महिला सशक्तिकरणमा सहकारी

  प्रकाशित मिति
४ बैशाख २०७३, शनिबार ०५:२५


gyanendra niraulaविर्तामोड ४ बैशाख । झापाका महिलाहरू सहकारी संस्थाको माध्यमबाट सबल र सक्षम बन्दै गइरहेका छन् । सहकारी संस्थाले उनीहरूको जीवनमा आमूल परिवर्तन गरेको छ । झापाका सहकारीहरूमा महिलाको सक्रियता र सहभागिता रहरलाग्दो छ । झापामा महिलाहरू सहकारी संस्थामा आबद्ध हुने क्रम दैनिक बढिरहेको छ ।

सहकारीमा महिला सङ्ख्या बढेसँगै झापामा महिलाको क्षमता विकासमा समेत सहकारी संस्थाले महत्वपूर्ण योगदान गरिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार झापामा ८ सय ५४ सहकारी संस्था सञ्चालनमा छन् । जसमध्ये १ सय ३६ वटा सहकारी संस्था महिलाहरूले मात्र सञ्चालन गरेका छन् ।

महिलाहरूले सहकारी संस्था सञ्चालन गर्न थाले पछि उनीहरूमा नेतृत्व क्षमताको समेत विकास भएको छ भने सामाजिक गतिविधिमा पनि महिलाहरूको क्रियाशिलता बढेर गएको छ । झापामा महिलाहरूले सञ्चालन गरेको सहकारी संस्थामा १६ हजार ९ सय ९० जना शेयर सदस्य छन् भने सञ्चालक सदस्यका रुपमा मात्र पनि एक हजार ६० जना भन्दा बढी महिला सक्रिय रहेको डिभिजन सहकारी कार्यालय झापाको तथ्याङ्क छ । त्यसो त झापामा भएका अन्य सहकारी संस्थाहरूमा समेत महिलाहरूको उल्लेख्य सङ्ख्या देखिन्छ ।

समग्रतामा झापामा सञ्चालित सहकारी संस्थामा महिलाहरूको मात्रै सङ्ख्या एक लाख ४० हजार भन्दा बढी पुगिसकेको छ । कारोबारका हिसाबले पनि महिलाहरूले सञ्चालन गरेको सहकारी संस्था व्यवस्थित रुपमा सञ्चालन भएका देखिन्छन् ।

आर्थिक सबलता नभई परिवारको संरचनामा महिलाहरूले भूमिका खेल्न असजिलो हुने हाम्रो समाजमा सहकारी संस्थाका माध्यमबाट महिलाले आय आर्जनको बाटोलाई फराकिलो बनाउँदै लगेका छन् भने रेमिट्यान्सले चलेका घरहरू पनि रेमिट्यान्सको रकम सहकारी मार्फत नै प्रयोगमा आइरहनुले पनि सहकारी संस्था झापाका महिलाहरूका लागि दैनिक जीवनको नजिकको साथीको रुपमा परिणत हुँदै गएको छ ।

एकै पटक ठूलो पुँजी जम्मा गर्न नसक्नेहरूका लागि त सहकारी संस्था बरदान नै साबित भएका छन् भने सामाजिक संरचनामा पुरुष कै दबदबा रहे पनि ऋण लगानी गर्ने सन्दर्भमा भने महिलाका नाममा लगानी गर्न सहकारी संस्थाहरूले बढी बिश्वास गरेको यथार्थ पनि झापाली समाजमा भेटिन्छ । महिलाको नाममा लगानी गरेको ऋण सजिलै असुली हुने भएकाले पनि महिलाहरूलाई नै ऋण दिन सहज हुने सहकारीकर्मीहरू सुनाउँछन् ।

यसरी हेर्दा आर्थिक पारदर्शिताका हिसाबले पनि झापाली महिलाहरू अगाडि देखिन्छन् । समग्रमा ग्रामीण भेगको आर्थिक कारोबारमा ठूलो हिस्सा ओगटेको सहकारी संस्थाहरूले शिप सिकाएर महिलाहरूलाई स्वरोजगार बनाउन समेत आफ्नो उपस्थिति देखाएको छ । बैदेशिक रोजगारीका कारण पुरुष घर बाहिर रहँदा सहकारीले नै महिलाहरूलाई घर मुली बनाई कारोबार गर्न सिकाइरहेको छ ।

आर्थिक कारोबार आफ्नै हातले गरिरहेका महिलाहरू अन्य महिलाको तुलनामा थप सक्षम र सबल बन्नुले पनि महिला सशक्तिकरणका लागि आर्थिक समृद्धि अत्यावश्यक भएको पुष्टि गर्दछ भने महिलाहरूलाई सहकारी संस्थामा गोलबद्ध गराएर आर्थिक सँगसँगै सामाजिक गतिविधिमा समेत क्रियाशिल बनाउने हो भने सहकारी संस्था महिला हिंसाको अन्त्य र सामाजिक रुपान्तरणको गतिलो साधन बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: