महिलाले हलो जोत्ने गाउँ

  प्रकाशित मिति
८ फाल्गुन २०७२, शनिबार ०५:५६


blIf0fL Onfdsf] dxdfO{–% v}/]gL ufpFsL $# jif{sL k~rdfof kmfuf] ;fFjf ds} 5g{ v]tdf afFemf] km'6fpFb} . …dlxnfn] xnf] hf]Tg] ufpFÚsf] ¿kdf kl/lrt v}/]gLdf klxnf] k6s cgp ;dfpg] dlxnf x'g k~rdfof . tl:a/M rGb|snf e08f/L÷emfkf,/f;;

महमाई (इलाम)। दक्षिणी इलामको महमाई–५ खैरेनी गाउँकी २६ बर्षीया रुपा राई फागुन यता हरेक विहान दुई नानीलाई स्कुल पठाए पछि गोरु नारेर हलो जोत्न हतारिन्छिन् । ४ र ६ बर्षका दुई छोराछोरीलाई खाना खुवाएर स्कुल पठाउने उनको पहिलो काम हो । त्यसपछि हलो र जुवा बोकेर उनी घर नजिकैको खेततिर लाग्छिन् । जहाँ उनले दिउँसो अवेलासम्म बारी जोत्नु पर्छ ।

खैरेनीकै हरिमाया सुब्बा र फुलमाया फागो पनि विहान बिहान हलो जोतिरहेका भेटिन्छन् । घरको काम सकाएर खेत जोत्न जानु खैरेनी वस्तीका हरिमाया र फुलमाया जस्तै थुपै्र महिलाको नियमित कर्म हो । दानावारीबाट लारुम्वा जाने बाटो छेउमै पर्ने दक्षिणी चुरे पहाडको यो समतल भूभागमा रहेको सुन्दर वस्तीमा १० घर छन् । यहाँको सबै घरका कोही न कोही महिला हलो जोत्ने गर्छन् ।

‘महिलाले हलो जोत्ने गाउँ’को रूपमा परिचित खैरेनीमा पहिलो पटक अनउ समाउने महिला पञ्चमाया फागो साँवा हुन् । हाल ४३ बर्षकी पञ्चमायाले १८ बर्षको उमेरमा हलो जोत्न सिकेकी थिइन् । बर्षौसम्म हिउँद बर्खै हलो जोतेकी उनले त्यसबेला बाध्यताले नै यस्तो काममा लाग्नु परेको बताइन् ।

उनले माइतीमा रहँदा नै अनउ समाउनु प¥यो । बुवा नरसिंह फागोलाई प्यारालाइसिस बिमार लागेपछि फागो परिवारमा जीविकाको एक मात्र पेशा ‘खेतीपाती’लाई अघि बढाउनु पर्ने जिम्मेवारी पञ्चमायाको काँधमा आइलाग्यो । ‘किनकि हाम्रो घरमा छोराको जन्म भएकै थिएन’, उनले हलो जोत्नु पर्नाको कारण लोकतन्त्र पोस्टलाई सुनाउँदै भनिन् ।

२५ बर्ष पहिलेको कुरा थियो यो । बिरामी नरसिंह फागोका ५ पत्नी र ६ छोरी घरमा थिए । हलो जोत्ने कर्मका लागि बावुको विरासत सम्हाल्ने छोरा मान्छे घरमा नभएपछि जेठी छोरी भएको हैसियतले पञ्चमायाले नै खेतीपातीको बोझ उठाउने हिम्मत गरेकी थिइन् । खैरेनी वस्तीमा कामदार (हली) पाउन मुश्किल थियो । अरुतिर पनि हली काम गर्ने मान्छे नपाए पछि उनले आफ्नो खेत आफै जोत्न थालिन् । त्यसबेला उनले हलो जोत्दा गाउँमा अचम्मै भएको ठानिएको थियो ।

खैरेनीमा धेरै बर्षसम्म हलो जोत्ने महिला पञ्चमाया मात्र भइन् । पुरुषले मात्र हलो जोतेको देख्दै आएका अरु महिला पनि पञ्चमायाको साहसबाट प्रभावित भए । अहिले यो वस्तीमा नियमित हलो जोत्ने महिलाको सङ्ख्या १० नाघेको छ । हलो जोत्ने सिप त अरु थुप्रै महिलाले पनि सिकेका छन् ।

खैरेनीकै रुपा राईका पति ४ बर्ष अघि वैदेशिक रोजगारीमा कतार गए । रुपाले १० कठ्ठा खेतबारी सम्हाल्नु पर्ने भयो । खेत जोत्ने मान्छे नपाउँदा उनी पनि हैरान भइन् । ‘पञ्चमाया दिदी आफैले हल नारेको दृश्य आँखामा झलझली आयो’, रुपाले हलो जोत्न सुरु गर्दा ताकाको घटना सुनाउँदै लोकतन्त्र पोस्टसँग भनिन्, ‘अनि मैले पनि आफै हलो जोत्ने निधो गरेँ ।’

रुपाले घरमा एक माउ गाई र केही सँगुर पालेकी छन् । हलो जोत्ने गोरु चाहिँ उनले पालेकी छैनन् । दैनिक ३ सय रुपैयाँ दाम तिर्ने शर्तमा उनले गाउँबाटै गोरु ल्याएकी छन् । खाना पकाउने र नानीलाई स्कुल पठाउने काम गर्दागर्दै उनको विहान बित्ने गरेको छ । ९ बजेपछि दिउँसो अबेलासम्म उनी ‘ह ह तारे, ह ह माले’ भन्दै हलो जोत्न व्यस्त हुन्छिन् ।

रुपाले पति विदेश गए पछि हलो जोत्न थालेको खुलस्त बताइन् । खैरेनी वस्तीमा उनकै जस्तो हलो जोत्ने पौरखी महिलाको सङ्ख्या धेरै छ ।
भएका युवा विदेश गएपछि गाउँमा महिला, बुढापाका र केटाकोटी मात्र बाँकी रहेको बताउँछन् स्थानीय भवानी साम्वा ।

‘लोग्ने मान्छे विदेश गएका छन्, खेती नगरी खाने अर्को माध्यम छैन’, स्थानीय महिलाको दैनिकी सुनाउँदै भवानी भन्छन्, ‘खेताला पाइन छाडेपछि महिलाहरू आफै हल नार्न थाले ।’

यसै साता खैरेनीमा हलो जोत्दै गर्दा भेटिएकी अर्की महिला फुलमाया फागोले ‘माइतीमा काम सघाउन आएको’ बताइन् । काखमा दुधे छोरा हुर्काइरहेकी फुलमायाका पति पनि बैदेशिक रोजगारीमै गएका छन् । माइतमा बुवा विरामी भएको हुँदा खेत जोत्ने काम सघाउन उनी केही हप्ताका लागि खैरेनी आएको बताउँछिन् ।

खैरेनी वस्तीमा हाल पुरुषभन्दा तेब्बर सङ्ख्यामा महिला छन् । नवयुवक र वयस्कहरू बैदेशिक रोजगारीमा गएका र केही जागिर एवम् व्यापारको सिलसिलामा सहरतिर छन् । पाका पुरुषहरू अधिकांश विरामी छन् ।

फुलमायाका ७१ बर्षीय वुवा लामो समयदेखि विरामीले थलिएका छन् । गाउँका ६२ बर्षीय अग्निप्रसाद योक्पाङ्देन पनि नसाका विरामीले थलिएका छन् । अर्का वृद्ध बोलीहाङ तुम्वापो, ६३, बोन टिवीले विरामी परेका छन् । गाउँमा रहेका पुरुष भनेका बृद्धहरू नै हुन्, जो अधिकांश छन् ।

खैरेनी वस्ती माई खोला किनारमा छ । फाँटिलो र उर्वर खेतमा यहाँ धान, मकै, गहुँ र तरकारी बालीको खेती हुने गरेको छ । यतिबेला मकै छर्नका लागि खनजोतको चटारो छ गाउँमा । विहान यहाँ खेतैभरि महिलाले हलो जोतिरहेको भेट्न सकिन्छ ।

हलो जोत्दा खासै गाह्रो नलागेको हरिमाया सुब्बा बताउँछिन् । ‘गोरु बद्मास परे भने चाहिँ अलि गाह्रो हुन्छ’, खेत जोत्दाको अनुभव सुनाउँदै हरिमाया भन्छिन्, ‘बाँझो माटो जोत्दा अलि परिश्रम पर्दोरहेछ ।’

पुरुषले हलो जोत्दा महिलाहरू खाजा पु¥याउन जाने चलन सबैतिर छ । तर यहाँका महिला चाहिँ खाजा खाएरै मेलामा जाने गरेका छन् । घरको धन्दा सकेर मात्र आफु हलो जोत्न जाने गरेको रुपा बताउँछिन् ।

स्कुले नानीलाई पकाउने, खुवाउने र पढाउने सबै जिम्मेवारी यहाँका महिलाको काँधमा रहेको फुलमायाले बताइन् । हिउँदमा मकै छर्ने बेला होस् वा बर्खामा धान रोप्ने बेला, खैरेनी वस्तीका खेतमा खेत जोतिरहेको अवस्थामा पुरुष होइन, महिला देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: