महिला पुरुषमा असमान व्यवहार

  प्रकाशित मिति
२६ माघ २०७४, शुक्रबार १०:१५


हाम्रो समाजमा अचेल नारी पुरुष समान अवस्थामा पुगिसके, अब लैङ्गिक विभेदका कुरा आवश्यक छैनन् भन्ने बहसहरु बेला बेला सुनिन्छ । वास्तवमा हिजो जुन अवस्था थियो, आज सोच, विचार र व्यवहार धेरै परिवर्तन भएको छ, तथापि केही यस्ता असमान व्यवहारहरु छन्, जुन संस्थागत भएर हाम्रो समाजलाई जकेडिरहेका छन् ।

जस्तोकी श्रीमतीको बहिनी साली भन्ने बित्तिकै एक रोमाञ्चक सम्बन्धको रुपमा लिइन्छ । ‘साली आधा घरवाली’ भन्ने त उखान नै छ । कतिले त साली बिहे नै गरेका छन् । कतिपय अवस्थामा केटी पक्ष आफैँ सालीको बिहे भिनाजुसँग गराउन बल गर्छन् । त्यसैले दिदीले बेला बखत बहिनीलाई शङ्का गर्नुपर्ने, श्रीमान र बहिनी खुलेर हाँस्दा, बोल्दा इष्र्या पैदा हुनेसम्मको हाम्रो सामाजिक अवस्था छ । मनोवैज्ञानिक कथा ‘भिनाजुको स्वीटर’ मा कथाकार पोषण पाण्डेले यही मनोदशालाई कलात्मक ढङ्गले पस्किएका छन् ।

जसरी श्रीमतीकी बहिनी साली हुन्छे, त्यसरी नै श्रीमानको भाई देवर हुन्छ । जसरी देवरका लागि भाउजु आमा समान मानिन्छ, त्यसरी नै सालीको लागि भिनाजु किन बाबु समान हुँदैन ? यी दुबै पट्टिका नाताको सम्मान बराबर र उस्तै हुनु पर्ने होइन र ?

प्राय विवाहबारीमा केटीको उमेर केटाको भन्दा कम हुनै पर्छ । यो कतै नलेखिएको तर स्थापित सत्य हो । आफुभन्दा कान्छी श्रीमती र उसकी पनि बहिनी अझ कान्छी, वास्तवमै बाबु छोरीको सम्बन्ध र जिम्मेवारी हुनुपर्ने हो ।  एकजना मेरा पुरुष भाई मित्रलाई मैले गफैगफमा सोधेँ, ‘मेरो नजरमा एकजना पढेलेखेकी योग्य केटी छिन् । तर तपाई भन्दा त्यस्तै १० वर्ष जतिकी होलिन् । के तपाई बिहे गर्न सक्नु हुन्छ ?’

ती भाइ मित्र त तर्सिएर एकैचोटी पाँच हात जति पर पुगे । उनको अनुहारको भाव यस्तो थियो कि मैले कुनै अपराध बोलेकी थिएँ । मैले नबुझे झैँ गरेर भने ‘किन र भाई ? तपाई त १०÷११ वर्ष कान्छी केटीहरुसँग कुरा चलाउँदै हुनुहुन्छ त होइन र ?’

उनले एक स्वासमा भने, ‘केटा र केटीको कुरा अलग हो । फेरि केटीहरु त खुसीसाथ १०÷११ वर्ष जेठो केटासँग बिहे गर्न राजी हुन्छन् नि त ।’ यसपछि मैले मनमनै भने, ‘केटा र केटीको कुरा कसरी÷किन अलग ?’ उही मान्छे, उही मन, जन्ममरण फरक चाँहि किन त ? अर्काे रह्यो, खुसीसाथ धेरै वर्ष जेठो केटाससँग बिहे गर्ने कुरा । अछामका महिला कानुनले बर्जित गरेको छाउ घरमा खुसीसाथ बस्दछन् । के त्यसो भए खुसीसाथ अपनाइएको त्यो छाउपडी प्रथा पनि सही नै हो त ? खुसीसाथ हुँदैमा गलत सही हुँदैन । ७० वर्षको बढो बाहुनसँग ७ वर्षकी गोमाको विवाह गरिदिएको धार्मिक ग्रन्ध पढ्दै हुर्किएको हाम्रो समाजको यो सोच बदलिनु पर्छ । श्रीमान श्रीमती साथी साथी बन्न मिल्दो उमेर नै उपयुक्त हो ।
कुनै पुरुष आफु महिलाका घरमा विवाह भई गएको कल्पना गर्न सक्दछन् । यो हरफ तपाई पुरुष पढ्दै हुनुहुन्छ भने अवश्य तपाईको आङ जिरिङ भयो होला है ? हो, यहि तपाईले कल्पनासम्म गर्न नसकेको कुरा महिलाले अपनाएका छन् व्यवहारमा ।

१ सय २५ जातजाति भएको हाम्रो देशमा आआफ्नै संस्कृति छन् । तथापि समग्रतामा पितृ सतात्मक प्रवृत्ति उस्तै उस्तै छन् । छोरी पक्षका अभिभावकले जहिले पनि सानो हुनु पर्ने र केटा पक्षलाई रिझाउनु पर्ने असमान परम्परा विधमान छ । कुनै नारी पुरुषको मनोमालिन्य भएको कारणले बसेको कचहरीमा एकैछिन उभिएर सुन्नुहोस् कुनै न कुनै कुनाबाट यो भनाइ आउने नै छ । ‘छोरी पक्षकाले अलिकति सानो हुनैपर्छ ।’
तर, किन त्यसको तर्क हुँदैन । यहाँसम्म कि ढोकभेटमा साटासाट गरेको सामान केटी पक्षले लानु हुँदैन । कस्तो आश्चर्य उपहारसम्म बर्जित छ । छोरीको सन्तान नभएसम्म छोरीका घरमा पानीसम्म खानु हुँदैन, तर किन तर्क छैन । यी सब तर्कहीन कुसंस्कारहरु केवल नारीलाई कमजोर, निम्जो, निमुखा बनाउने प्रयत्नका खातिर मात्र हुन् ।

मैले अगाडि भनँे, महिला र पुरुषकाबीच लैङ्गिक विभेद छैन भन्ने बहस चल्दैछन् । त्यो बहसमा कुनै पनि महिलाले त्यो कुरा स्वीकार गरेका छैनन् । त्यसमा तर्क गर्ने व्यक्तिलाई म एउटै मात्र दृष्टान्त दिन्छु । बिरामी भएको मान्छेको दुखाई कम भयो कि छैन भन्ने कुरा दुखाई भोग्ने बिरामीलाई थाह हुन्छ कि छेउमा बसेको बिरामी कुरुवालाई थाहा हुन्छ ? हो जसले भोगेको छ, उसलाई थाहा हुन्छ । त्यसो भए समग्रतामा महिलामाथि दमन, विभेद, अत्याचार हुँदैछ कि छैन ? त्यो भोग्ने महिलालाई थाह हुन्छ, तपाईलाई होइन ।

समग्रतामा हाम्रो समाज यही नै हो विभेदपूर्ण । छोरो जन्मिनु र छोरी जन्मिनुको उत्साह नै फरक । केटापक्ष र केटी पक्षको सम्मान नै फरक । नारी र पुरुषका नातेहरुबीचको सम्बन्ध र व्यवहार नै फरक । तथापि समाज परिवर्तन उन्मुख छ । अब सबै व्यक्ति, घर, परिवार उस्तै छैनन् । अब सोच विचार र व्यवहारहरु अझ परिस्कृत हुँदै जाउन् । सबैलाई खुसी साथ जीवन बाँच्ने अवसर मिलोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: