माकुराले मिलायो १६ बर्षे झगडा

  प्रकाशित मिति
२३ पुष २०७२, बिहीबार ०९:२८


lilaraj
धनकुटाको पर्यटकीयस्थल हिले बजारदेखि दुई किलोमिटरमाथि कोशी राजमार्गले छोएको हात्तीखर्क गाविस । तराईमा तर्तरी पसिना बग्ने गर्मी हँुदा सिरक ओडेर सुत्न सकिने वडा नम्वर पाँच । मनोरम हरियाली वातावरण रहेको पहाडको लोभलाग्दो वस्ती । तर, राम्चे सामुदायिक वन उपभोक्ता समूह र सधियारहरूको १६ बर्षदेखिको बिवादले वल्लो घर र पल्लो घरका वासिन्दाबीच शत्रुतापूर्ण सम्वन्ध । सानो विवाद वढेर झगडा, झगडा वढेर कहिले काहीँ त कुटाकुट हुनेसम्मको अवस्था । एउटै गाउँका वासिन्दाविच डर वोकेर हिँड्नु पर्ने बाध्यता । जति मिलाउन खोज्यो उति बल्झने विवाद । स्थानीयले अव यो विवाद कहिल्यै नमिल्ने रहेछ भनेर हार मानिसकेको अवस्था ।

एक बर्ष अगाडि साउन महिनाकै कुरा हो–आधा फूलेको आधा कालो कपाल, वुटटे टोपी लगाएका उमेरले साठी नाघेका पूर्व वेलायती गोर्खा सैनिकले ओठ लेव्राउँदै भने–‘कस्ता कस्ता आए, के के गरे, मिलाउन सकेनन्, तिमेरले मिलाउने ? असम्भव । मिलाउँछौ भनेर त दश मनमा एक मन पनि छैन । लु म चुनौती दिन्छु कुनै हातलमा मिलाउन सक्दैनौ ।’

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रका ब्यक्तिहरूलाई स्थानीय गङ्गाहाङ लिम्वूले च्यालेन्ज नै दिए । उनले चुनौती दिएको बर्ष दिन पूरा भएको छ । साउनमा त्यहि चुनौति दिएकै ठाउँ त्रिसुले वजार । हा हा हा मेरो च्यालेन्जले फेल खायो । दश वर्षमा माओवादी द्वन्द्व मिल्दा पनि मिल्न नसकेको झगडा मिल्यो । म त दङ्ग परेको छु । हिजोसम्म वाटोमा भेट्दा पनि फनक्क अर्कोतिर फर्केर हिड्नेहरू अहिले त मज्जाले मिलेर पो हिँडेका छन् । हिजो वनले विरुवा रोप्ने सँधियारले काटेर फालिदिने गर्थे । अहिले त हामी सवैको वन हो मिलेर जोगाउनु पर्छ भन्छन् । गज्जवको काम गर्यो है माकुरा समूहले ।

राम्चे सामुदायिक वन र सधियारहरू बिचको १६ वर्षदेखिको मिल्न नसकेको सिमा विवाद माकुरा  समूहले मिलाएपछि स्थानीयवासी गाउँको विकासमा हातमा हात समाएर अघि वढेका छन् । वन उपभोक्ता समितिका अध्यक्ष भरतमान कार्की भन्छन्–‘हिजो सुरक्षा चाहियो भनेर प्रशासनसम्म गुहार्नु परेको थियो तर अहिले शान्ति महसुस भएको छ । अव वनको काम गर्न अप्ठ्यारो छैन  । ढुक्क भएको छ ।’

सधियार सरस्वती लिम्वू भन्छिन्–‘पिता पूर्खाको समयदेखि किपटका रुपमा भोग चलन गर्दै आएको जग्गा वनले भन्दैमा ज्यान गए पनि नछाड्ने अडानमा थियौँ । वनले पनि जुनसुकै हातलमा पनि तिमीहरूको हुन दिँदै नदिने भन्थ्यो । कसरी दिदैनांैँ हेरौँला भन्थे म । तर, नियम कानुन त मान्नै पर्यो नि होइन ? नापी कार्यालयवाट अमिनी ल्याएर नाप जाँच गरेपछि, नाप नक्सा सवै वुझेपछि हाम्रो पनि चित्त बुझ्यो । हामीले लामो समयदेखि कमाई आएको केही जग्गा वनतर्फ गाँभिने भयो । तर, अहिले हाम्रो कुनै चित्त दुखाई छैन । सामुदायिक वन पनि त हाम्रै हो । हामी मिल्यौँ भने न वनको उन्नति हुन्छ ।’

वन र सधियार बिचको १६ बर्ष लामो विवाद मिलेको केही समय मात्र भएको छ । राम्चे सामुदायिक वन जिल्लाकै उत्कृष्ट वनका रुपमा पुरस्कृत समेत भइसक्यो ।

इलाका वन कार्यालय चुलिवनका वन रक्षक गोविन्द खत्रीले लामो समयदेखि राम्चे सामुदायिक वनको द्वन्द्वलाई नजिकवाट नियालेका छन् । ‘यदि यो द्वन्द्व नमिलेको भए सामुदायिक वन पुरस्कृत हुने कुनै सम्भावना थिएन’, अनुहारमा हल्का मुस्कानसहित खत्री भन्छन्–‘सयौँपटक मिलाउन खोजियो तर सकिएको थिएन । अहिले माकुरा समूहले मिलाउन सफल भयो । लामो समयदेखि हाम्रो पनि टाउको दुखाइको बिषय समाधान भएको छ । हामीलाई पनि ढुक्क भएको छ अब ।’ उनी त ठोकुवाका साथ भन्छन्–‘प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले माकुरा समूह वनाएर काम नगरेको भए यो द्वन्द्व मिल्ने थिएन ।’

जिल्ला वन कार्यालय धनकुटा अन्तर्गत चुलिवन इलाका वन कार्यालयका सहायक वन अघिकृत चतुरलाल विश्वास पनि प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले द्वन्द्व समाधान गर्न प्रयोग गर्ने प्रकृयादेखि प्रभावित भएका छन् । द्वन्द्वरत दुवै पक्षलाई पटकपटक एकै ठाउँ राखेर छलफल गर्दा उनीहरू बिच बढेको दुरी आफै कम हँुदोरहेछ । द्वन्द्व चर्काएर कति दिन एउटै समाजमा वस्न सकिन्छ भन्ने भावना जागृत हुँदोरहेछ । सहायक वन अधिकृत विश्वास अगाडि थप्छन्–‘कसैले आफ्नो निर्णय लाद्ने भन्दा द्वन्द्वरत दुवै पक्ष आफैँले निकालेको साझा विकल्पमा समाधान खोज्दा द्वन्द्वको अन्त्य हुने रहेछ, जुन कुरा  प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले गरिदिएको छ ।’

जल जमिन र जङ्गलमा हुने द्वन्द्व रुपान्तरणमा काम गर्दै आएको संस्था प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले एक बर्षअघि जेठ महिनामा सो द्वन्द्वमा हात हाल्यो । थुप्रै चुनौती थिए, काम गर्न कठिन थियो, राष्ट्रिय स्रोत व्यक्ति भोज वहादुर विश्वकर्मा भन्छन्–‘तर हामीलाई प्रकृयामा विश्वास थियो । मिलाउन सक्छौ भन्ने दृढ सङ्कल्प थियो । त्यहि भएर सफल भयाँै । सुरुमा हामीले द्वन्द्व के हो ? कसरी उब्जियो ? कसरी झाङ्गियो  र द्वन्द्वले के प्रभाव पारेको छ विस्तृतमा वुझ्यौँ । द्वन्द्वको निर्णयले असर पर्ने र निर्णयलाई असर पार्ने पक्षहरू पनि पहिचान गर्यौँ । त्यसपछि सवै पक्षहरूलाई राखेर २०७१ साउनमा पहिलोपटक छलफल गरेका हौँ ।’
द्वन्द्वरत् सवै पक्षलाई द्वन्दव कसरी मिलाउने निर्णय तपाइहरूले नै गर्ने हो बाहिरबाट कसैले आएर हस्तक्षेप गर्ने छैन भनेर विश्वास दिलाएपछि दुवै पक्ष प्रकृयामा अघि वढ्न सहमत भए । निष्पक्ष र पारदर्शी हुन्छ र जे हुन्छ तपाईहरूकै सामुन्ने हुन्छ भने पछि दुवै पक्षले आफै छानेका र उनीहरूले विश्वास गर्ने १३ जना ब्यक्तिहरूलाई राखेर माकुरा समूह बनाए । माकुरा समूहलाई द्वन्द्व कसरी रुपान्तरण गर्ने भन्ने वारेमा दुई दिनसम्म क्षमता अभिवृद्धि कार्यव्रmम भयो । माकुरा समूहले निष्पक्ष, पारदर्शी र सबैले स्वीकार्ने प्रव्रिmयाको तयारी गर्यो जसले गर्दा विश्वासको वातावरण झन् वढ्दै गयो । दुवै पक्षले प्रकृयामा अपनत्व महसुस गर्न थाले । द्वन्द्वरत हरेक पक्षसँग छलफल गरियो । त्यसलाई आमभेलाले पास गर्न थालियो ।  हामीलाई नसोधी कुनै काम नहुने रहेछ भन्ने विश्वासले ठूलो काम गर्दोरहेछ माकुरा समूहका एक सदस्य मनकुमार लिम्वू भन्छन्–‘एकै ठाउँ भेला भएर पटकपटक छलफल हुन थालेपछि सम्वादहीनता टुटेर सु–सम्बन्ध वढ्न थाल्दोरहेछ ।’

दुवै पक्षलाई छुट्टा छुट्टै र एकै ठाउँ समेत भेला पारेर उनीहरूको अडान वुझ्ने काम भयो । अडान भित्रको वास्तविक चाहना चाहिँ के हो त्यो पनि सङ्कलन गरेर दुवै पक्षको साझा सवाल निर्माण भयो । स्थानीयमा झन् झन् यो प्रवृ्रmयामा विश्वास वढ्दै गयो । द्वन्द्व पक्षहरूले नै तयार पारेको साझा सवालमा आधारित भएर उनीहरूले नै अव कसरी मिल्ने त भन्ने विकल्प प्रस्तुत गरे । उनीहरूका विकल्प समस्या समाधानोन्मूख देखिन्थे । दुवै पक्षले सामुदायिक वन र ब्यक्तिको जग्गाको सीमाना नाप जाँच गरेर अमिनवाट एकिन गर्नुपर्ने साझा विकल्प प्रस्तुत गरे । सामुदायिक वनले किपटवाला पक्षहरूले हाल उपभोग गर्दै आइरहेको जग्गाहरू २५६, ३२३, ३२५, ४९१ नम्बरको कित्ताहरू पहिले नै सावमा हस्तान्तरण भइसकेको हुँदा ती जग्गा छोडी दिनु पर्ने विकल्पमा पुग्यो । किपट वाला पक्ष पनि हाल उपभोग गर्दै आइरहेको जग्गाहरू २५६, ३२३, ३२५, ४९१ नंं. कित्ताहरू सामुदायिक वनलाई छोडी दिनेमा मन्जुर भए । र हाल उपभोग गर्दै आइरहेको जग्गाका २५२ ,२५३, र २५४ नम्बरका कित्ताहरू सामुदायिक वनको क्षेत्रभित्र नरहेको भनी समूहको आमसभामा निर्णय गरिनु पर्ने विकल्प प्रस्ताव गरे । सामुदायिक वन र ब्यक्तिको जग्गाको जिल्ला नापी कार्यालयवाट अमिन ल्याएर नाप जाँच गरियो । दुवै पक्षका अरु  विकल्पमा पनि दुवै पक्ष मन्जुर भए । जिल्ला वनका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्लाका प्रतिनिधि, गाविस सचिव, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू र द्वन्द्वरत दुवै पक्षको उपस्थितिमा ठूलै भेला गरेर विकल्प पास गरियो । उनीहरूको बर्षौदेखि भाँचिएको मन मिल्यो । आफै प्रकृयामा सामेल भएर आफैले निर्णय गरेपछि अव कुनै शङ्का, आशङ्का बाँकी रहेन । रह्यो त केवल प्रतिवद्धता–‘अव सवै मिलेर सामुदायिक वनको संरक्षणमा लाग्ने ।’

सामुदायिक वन उपभोक्ता समिति जिल्ला  महासङ्घ धनकुटाका अध्यक्ष राजेन्द्र खड्का भन्छन्–‘जिल्ला वनले कयौँपटक मिलाउन खोजे पनि नसके पछि स्थानीयवासीकै सकृयतामा द्वन्द्व रुपान्तरण भएको छ । यो ठूलै सफलता हो ।’
वन कार्यालय चुलिवनका वन रक्षक गोविन्द खत्री भित्रैदेखि खुसी देखिँदै भन्छन्–‘हार्दिकतापूर्वक सल्यूट छ यो प्रकृयालाई जसले बर्षौदेखि टुटेका मनहरूलाई जोडेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: