झापा, २ जेठ । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले झापामा अर्को पनि खाता खोलेको छ ।
हल्दिबारी गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रका उम्मेद्वार शुकलाल राजवंशी वडाध्यक्षमा निर्वाचित भएसँगै झापामा दुई वटा खाता खोलेका हुन् । राजवंशी १ हजार २६१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् ।
राजवंशीका निकतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद प्रसाईले १ हजार १५५ मत मात्र प्राप्त गरे ।
हल्दिबारी–२ को महिला सदस्यमा रचना कुलुङ राई, दलित महिला सदस्य अम्विका तोलाङ्गी र खुल्ला सदस्य गणेश मगर माओवादी केन्द्रका तर्फबाटै बिजयी बनेका छन् । एउटा खुल्ला सदस्य नेकपा एमालेका बिष्णुबहादुर राई निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रले भद्रपुर नगरपालिका–४ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका हंशधर राजवंशीले नेकपा एमालेका पूर्णबहादुर लिम्बूलाई ३३१ मतले पराजित गरेका हुन् । राजवंशीले १२६६ र लिम्बूले ९३५ मत ल्याएका छन् ।
त्यस्तै सदस्यमा भने एमालेका तीन र माओवादीका एक जना निर्वाचित भएका छन् । खुल्ला सदस्यमा एमालेका माधवप्रसाद अधिकारी ९४२, अर्जुन बानियाँ ८९८ र दलित महिला सदस्यमा सावित्रा विश्वकर्मा ८६५ मतसहित विजयी भएका छन् भने महिला सदस्यमा माओवादीकी सविता पुरी १ हजार २० मत ल्याई निर्वाचित भएकी हुन् ।