महिलाको थर बाध्यता कि रहर

  प्रकाशित मिति
२८ जेष्ठ २०७३, शुक्रबार १३:४६


amritaउमाको लभ म्यारिजको केही समयपछि नै मेरो एरेन्ज म्यारिज भयो । मेरा धेरै साथीहरूको लामो नामलिस्टको सधैँ एक नम्बरमा पर्ने नाम हो, उमा । बिहे पनि सँगसँगै भएपछि कसै–कसैले हामीलाई भने ‘धन्न बिहे चाहिँ एउटै सँग गरेनछौँ ।’ त्यो हाम्रो मित्रताको प्रशंसा थियो । हाम्रो दुवै परिवार हाम्रो मित्रतासँग खुसी थिए र हामी सदैव एक अर्काका उत्प्रेरक थियौँ ।

बिहेको केही पछि उमा र म एउटै तालिममा प्रशिक्षार्थी भयौँ । त्यही तालिममा परिचय दिने व्रmममा मैले आफ्नो नामको पछाडि आफ्नो पतिको थर भने तर उमाले आफ्नो जन्मकै थर भनिन् । बाहिर उनले मेरो काधँमा दुख्ने गर हिर्काएर भनिन्, ‘आफूले आफूलाई चिनेदेखि आफ्नो भनेको थरलाई कति सजिलै तिमीले त्यागी छौ…?’ उनको कुराले म टक्क अडिए । सारा शरीर ढुङ्गा टोकिएको दाँत जस्तो सिरिङ्ग भयो । यस्तो त मैले सोचेको सम्म रहिनछु । वास्तवमा मैले आफ्नैे परिचयको आधा भाग बिहे हुने बित्तिकै कसरी काट्न कसे हुँला ? आफैँदेखि छक्क परे म ।

त्यस घटनापछि पनि मैले आफ्नो नामको पछाडि जोड्न थालेको वैवाहिक थरलाई थपक्कै छाड्न चाहिँ सकिन बरु त्यसपछि आफ्नो जन्मेको थर पनि थप्न थाले । पछि बुझे यस्तो त अरुले पनि गर्दा रहेछन् । तर, उनीहरू जन्मको थर पहिले र वैवाहिक थर पछाडि लेख्छन् ।

त्यसपछि फेरि उमासँग मेरो भेट भएन । अहिले जस्तो हातहातै मोबाइल थिएन र अरु फोन पनि कमै थिए, के भेट होस् ? त्यो भन्दा पनि भित्री कुरा चाहिँ कलेजदेखि नै मलाई उमाको पति मन नपर्ने उसलाई म मन नपर्ने । त्यही कुराले पनि असहजता ल्यायो होला हाम्रो भेटघाटमा ।

निकै वर्षपछि, नानीहरू स्कुल जाने भएपछि उमाकै प्रस्तावमा हाम्रो भेट भयो । कस्तो सुखद् भेटको कल्पना अनि कति धेरै रमाइलो गर्ने मेरो रहर मनभित्रै जमेर हिउ भयो । समयले साच्चै कोल्टे फेरेछ र सबै कुरा विपरीत भएछन् । उमाको लभ म्यारिज टुट्न अन्तिम चरणमा पुगेको रहेछ र सबै भन्दा दुखद् कुरा उनका माइतीहरूले उनको यस्तो सङ्र्घषका दिनहरूमा साथ दिएन छन् । कसैको साथ सहयोग बिना लडेर अधिकार लिन कति गाह्रो हुन्छ ? त्यो कुरा सजिलै अुनमान गर्न सकिन्छ । एक्लै सङ्र्घष गर्दा–गर्दा गलेकी, थाकेकी दुखेकी र आफ्नाहरूको तिरस्कारबाट जलेकी उमाको अपेक्षामा मैले जे सके त्यो सहयोग गरे । उनका निम्ति ती माइतीसँग मन पलाउने कतै ठाँउ छैन न त त्यो लोग्नेसँग । म सोच्छु मलाई मेरोे जन्मको थरसँग जोड्ने उमा, आफ्नो जन्मको थरलाई नै आफ्नो परिचय बनाउनमा गर्व गर्ने उमा अचेल आफ्नो परिचय दिन नाम सकेर थर भन्नै लाग्दा कति खिन्न हुँदिहुन् । यसलाई म थर पीडा भन्छु । थरको कारणले हुने पीडा । यस्ता थर पीडाका कथा कति छन् कति हाम्रो समाजमा ।

हिन्दु परम्परा अनुसार विवाहमा विधिवत महिलाको थर, गोत्र र किरिया सारिन्छ । अब महिला अर्कै (दुलाहाका) थर, गोत्रमा परिवर्तित हुन्छे र मरेपछि पनि दुलाहा पट्टिकै पितृहरूमा मिसिन्छे भन्ने विश्वास गरिन्छ  । विवाहित स्त्रीहरू यसै कारण आफ्नो जन्मको थर छोडेर पतिको थर ग्रहण गर्दछन् । तर, केही गरी पुरुषसँग सम्बन्धविच्छेद भयो भने हुन्छ अर्को थर पीडा । थर, गोत्र किरिया सबै सारिएको पतिको थर लेखौँ भने पतिसँगै सम्बन्ध सकिएको छ, जन्मको थर लेखौँ भने विधिवत सारेको हो ।

सानु बाबुबाट बलात्कारको सिकार भइन् । उनको बाबु अहिले जेलको कोठीमा दिन गन्दैछन् । सानुको विवाह भएन किनभने उनी बलात्कृत हुन् । उनको यसमा केही गल्ती नभए पनि उनलाई कसैले आपनाउन सक्दैन । त्यसै कारण उनको थर परिर्वतन भएन, उनी त्यही बाबुको थरबाट परिचित हुन बाध्य छिन् । यो हो अर्को थर पीडा । त्यस्तै रातदिन प्रताडना दिने, यतना दिने पतिका पत्नीहरू पनि त्यही पतिको थरमा आफ्नो परिचय बनाउन बाध्य छन् । थर पीडा अक्सर महिलाले भोग्ने गरेको भए तापनि यो पीडा केही पुरुषहरू पनि भोग्दछन् ।

एउटा बालकालाई उसको बाबुले जीवनमा केही दियो भने केवल शारीरिक र मानसिक यातना मात्र दियो । तर, उसकी आमाले अनेक हन्डर खपेर उसलाई हुर्काई । त्यसैले ऊ आफ्नी आमालाई अत्यन्तै प्रेम गर्दछ र बाबुलाई घृणा । तथापि, ऊ बाबुकै थर ग्रहण गर्न बाध्य छ । त्यो बालक बाबुको थरको सहज विकल्प यदि आमाबाट पाउथ्यो भने के गथ्र्यो होला ! त्यस्तै बाबुको पहिचान नखुलेका र बाबुले थर दिन नचाहेका बालबालिकाको उस्तै पीडा छ ।

नेपालमा मध्यकाल अघि थर लेख्ने प्रचलन थिएन । व्यक्तिको परिचयका लागि उसको नाम नै काफी थियो । मल्लकालमा नेपालमा महिलाको थर नै पुरुषको थर हुने र महिलाकै घरमा पुरुष आएर बस्ने प्रचलन पनि थियो । मल्लकालीन शक्तिशाली राजा जयस्थिति मल्ल त्यसकै उदाहरण हुन् । त्यसलाई डोलाजी प्रथा भनिन्छ । पछि उनै जयस्थिति मल्लले त्यो प्रथाको अन्त्य गरे । नेपाली समाज कट्टर पुरुषप्रधान हुँदै जाने व्रmमको त्यो पनि एक महत्वपूर्ण कदम थियो ।

यी अधिकांश थर पीडाहरूको समाधान बोकेर नेपालको संविधान २०७२ जारी भएको छ । बाबुको टुङ्गो नलागेका छोरा–छोरी, बाबुले आफ्नो परिचय दिन नचाहेका बालबालिका, विदेशीसँग विवाह गरेकी नेपाली आमाका नेपालमा नै स्थायी बसोबास गर्ने बालबालिका लगायतका थर पीडाहरू आमाको नामबाट नागरिकता पाउने व्यावस्थाले सहज भएका छन् । तथापी यी व्यावस्थाहरू सहजतापूर्वक व्यवहारमा लागु हुन र पीडा मुक्त हुन पीडितले अझै समय पर्खनै पर्छ । त्यसपछि पनि बाँकी नै रहन्छन् हजारौँ उमा र सानुहरूका थर पीडा यो समाजमा ।

जसलाई आफ्नो नामको पछाडि जोडिने थरले सधँै पीडा मात्र दिन्छ । जसलाई न पैतृक न वैवाहिक थर लेख्न वा भन्नमा खुसी न आत्मचैन हुन्छ बरु वितृष्णा र कुण्ठामात्र हुन्छ भने त्यस्तो बोझ बोक्ने बाध्यता किन ? दुवै थर नलेखि पनि आफ्नो परिचय पूरा गर्र्न पाउने व्यवस्था हुँदो हो त त्यस्ता पीडाको पनि अन्त्य हुने थियो । संविधान परिवर्तनशील छ, त्यसैले आशा गरीराखौँ कुनै दिन त्यो व्यवस्था पनि थपिनेछ र मुक्त हुने छन्, थर पीडाका पीडितहरू ।
मेचीनगर, झापा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: