महिला नठगिऊन् भनेर प्रशासनमै परामर्श

  प्रकाशित मिति
९ असार २०७३, बिहीबार ११:१६


manab-bechbikhan_20140927114105

‘ए दिदी ! यता आउनुस् त, के तपाईँ पासपोर्ट बनाउन आउनु भएको हो ?’ झापा जिल्ला प्रशासन कार्यालयको गेटबाट भित्र छिर्ने बित्तिकै आफूतिर आएको अनपेक्षित प्रश्नले शान्ति नगरबाट पासपोर्ट बनाउन आएकी रसना गुरुङ एक छिन अलमलमा परिन् ।

‘मैले बोलाएको हो । के कामले आउनु भएको हो भनेर सोधेको नि !’ अपरिचित महिला आत्मीय भावमा फेरि बोलेपछि रसनाले आफू इजरायल कामका लागि जाने योजनाका साथ पासपोर्ट बनाउन आएको बताइन् ।

रसनालाई प्रशासनको गेटमै केर्ने ती महिला माइती नेपालकी कर्मचारी सारथी राजवंशी हुन् । वैदेशिक रोजगारीमा जानका लागि पासपोर्ट बनाउन आउने महिलालाई परामर्श दिन माइती नेपालले उनलाई परामर्श दाताको रूपमा प्रशासन कार्यालयमै खटाएको हो ।

रसना जस्ता थुप्रै महिलासँग उनी प्रशासन कार्यालयको परिसरमा दिनहुँ भलाकुसारी गर्छिन् र विदेश यात्राको बारेमा सावधान गराउँछिन् । उनको निगरानीका कारण कतिपय महिला वैदेशिक रोजगारीको नाममा दलालका फन्दामा पर्नबाट जोगिएका पनि छन् ।

माइती नेपालले ६ महिनाअघि यस्तो परामर्श सेवा सुरु गरेको संस्थाका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । संस्थाले प्रशासनमा निःशुल्क हेल्प डेस्क खडा गरेको छ । प्रशासनले १० नम्बर कोठामा हेल्प डेस्क राख्न दिएको छ ।

कतिपयलाई सारथी ‘एकछिन भित्र जाऔँ न’ भनेर अनुरोध गर्दै कोठामा लिएर जान्छिन् र सुरु गर्छिन् वैदेशिक रोजगारमा जाँदा दलालको फन्दाबाट बँच्ने कुरा । विदेश जाँदा आपत आइलागेमा काम लाग्ने नेपाली राजदूतावास, माइती नेपाल र विभिन्न महत्त्वपूर्ण निकायको फोन नम्बर भएको पर्चा थमाउँदै सारथी सम्झाउँछिन्, ‘यो विदेश जाँदा सुटुक्क बोकेर लानु आपत पर्दा काम लाग्छ ।’

वैदेशिक रोजगारमा जाने महिलाको सङ्ख्या दिनानुदिन बढेको र दलालको फन्दामा परेर अलपत्र पर्नेको सङ्ख्या पनि उत्तिकै बढ्न थालेपछि माइती नेपालले जिल्ला प्रशासन कार्यालयमै परामर्श डेक्स स्थापना गरेको संयोजक घिमिरेको भनाइ छ ।

सारथी दैनिक १० देखि १५ जना महिलालाई पासपोर्ट बनाउन आउँदा वैदेशिक रोजगारीका सम्बन्धमा परामर्श दिन्छिन् । भारतीय बाटो हुँदै विदेश पठाउन खोज्ने दलालहरूबाट बँच्न सारथीको परामर्श धेरै महिलाका लागि उपयोगी भएको छ ।

दलालले भारतीय बाटो भएर गैर कानुनी ढङ्गले विदेश पठाउने घटना बढेपछि त्यसलाई रोक्नसमेत माइती नेपालको परामर्श सेवा प्रभावकारी भएको घिमिरे बताउँछन् । सारथीका अनुसार पासपोर्ट बनाउन आउने सबै महिला परामर्श लिन मान्दैनन् । उनीहरू आँफै पढालेखा भएको र आफू जान लागेको कामको बारेमा पूर्ण जानकारी भएको भन्दै परामर्श लिन हच्किने गरेका छन् । तर सारथीले फकाएर कुरा गर्न थालेपछि उनीहरू ‘बल्ल थाहा भयो’ भन्दै खुसी हुने गरेका छन् ।

‘हाम्रो आवाजः चेलीबेटी बेच बिखनबाट मुक्त समाज’ लेखिएको ब्यानर नै राखेर जिल्ला प्रशासन कार्यालयको १० नम्बर कोठामा बसेकी आरती भन्छिन्, ‘विदेश जाँदा अप्ठ्यारोमा नपरून् भन्ने हाम्रो परामर्शको मुख्य उद्देश्य हो ।’

प्रशासनले साथीलाई कोठा उपलब्ध गराएको एक महिना मात्र भएको छ । त्यसअघि उनी प्रशासन कार्यालयको परिसरमै बसेर सल्लाह सुझाव दिने काम गर्थिन् । गेटमै बसेर कुरा गर्न महिलालाई अप्ठ्यारो भएपछि प्रमुख जिल्ला अधिकारीसँग कुरा गरेर माइती नेपालको हेल्प डेस्क कार्यालयकै कोठामा सारिएको हो ।

पासपोर्ट बनाउन आउने महिलाहरू १८ देखि ४० वर्षसम्मका हुने र कतिपयले अक्षर नै नचिन्ने उनी बताउँछिन् । अबैध बाटोबाट विदेश लैजानेहरू नै ती निरक्षर महिलाको पासपोर्ट बनाइ दिन प्रशासन धाउने पाइएको समेत सारथी बताउँछिन् । तर त्यस्ता दलालहरू पव्रmाउ परिने डरले लुकीछिपी बस्ने गरेका छन् ।

प्रशासनका सबै कर्मचारीबाट सहयोग पाएको सारथी सुनाउँछिन् । उनी आवश्यकताअनुसार प्रशासनबाट सल्लाह लिन्छिन् । प्रशासनका सबै तहका कर्मचारीले उनको काममा सघाउने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले माइती नेपालको हेल्प डेस्क प्रभावकारी भएको जनाएको छ ।

विदेश जानेहरूलाई रोक्न नसकिने तर कानुनी र सुरक्षित तवरले जान सल्लाह दिन सक्दा जोखिम न्यूनीकरण हुने संयोजक घिमिरेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: