महोत्सव, उत्सव र राजनीतिक दल

  प्रकाशित मिति
२२ माघ २०७३, शनिबार १७:२५


gyanendra

झापाको मेचीनगर यतिवेला अन्य स्थान भन्दा फरक ढङगले हुर्किरहेको छ । देशभरि संविधान संशोधन, निर्वाचन र सरकार जस्ता रेडिमेड बिषयहरुले सार्वजनिक भेला र चिया पसलको गफसम्मलाई आर्कषित गरिरहेको बेला मेचीनगरमा भने अनौठो स्फुर्तिले यहाँका नागरिकलाई तरङ्गीत बनाएको छ । मुलुकका बिभिन्न ठाउँमा राजनीतिक दलहरुबिच झैं झगडा र द्वन्द्वका घट्ना सार्बजनिक भइरहँदा मेचीनगरमा भने राजनीतिक दलहरुको रचनात्मक कामले स्थानीय हर्षित भइरहेका छन् । या भनौं हर्ष बिभोर छ यतिवेला मेचीनगर ।

माघ ८ देखि १४ गतेसम्म नेपाली काङ्ग्रेसको आयोजनामा मुलुक मै पहिलो पटक स्वास्थ्य महोत्सव भब्यताका साथ सम्पन्न भयो । करिब २१ हजार स्थानीयले प्रत्यक्ष रुपमा स्वास्थ सेवा लिएको र करिब ५० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गरेको उक्त महोत्सवमा स्वास्थसँग सम्बन्धित बिभिन्न बिषयमा बिषय बिज्ञहरुसँग प्यानल डिस्कसन र खेलकुद, हाजिरीजवाफ तथा साँस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको थियो । प्रत्यक्ष रुपमा आम नागरिकलाई फाइदा पुग्ने काम त्यो पनि गुणस्तीरय स्वास्थ सेवाबाट बञ्चित बनेका दुरदराजका गाउँदेखि बिपन्न समुदायका लागि स्वास्थ्य महोत्सव बरदान नै साबित भयो । राजनीतिक दलका बारेमा भत्किदैँ गएको आम नागरिकको विश्वास फेरि एकपटक स्वास्थ्य महोत्सवले जगाएको छ । राजनीतिक दल सत्ताका लागि मात्र होइन संस्कारका लागि पनि काम गर्छन् भन्ने उदाहरण नै बन्यो स्वास्थ्य महोत्सव । एउटा राजनीतिक दल जसले भाषण बाजी भन्दा पर रहेर आम नागरिकको स्वास्थ्य जस्तो संवेदनशील र अति महत्वपूर्ण बिषयमा रचनात्मक काम गरे पछि समाजमा त्यसको प्रभाव सकारात्मक नै पर्ने निश्चित थियो र त्यो देखियो पनि ।

जसै स्वास्थ्य महोत्सव सकियो तत्कालै अर्को राजनितिक दलका तर्फबाट एउटा रचनात्मक कार्यक्रमको घोषणा भयो । स्वास्थ्य महोत्सव सकिएको दुई दिन पछि नै नेकपा एमालेको तर्फबाट मेचीनगरको धुलाबारीमा आगामी फागुन ९ गतेदेखि ११ गतेसम्म वाल उत्सव गर्ने घोषणाले यो क्षेत्र नै यतिवेला वाल उत्सवको भब्य सफलताको कामनामा लागेको छ । तीन दिनसम्म वालवालिकाहरुको बौद्धिक, साँस्कृतिक र शारीरिक विकासका लागि आयोजना गरिएको वाल उत्सव मुलुकै एउटा नमूना कार्यक्रम बन्न सके यो आयोजक राजनीतिक दलका लागि मात्र होइन आम अभिभावक, सहभागी हुने वालवालिका र समग्रमा यस भेगको समाजको सकारात्मक रुपान्तरणमा कोशे ढुङ्गा बन्न सक्छ । राजनीतिक दलले यस खालका कार्यक्रम पनि आयोजना गर्न सक्दा रहेछन् भन्ने उदाहरण प्रस्तुत गर्न सक्नु पनि स्वास्थ्य महोत्सव र वाल उत्सव जस्ता कार्यक्रहरुको सफलता नै हो । आज राजनीतिक दलहरुप्रतिको आम धारणा जे बन्दै गइरहेको छ ठिक त्यसको विपरित झापा क्षेत्र नं. १ मा दुईवटा राजनीतिक दलले लगातार रुपमा नमूना कार्यक्रम दिनुले राजनीतिक संस्कार बदल्न सके देश विकसित हुन धेरै समय पर्खनु पदैन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेको छ ।

काङ्ग्रेस र एमालेले झापा मेचीनगरमा आयोजना गरिएका महोत्सव र उत्सवको भित्री पाटो राजनीतिक प्रतिस्पर्धा नै हो । यसमा कसैले अरु कुनै कुरा गर्छ भने त्यसलाई पत्याउनु पर्ने जरुरी छैन । तर, के चैं सत्य हो भने प्रतिस्पर्धाको मोडल फेरिएको छ । कसको ठूलो जुलुस र सभा भन्ने दलहरु आज कसको बढी रचनात्मक कार्यक्रम अनि कसको कार्यक्रमले आम नागरिकको बढी मन छुन सक्यो भन्ने तर्फ केन्द्रीत हुनु भनेको यो समाजमा राजनीतिक गर्ने तरिका परिवर्तन हुँदै गएको प्रष्ट बुझ्न सकिन्छ । यो परिवर्तनको श्रेय कसले लिने वा कसलाई दिने भन्ने बिषयमा अल्झने बेला अहिले होइन । अहिलेको बेला त आयोजना जो कसैले गरेको किन नहोस् आम नागरिकको जीवनमा प्रत्यक्ष फाइदा पुग्ने जुनसुकै कार्यमा सबै पक्षले सकारात्मक सहयोग गर्नु नै सबैको हितमा हुनेछ । काङ्ग्रेसको आयोजनामा भर्खरै सकिएको प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सवमा जसरी नेकपा एमाले लगायतका अन्य दलको सहभागिता रह्यो अब एमालेको आयोजनामा हुन गइरहेको वाल उत्सवमा पनि काङ्ग्रेसलगायत अन्य दलको सहभागिता उल्लेख्य हुनु पर्छ । तब मात्र असल राजनीतिक संस्कारको बिकास हुन्छ । नत्र आफ्नो दलले गरेको काममा अरुको सहभागिता चैं खोज्ने तर अरु दलले गरेको काममा भने सहभागिता नजनाउने जस्तो दुसित मानसिकताले असल राजनीति गर्न सकिदैंन ।

राजनीति सत्ताका लागि मात्र होइन असल संस्कारका लागि पनि गर्न सकियो भने त्यो आम नागरिकको मनमा बस्ने राजनीतिक दल र नेता बन्ने निश्चित छ । राजनीतिक दल र तिनका अगुवालाई लाग्दो हो आम नागरिक राजनीतिक दलका भजन मात्र गाउन जान्दछन् । यदि त्यस्तो सोच कसैले राखेको भए तिनलाई थाहा होस् कि अबका नागरिक, दलका कार्यकर्ता भन्दा धेरै चेतना युक्त छन् । आम नागरिकले हरेक पल राजनीतिक दल र तिनका नेताले गरेको काम कारवाहीलाई नजिकबाट नियालिरहेका छन् । जब समय आउँछ नागरिकले आफ्नो अस्त्र प्रयोग गर्छ त्यतिबेला राजनीतिक दलमा ब्याप्त भ्रम चकनाचुर हुनेछ । त्यसैले राजनितिक दल र तिनका कार्यकर्ताले राम्रो काम जसले गरे पनि सहयोगी बन्नु पर्छ । त्यति मात्र होइन राजनीतिक दलभन्दा बाहिर रहेका अन्य सङ्घ संस्थाले गरेका उपयोगी कार्यमा पनि तिनको भूमिका रचनात्मक हुनु जरुरी छ । यस बिचमा वाल उत्सव सकिएको भोलि पल्टदेखि अर्थात फागुन १२, १३ र १४ गते झापाको काँकरभिट्टामा हुन गइरहेको कला साहित्य उत्सवको तेस्रो संस्करणलाई समेत पनि भब्य रुपमा सम्पन्न गर्न यहाँका राजनीतिक दलहरुले सक्रिय भूमिका निर्वाह गर्नु आवश्यक छ । सबै राम्रा कामलाई प्रोत्साहन गर्नु र नराम्रो कामको भण्डाफोर गर्नु अबका दिनमा राजनीतिक दलको पहिलो कर्तब्य बन्नु पर्छ अनि मात्र विक्षिप्त बनेको राजनीतिक संस्कार फरि एकपटक सही दिशामा आउनेछ । स्वास्थ्य महोत्सवलाई बधाई अनि वाल उत्सव र कला साहित्य उत्सव भव्य बनोस् सफलताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: