महोत्सव समापनसंगै रथ यात्रा सुरु

  प्रकाशित मिति
३ फाल्गुन २०७५, शुक्रबार १९:५९


 

धुलाबारी । श्रीकृष्ण प्रणामी मन्दिर धुलाबारीमा गत शनिबारबाट सुरु धार्मिक स्वर्ण महोत्सव शुक्रबार विधिवत् रुपमा सम्पन्न भएको छ ।

श्रीकृष्ण प्रणामी धर्मका प्रवर्तक महामति प्राणनाथजी धर्तीमा प्रकट भएको ४ सय वर्ष भएको र श्रीकृष्ण प्रणामी मन्दिर धुलाबारी स्थापनाको ५० वर्ष पुगेको अवसरमा सुरु महोत्सव समापन भएको हो ।

महोत्सव समापन समारोहमा श्रीकृष्ण प्रणामी मन्दिर धुलाबारीका प्रथम प्रणामी सुन्दरसाथ ८७ वर्षीय वयोवृद्ध पशुपतिनाथ भट्टराईलाई सम्मान गरिएको छ ।

त्यस्तै, महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित सम्पन्न गर्न सहयोग पुर्याए बापत स्वास्थ्य सेवासंग सम्बन्धित विभिन्न सङ्घसंस्था र स्वंयसेवकहरुलाई सम्मान गरियो ।

त्यसक्रममा महोत्सवस्थल र घर उपलब्ध गराएर सहयोग पुर्याउने सामाजिक व्यक्तित्व नित्यानन्द पाठक र अनिता पाठकलाई सम्मान गरिएको छ ।

४५ जना बटुकहरुको सामूहिक उपनयन(व्रतबन्ध) गरिएको समापन कार्यक्रममा महोत्सव आयोजक मूल समारोह समितिका सल्लाहकार रमेश पौडेलले महोत्सव अवधिभरका गतिविधिको समिक्षा गरेका थिए ।

समापनका दिन भारत कालेम्पोङका गाधिपति गुरुजी १ सय ८ मोहन प्रियाचार्यजी महाराज, भारत करनालका श्री १ सय ८ जगतराजजी महाराज, भारत चण्डीगढका श्री १ सय ८ श्यामानन्दजी महाराज, सूर्यनारायणजी महाराज, महामण्डलेश्वर नारायण स्वामीलगायत अन्य सन्तमहन्त गुरुजीहरुले आर्शिवचन दिए ।

बिहान मङ्गल आरतीपछि तारतम वाणी पाठ सुरु भएको र त्यसलगत्तै भागवत्विद् पण्डीत लीलारस सागरले श्रीमद्भागवत्को श्रीकृष्ण कथा सम्बन्धि प्रवचन दिएका थिए ।

साताव्यापी धार्मिक महोत्सव समापनसंगै शुक्रबारबाट मेची–महाकाली जागनी रथ यात्राको शुभारम्भ भएको छ ।

महोत्सव आयोजक मूल समितिका सचिव टिकेन्द्र खनालका अनुसार भारत कालेम्पोङका गाधिपति गुरुजी १ सय ८ मोहन प्रियाचार्यजी महाराजको अगुवाईमा यात्रा थालनी भएको हो ।

सुरु यात्रा झापाको दुहागढी, बुधबारे, शनिश्चरे हुँदै महाकालीको कञ्चनपुरसम्म पुग्ने र श्री प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी समारोहको समापन हुनेछ ।

यही चैत २३ देखि ३० गतेसम्म मुक्तिधाम इटहरीमा ४ सय पाठ पारायणसंगै विमानबाट पुष्प वर्षा गरी धार्मिक यात्रा समापन गरिने श्री कृष्ण प्रणामी युवा परिषद् झापाका अध्यक्ष सुभाष रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: