महासङ्घका प्रदेश अध्यक्ष खड्काले काङ्ग्रेस त्यागे

  प्रकाशित मिति
२९ कार्तिक २०७४, बुधबार १४:४५


धुलावारी । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले नेपाली काङ्ग्रेस परित्याग गरेका छन् ।

भ्रातृ सङ्गठन नेपाल तरुण दलको झापा जिल्ला अध्यक्ष र नेपाली काङ्ग्रेग झापा क्षेत्र नं. १ को क्षेत्रीय उपसभापति जस्तो पद सम्हालिसकेका खड्काले बुधवार एक प्रेस विज्ञप्ति प्रकाशित गरी काङ्ग्रेसको साधारण सदस्यता समेतबाट राजीनामा दिएको जनाएका हुन् ।

धुलावारीमा पत्रकारहरुसँगको सामूहिक कुराकानीमा पार्टी छाड्नुको कारण सुनाउँदै उनले काङ्ग्रेस आफ्नो मूल्य, मान्यता र सिद्धान्तबाट स्खलित भएको र पार्टीभित्र बेथिति चुलिएको आरोप लगाए ।

‘मैले आफ्नो राजनीतिक जीवनको सम्पूर्ण अवधि नेपाली काङ्ग्रेसको नेतृत्वमा भएका लोकतान्त्रिक आन्दोलन, सङ्गठन विस्तार र आर्थिक समृद्धिको अभियानमा बिताएको सर्वविदितै छ’, उनले विज्ञप्तिमा भनेका छन्–‘मैले नेपाली काङ्ग्रेसमा रहँदा भ्रातृ सङ्गठन नेपाल तरुण दलको झापा जिल्ला अध्यक्ष, नेपाली काङ्ग्रेस झापा क्षेत्र नं. १ को क्षेत्रीय उपसभापति लगायतका विभिन्न जिम्मेवारी समेत सम्हालेको थिएँ ।’

उनले विज्ञप्तिमा भनेका छन्–‘नेपाली काङ्ग्रेस यतिबेला लोकतन्त्र, राष्ट्रियता र समाजबादको मूलभूत सिद्धान्त र आदर्शबाट स्खलित बनेको देख्नु पर्दा मलाई नेपाली काङ्ग्रेसमा एकपल पनि रहिरहन कुनै पनि हालतमा इच्छा भएन ।’

आफु मुलुकको स्वाभिमान, आर्थिक समृद्धि, लोकतान्त्रिक मूल्य र जनताको सर्वोपरि हितका निम्ति राजनीति हुनु पर्दछ भन्ने मान्यतामा उभिएको उल्लेख गर्दै उनले विज्ञप्तिमा भनेका छन्–‘यी आदर्शबाट बिमुख भएर बिकृति, बिसङ्गति र बेथितिको आहालमा डुबिरहेको नेपाली काङ्ग्रेस पार्टीको साधारण सदस्यता समेत आजैको मितिदेखि नरहने गरी आजैदेखि नेपाली काङ्ग्रेसका सबै जिम्मेवारीहरुबाट राजीनामा गर्दछु ।’

स्वतन्त्र नागरिकको रुपमा राष्ट्रको सेवामा लाग्ने कुरा उनले बताएका छन् । काङ्ग्रेसमा रहँदा स्नेह प्रदान गर्ने अग्रज, सहकर्मी तथा साथीहरुलाई उनले धन्यबाद दिएका छन् ।
…………..

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: