धुलाबारी । महिलाको क्षमता विकासमा क्रियाशील संस्था समाज सुधार महिला समूह मेचीनगरले मङ्गलबार छ जना अगुवा महिलालाई सम्मान गरेको छ ।
मेचीनगर–९, खुट्टिडाँगीमा आयोजित सिलाई कटाई समापन तथा सम्मान कार्यक्रममा महिलाको क्षेत्रमा लामो समयदेखि आवाज उठाउँदै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा माया गुरुङ, कृष्णकुमारी उप्रेती, राधादेवी कठेत, गङ्गादेवी रोक्का, सरस्वती सिटौला र अम्बिका भण्डारी छन् । सम्मानित भएकाहरु लामो समयदेखि महिला आन्दोलनमा सक्रिय छन् । त्यसमध्ये गुरुङ पञ्चायतकालदेखि अहिलेसम्म महिला आन्दोलनको नेतृत्वदायी भूमिकामा क्रियाशील महिला हुन् ।
महिला सशक्तिकरणमा बुलन्द आवाज उठाउने अगुवाहरुलाई उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको संस्थाकी अध्यक्ष सङ्गीता थापाले बताइन् । उनीहरुलाई सम्मानपत्रसति दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष सङ्गीता थापाको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख मीना उप्रेती, वडा नं ९ का वडाध्यक्ष गोपाल खड्का, संस्थाकी संस्थापक अध्यक्ष लक्ष्मी कटुवाल, सम्मानित महिला माया गुरुङलगायतले बोलेका थिए ।
कार्यक्रममा महिला नेत्रृ रेणुका डाँगी, जानुका ओली, मीरा पोखरेल, मीना बस्नेत, राधा तिम्सिना, मञ्जु प्रधानलगायतको आतिथ्यता रहेको थियो । संस्थाकी
सदस्य प्रतिक्षा पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मञ्जु कट्टेलले गरेकी थिइन् ।
मेचीनगरको पुरानो संस्था मध्ये एक समाज सुधार महिला समूहले महिलाको क्षमता विकासका लागि विभिन्न सरकारी तथा गैर सरकारी निकायको आर्थिक सहयोगमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । मेचीनगर नगरपालिका र वडा नं ९ को आर्थिक सहयोगमा महिलालाई सिलाई कटाई तालिम दिइएको संस्थाकी अध्यक्ष थापाले जानकारी दिइन् ।