्वी नाका काँकरभिट्टाबाट नेपाल आइपुगेका छन् ।
सद्भावना, नैतिकता र नशाबाट मुक्तिको सन्देश बोकेर सयौँ अनुयायीका साथ भारतको पश्चिम बङ्गालस्थित पानीटङ्की नाकाबाट विहान ९ः१५ बजे नेपाल प्रवेश गरेका आचार्य महाश्रमणजीलाई सहरी विकास मन्त्री अर्जुननरसिंह केसी, सांसद रविन कोइराला, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा लगायतले काँकरभिट्टामा औपचारिक स्वागत गरेका थिए ।
आजीवन पैदलै हिँड्ने सङ्कल्प लिएका धर्मगुरु आचार्य महाश्रवणजी ३ दिनसम्म झापाको मेचीनगर, विर्तामोड र भद्रपुरमा रहने र फागुन ६ गते भद्रपुर नाकाबाट भारतको विहार फर्किने तेरापन्थी युवक परिषद् झापाका अध्यक्ष मञ्जित जैनले बताए ।
जैन धर्म नेपालमा फैलिएको अढाइ सय वर्षको इतिहासमा जैन सर्वोच्च धर्मगुरुले यसरी नेपाल प्रवेश गरेको दोस्रो पटक हो । दुई वर्ष अघि उनी वीरगञ्जबाट नेपाल आएर काठमाडौँसम्म गएका थिए ।
सेतो पहिरन लगाउने र मुखमा सेतो मास्क लगाउने आचार्य महाश्रमणजीले सन् अहिंसा यात्राको क्रममा वार्षिक २ हजार किलोमिटर पैदल हिडिरहेका छन् । त्यसयता उनी निरन्तर भारत, नेपाल र भूटानको विभिन्न स्थानमा पैदल यात्रामा छन् ।
झापामा उनको स्वागतका लागि सडकहरुमा दर्जनौँ स्वागतद्वार बनाइएका छन् भने महाश्रमणजीको तस्वीर र महानवाणी राखेर फ्लेक्स व्यानरहरु राखिएका छन् ।
काँकरभिट्टामा विहान ९ बजेतिर प्रवेश गरेका उनी केही समय काँकरभिट्टास्थित एक अनुयायीको घरमा बसेका थिए भने त्यसपछि सरासर हिँडेर धुलावारी आएका थिए । काँकरभिट्टा, इटाभट्टा र धुलावारीमा उनको भव्य स्वागत गरिएको छ ।
नैतिकवान बन्न आह्वान
धुलावारी । अहिंसा यात्रामा आएका आचार्य महाश्रमणजीले नेपाल आइपुगेको पहिलो दिन धुलावारीमा विशेष प्रवचन दिएका छन् ।
पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठान सभाहलमा प्रवचन दिदै उनले नैतिक चरित्र निर्माणमा ध्यान दिन आह्वान गरे ।
व्यक्तिमा मात्र नभएर राजनीति र समाजमा नैतिक चरित्र खस्किदै गएको चर्चा गर्दै उनले कुनै पनि मुलुकको समृद्धिमा नैतिक वलको ठूलो महत्व रहने बताए ।
सोही कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले समाजमा परिवर्तन र समाजलाई आदर्शमा बाँध्नका लागि धर्म संस्कृति आवश्यक पर्ने बताए । उनले अहिंसा र शान्तिले नै मुलुकलाई समृद्धितर्फ लैजाने धारणा व्यक्त गरे ।
(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ फागुन ४ गते प्रकाशित)