शान्तिनगर । मारवाडी महिला मञ्च मेचीनगरले शान्तिनगर–३ स्थित जनज्योति निमाविमा विद्यार्थी र शिक्षकलाई शुद्ध पिउने पानीका लागि ट्याङ्की, धारा र ट्युवेल जडान गरिदिएको छ ।
५० हजार रुपैयाँको लगानीमा निर्माण गरिएको सो ट्याङ्की, धारा र ट्युवेलको धुलावारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले शुक्रवार रिबन काटी उद्घाटन गरेका छन् ।
गाउँको विपन्न विद्यालयमा पिउने पानीको व्यवस्थाका लागि मारवाडी महिलाहरूले पुर्याएको सहयोगको कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले उच्च सराहना गरेका थिए ।
मारवाडी महिलाहरूले सामाजिक सेवाको क्षेत्रमा थालेको काममा आफ्ना तर्फबाट सहयोग रहने समेत बुढाथोकीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र धिमालको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्यसेवी लेखनाथ खतिवडा, मारवाडी महिला मञ्चकी अध्यक्ष सुनिता सर्राफ, लोकतन्त्र पोस्टका समपादक मोहन काजी र विद्यालयका प्रधानाध्यापक टुकबहादुर साँवाले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी, धुलावारीको जय अम्बे स्टोर्सले सोही विद्यालयमा १० वटा सिलिङ फेन निःशुल्क रुपमा सहयोग गरेको छ ।
कार्यक्रममा मारवाडी सेवा समिति मेचीनगरका अध्यक्ष सुभाष मुरारका, समाजसेवी राजेश बंशल, मारवाडी युवा मञ्च मेचीनगरका अध्यक्ष ललित अग्रवाल, मारवाडी महिला मञ्चकी उपाध्यक्ष बसुन्धरा जैन, समाजसेवी सुनिल जैन, नीतु अग्रवाल लगायत विद्यालयका शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
यस अघि मारवाडी महिला मञ्च मेचीनगरले धुलावारी मोडस्थित रिक्सा एवम् सफारी स्टेन्डमा शुद्ध पिउने पानी उपलब्ध गराउनका लागि २० हजार रुपैयाँको लागतमा धाराको व्यवस्था गरिदिएको थियो ।