महिला अधिकारका लागि मिडिया

  प्रकाशित मिति
२९ मंसिर २०७२, मंगलवार ०६:०६


ambikaआजको युुुुुुग सञ्चारको युग हो । व्यक्तिगत र आम सञ्चारका लागि प्रविधिले नयाँ नयाँ साधनको विकास गरेको छ । २००७ साल अघि नेपालमा आफ्नै रेडियो प्रशारण थिएन । २०४१ साल अघि आफ्नै टेलिभिजन थिएन । गोरखापत्रले चाहिँ धेरै पहिलेदेखि नेपालमा पत्रिकाको खाँचो पुरा गर्दै आएको थियो । आवा (आकाशवाणी) हुँदै टेलिफोन प्रचलनमा आयो, अहिले सबैका हात हातमा मोवाइल फोन छन् ।

मानिसको जीवनमा आम सञ्चारको माध्यम अर्थात मिडिया अलग्याउनै नसकिने गरी गाँसिन पुगेको छ । ज्ञानेन्द्र शाहले राजा भएका बेला कार्यकारी शासन हत्याउन सबैभन्दा पहिले मिडियामा धावा बोलेका थिए । उनले स्वतन्त्र मिडियालाई घाँटी निमोठ्दै आफ्नो स्वार्थ अनुरुप चलाउन खोजेका थिए । त्यसबेला उनले एक साता सारा सञ्चार जगत अवरुद्ध गर्दा मानिसहरू उकुसमुकुस भएका थिए ।

मिडिया भन्नासाथ आम सञ्चारका माध्यमहरू पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन मिडिया बुझिन्छ । यी सबै माध्यमको बेग्ला बेग्लै र विशिष्ट महत्व छ । माध्यम जुनसुकै होस्, त्यसले आम मानिसलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरिरहेकै हुन्छ । पठितहरूका लागि पत्रपत्रिका सजिलो होला, तर अपठितहरूका लागि रेडियो उपयोगी हुन्छ । पठित वा अपठित सबैका लागि टेलिभिजन उपयोगी हुन्छ ।

राष्ट्रिय जनगणना अनुसार नेपालमा महिला साक्षरता दर ५७ दशमलव ४ प्रतिशत रहेको छ । जबकि पुरुष साक्षरता ७५ दशमलव १ रहेको छ । शिक्षामै पछाडि पारिएका नेपाली महिलाहरूको सामाजिक चेतना अभिवृद्धि गराउन मिडियाले सशक्त भूमिका निर्वाह गरेको छ ।

पढेर, सुनेर र हेरेर मानिसहरू मिडियाबाट जानकारी लिन्छन् । इन्टरनेटको माध्यमबाट सञ्चालन हुने अनलाइन मिडियामा पढ्ने, सुन्ने र हेर्ने तिनवटै विशेषता पाइन्छ । खबर सुन्न पहिलेपहिले मानिसहरू एउटा गाउँमा रहेको एउटा रेडियो वा टेलिभिजनमा झुम्मिन्थे । आजभोलि हातमा भएको मोवाइलमा संसारकै सबै मिडिया अटाएको हुन्छ, मनखुशी खबर हेर्न र सुन्न सकिने भएको छ ।

मिडियाको चमत्कारिक फड्कोसँगै यसले सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याएको छ । मिडियाले मानिसको चेतनास्तर उकास्न पु¥याएको योगदान हेर्न टाढा गइरहनु पर्दैन । नेपालको दलित, महिला, आदिवासी, जनजाति आन्दोलनको सफलताका पछाडि मिडियाको अह्म भूमिकालाई कसैले नकार्न सक्दैन ।

नेपाली मिडियामा महिलाको हक, हित र अधिकारका विषयले उल्लेखनीय स्थान पाइरहेको छ । २०४६ सालमा प्रजातन्त्र पुनर्वहाली भए पश्चात मिडियाको विकासले तीव्रता पाएको हो । सँगसँगै महिला अधिकारका विषय मिडियामा छाउन थालेका हुन् । पत्रिकाहरूमा महिला आफैले लेख लेख्न थाले भने रेडियो र टेलिभिजनमा महिला जागरणका कार्यव्रmमहरू सञ्चालन भए । यो सिलसिला अझै पनि जारी छ ।

महिलाको राजनीतिक अधिकार स्थापित गर्न, लैङ्गिक बिभेद हटाउन, सामाजिक हैसियत पुरुष समान बनाउन, शिक्षाको पहुँच बढाउन मिडियाले ठूलो भूमिका निर्वाह गरेको छ । देउकी, छाउपडी, बोक्सी जस्ता कुप्रथा हटाएर महिलालाई सामाजिक न्याय दिलाउन र महिलामैत्री कानून निर्माण गर्न मिडियाले सघाएको छ ।

पुरातन सोच अनुसार नेपाली दलित र महिलाले दोस्रो दर्जाको नागरिकको रुपमा बिभेदपूर्ण जीवन जिउन बाध्य हुनु परेको थियो । छोरीलाई अर्काको घर जाने जात भनेर शिक्षाबाटै बञ्चित गरिनाले आज पनि महिला साक्षरता पुरुषको तुलनामा ज्यादै न्यून छ । पुरुषबाट हुने घरेलु हिंसा र यौन हिंसालाई न्यूनीकरण गर्न र दोषीमाथि कडा कानूनी दण्डको व्यवस्था गर्न समेत मिडियाले दवावमूलक भूमिका निर्वाह गरेको सर्बविदितै छ ।
महिलाहरूको पहिचान, अधिकार र स्वाभिमानको आन्दोलनमा नेपाली मिडियाको जहिल्यै सकारात्मक सहयोग रहँदै आएको छ । जसको पछिल्लो नमुना संविधानमा महिलाको हक स्थापित गराउने सन्दर्भमा समेत पाउन सकिन्छ ।
नेपालको संविधान २०७२ निर्माण व्रmममा आमाको नामबाट नागरिकता पाउने कि नपाउने भन्ने विषयमा एउटा वहस उत्कर्षमा थियो । संविधानको प्रारम्भिक मस्यौदामा बाबुको पहिचान बेगर नागरिकता दिन नमिल्ने प्रावधान राखिएपछि महिलाहरूले त्यसमा आपत्ति जनाए ।

१० महिनासम्म गर्भमा जसले बोकेर सन्तान जन्माउँछन्, उसैलाई आफ्नो नामबाट नागरिकता दिलाउने अधिकार नहुनु प्राकृत अधिकारमाथिको हस्तक्षेप थियो । यो मुद्दालाई नेपाली मिडियाले जुरुक्कै बोक्यो र आमालाई नागरिकता दिलाउने अधिकार नदिलाएसम्म वकालत गरिरह्यो । यसैको परिणामस्वरुप नयाँ संविधानमा नागरिकता सम्बन्धी हकमा महिलाको पहिचान र अधिकार सुरक्षित हुन पुग्यो ।

नेपालमा लामो समयसम्म सामन्ती एवम् पितृ सत्ता कायम रह्यो । राणाकालमा मात्र होइन, पञ्चायती शासनकालसम्म पनि महिलाहरू अपबादबाहेक राजनीतिक अधिकारबाट वञ्चित थिए । त्यसबेला अहिलेको जस्तो मिडियाको विकास नभएका कारण शासकहरूले तानाशाही चलाउँथे । जब जनजनमा मिडियाको पहुँच बढ्न थाल्यो, गाउँ देहातमा पत्रिका, रेडियो र टिभीको माध्यमबाट सर्वसाधारणले न्याय, समानता र अधिकारका वास्तविक जानकारी पाउन थाले, तब समाजमा नवजागरण पैदा भयो । त्यसैकारण मिडियाको बलमा नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएको मानिन्छ ।

महिलालाई राज्यका सबै तह र तप्कामा जनसङ्ख्याको समानुपातिक आधारमा आधा हिस्सा प्रतिनिधित्व सुनिश्चित गर्न माग भए पनि ३३ प्रतिशतभन्दा ज्यादा अधिकार दिलाउन सकिएको छैन । शिक्षा, सम्पत्ति, नागरिकता, रोजगारी, स्वास्थ्य लगायतका विषयमा महिलाले अझै धेरै सङ्घर्ष गर्न बाँकी नै छ ।
मिडिया एउटा साधन हो, जसको सदुपयोगले महिलाको व्यक्तिगत वा समूहगत सशक्तिकरणमा सकारात्मक प्रभाव पार्न सक्छ । तर धेरै जसो महिला मिडियाको पहुँचबाटै टाढा छन् । जो मिडियाको नजिक छन्, उनीहरूले त्यसको फाइदा लिन सकेका छन् । तसर्थ मिडियाको भरपूर लाभ उठाउने सन्दर्भमा आम महिलाको अझै बढी ध्यान जान जरुरी देखिन्छ ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार हेर्ने हो भने नेपालमा ५१ प्रतिशतले रेडियो, ३६ प्रतिशतले टेलिभिजन, १९ प्रतिशतले केवल टेलिभिजन, ३ प्रतिशतले इन्टरनेट, ७ प्रतिशतले टेलिफोन, ६५ प्रतिशतले मोवाइल फोनमा पहुँच राख्छन् ।

मिडियामा महिलाको पहुँचका बारेमा अनुसन्धान भएको पाइँदैन । तथापि उनीहरूको पहँुच ज्यादै न्यून रहेको अनुमान गरिएको छ । पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने र टेलिभिजन हेर्ने विषयमा महिलाले ध्यान दिन सके अहिलेको अवस्थामा अझ सुधार हुन सक्ने अपेक्षा गर्न सकिन्छ ।

मिडियाकर्मीका रुपमा हाल महिलाको प्रवेश बढ्दो छ । यो निकै सुखद् पक्ष हो । किनभने महिला सञ्चारकर्मी आफैले आफ्नो समुदायको पीडा, समस्या बढी बुझेका हुन्छन् । कतिपय जिल्लामा माहिलाहरूले मात्र पत्रिका र रेडियो चलाउन थालेका छन् । यसबाट महिला सशक्तिकरणको आवाज बुलन्द गर्न झनै सजिलो भएको छ । मिडिया सम्बद्ध सङ्घ संस्था समेत बढ्दै गएका छन् ।

वास्तवमा मिडिया भनेकै शिक्षा र चेतनाको सबैभन्दा सशक्त हतियार हो । यसको प्रयोग महिलाले गर्नै पर्छ । महिलाको राजनीतिक, सामाजिक र अन्य सबैखाले अधिकारका लागि आवाज उठाउँदै आएका अगुवा महिलाले मिडियासँग मैत्रीपूर्ण सम्बन्ध बनाऔँ । सामाजिक रुपान्तरणमा मिडियाको प्रयोग अझैँ बढाऔँ । हालसम्म जे जति अधिकार महिलाले पाउन सकेका छन्, त्यसमा मिडियाको भूमिका महत्वपूर्ण रहेको छ । महिलाको न्याय, समानता, पहिचान र स्वाभिमानको आन्दोलनमा मिडियाको अझ बढी सदुपयोग गर्नेतर्फ ध्यान दिनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: