काँकरभिट्टा । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशका सबै प्रहरी कार्यालयलाई महिला प्रहरीका लागि छुट्टै बाथरुम र चेन्जिङ रुमको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
नेपाल राष्ट्रि«य वाणिज्य सङ्घ झापाद्वारा काँकरभिट्टामा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले त्यस्तो निर्देशन दिएका हुन् ।
‘महिला र पुरुष प्रहरीहरुका लागि एउटै बाथरुम उचित हुँदैन’, उनले भने–‘छुट्टै बाथरुम र चेन्जिङ बनाउन लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने छ ।’
प्रहरीको बस्ने व्यारेक र खाने मेसको अवस्था दयनीय रहेको आफुले पाएको समेत मन्त्रीले चर्चा गरे ।
प्रहरीलाई सुविधासम्पन्न र नागरिकको सेवामा समर्पित बनाउने योजना सुनाएका उनले प्रहरीको सेवा र सुविधामा ठूलै सुधार ल्याइने बताए ।
आम जनतामा शान्ति र अमनचयनको अनुभूति दिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका हुने चर्चा गर्र्दै मन्त्री कार्कीले प्रहरीलाई ‘नागरिकको साथी’को रुपमा रुपान्तरण गरिने बताएका छन् ।
समाजमा अपराध न्यूनीकरण र शान्ति सुरक्षाको ग्यारेन्टी गरिने जनाउँदै उनले विर्तामोड र उर्लावारीमा सुन व्यवसायीद्वय सरल शाक्य र साजन मुखियाको हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरे ।
दुबै घटनाका दोषीहरु पक्राउ भइसकेको र आफ्नै साथीहरुबाट उनीहरुको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले नेपाल राष्ट्रिय वाणिज्य सङ्घको प्रदेश संयोजक उमेश पौडेल, कोषाध्यक्ष रोशन अग्रवाल, सदस्यहरु भीष्म खरेल, राजकुमार श्रेष्ठ र भरत चम्लागाईलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए ।
सङ्घका जिल्ला कार्यवाहक अध्यक्ष पर्वत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगरकी उपप्रमुख मीना उप्रेती, प्रदेश संयोजक उमेश पौडेल, देबकुमार राई, बन्धनकुमार मुण्डा, ज्ञानेन्द्र घिमिरे, राजु कार्की र सुभद्रा भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)