महोत्सवको तयारी पूरा : निर्यात व्यापारमा बढी जोड दिइने

  प्रकाशित मिति
७ पुष २०७६, सोमबार १८:५४


मेचीनगर । भोलिदेखि (बुधबार) सुरु अन्तर्राष्ट्रिय तेस्रो औद्योगिक, व्यापार कृषि तथा पर्यटन महोत्सवले अन्तर्राष्ट्रिय व्यापार प्रबर्धनमा सघाउ पुग्ने जनप्रतिनिधि, उद्योगी÷व्यवसायीले विश्वास व्यक्त गरेका छन् ।

आयोजक मेची उद्योग वाणिज्य सङ्घले सोमबार महोत्सवस्थल धुलाबारीको विजनेस पार्क (कोलोनी) मा आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगी तथा व्यवसायीहरुले महोत्सवबाट अधिकतम् फाइदा लिन सकिने विश्वास व्यक्त गरेका हुन् । त्यसका लागि स्थानीयस्तरमा उत्पादित कृषि उपजका सामाग्री तेस्रो देश निर्यातमा सरकारी तहबाट पहल हुन जरुरी रहेको उनीहरुको भनाई छ ।

पत्रकार सम्मेलनमा मेचीनगर प्रमुख विमल आचार्यले पूर्वी क्षेत्रको व्यापार प्रबर्धनमा महोत्सवले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘यो महोत्सवबाट हामीले थुप्रै फाइदा लिन सक्छौँ,’ उनले भने, ‘पूर्वी नाकाबाट भइरहेको व्यापारलाई उत्साहजनक रुपमा बढाउन सक्ने आधार बन्नुपर्छ ।’ उनले महोत्सवलाई मनोरञ्जनभन्दा पनि व्यापार र पर्यटनसँग जोड्नपर्ने धारणा राखे ।

पत्रकार सम्मेलनमा उपप्रमुख मीना उप्रेतीले महोत्सव सफल पार्न स्थानीय सरकार लागि पर्ने बताइन् । उनले विदेशी पर्यटकलाई आकर्षण गर्न यसखाले महोत्सवले थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । ‘हामी पर्यटन वर्षको सँघारमा छौँ,’ उनले भनिन्, ‘यो बेला पर्यटकलाई लोभ्याउने खालका प्रचारात्मक कार्यक्रमहरुले ठूलो महत्व राख्दछ ।’

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष केशवराज पाण्डेले निर्यात व्यापारका सम्बन्धमा कुरा उठाउने माध्यम महोत्सव बन्नुपर्ने धारणा राखे । नेपालको निर्यात व्यापार खस्किदो अवस्थामा रहेको बताउँदै उनले यसलाई उकास्नका लागि सबै क्षेत्रको सहयोग र पहल जरुरी रहेको बताए ।

‘पूर्वी नाकाबाट निर्यात गर्न सकिने बस्तुहरु सहज ढङ्गले हुन सकिरहेको छैन,’ उनले भने, ‘व्यापार प्रबर्धन गर्न केन्द्र सरकारको नीति र भिजन चाहिन्छ, यसरी व्यापार कसरी उकास्न सकिन्छ ?’ उनले बङ्गलादेशसँगको व्यापार सम्भावना प्रशस्त रहे पनि त्यस अनुरुप काम हुन भने नसकेको बताए ।

पत्रकार सम्मेलनमा मेची उद्योगा वाणिज्य सङ्घका पूर्व अध्यक्ष विजय डालमियाले तेस्रो देशसँगको व्यापार अपेक्षाकृत हुन नसकेको बताए । उनले निर्यात व्यापारका विषयमा मन्त्रालयसँग पटक–पटक छलफल भएपनि कार्यान्वयन हुन नसकेको उनको भनाई छ । ‘हामीले धेरैपटक उद्योग तथा वाणिज्य मन्त्रीलाई भेटेर छलफल गर्यौँ,’ उनले भने, ‘तर मन्त्रीहरु फेरिएसँगै ती योजना अलपत्र पर्ने गरेका छन् ।’

पत्रकार सम्मलेनमा आयोजक मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले महोत्सवको तयारी पूरा भएको जानकारी दिए । उनले महोत्सव स्थलको भौतिक संरचना निर्माणको काम दू्रतगतिमा भइरहेको र आजभित्रमा निर्माण सम्पन्न भइसक्ने बताए ।

अध्यक्ष तिम्सिनाले २१० वटा स्टलहरु बुकिङ भएको साथै राष्ट्रिय कलाकार पनि तय भइसकेको बताए । सङ्घका महासचिव ध्रुव कनालले महोत्सवमा स्टल राख्नेहरुको प्रस्ताव धेरै आइरहेकाले त्यसको व्यवस्थापन गर्न आयोजक समिति लागि परेको बताए ।

पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको छ । महोत्सव अवधिभर व्यापार तथा पर्यटनका विषयमा छलफल पनि गरिनेछ ।

मेचीनगरपालिका संरक्षक र नेपाल उद्योग वाणिज्य महासङ्घको सहकार्य रहेको महोत्सवको लागि मुख्य प्रायोजक रमपम तयारी चाउचाउ रहेको छ भने सह–प्रायोजकमा आइएमइ बैङ्क तथा एघारवटा संस्था सहयोगी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: