‘माकुरा’ हेर्न गढीगाउँ जाँदा

  प्रकाशित मिति
३ फाल्गुन २०७२, सोमबार १५:०३


20160125_094145मैले पत्रकारिता सुरु गरेदेखि पटकपटक सुनेको र पढेको विषय थियो–शान्तिनगर गाविसका किसान र गडीगाउँ माध्यमिक विद्यालयबीचको भूमिको स्वामित्व सम्बन्धी द्वन्द्व । द्वन्द्व समाधानका लागि पटकपटक भएको सभा, कचहरी र राजनीतिक पहलले समेत कुनै प्रगति भएको रहेनछ त्यहाँ । धेरै पछि सुटुक्कै ‘माकुरा’ले जालो फालेछ त्यहाँ र उनीहरूको फाटेको मनलाई जोडेछ । कसरी मिले फाटेका मन ? कस्तो होला त्यो माकुरा ? जान्न उत्सुक थिएँ म । गत माघ १० गते विहान निम्तो आयो–माकुराले जालो फालेको ठाउँ हेर्न जाने । सामाजिक कार्यमा अग्रणी व्यक्ति सङ्गीता थापाले निम्तो गर्नु भएको थियो ।

माघ ११ गते विहानैदेखि लागेको हुस्सुको पर्वाह नगरी पत्रकार राजु अधिकारी, ज्ञानेन्द्र निरौला, सङ्गीता थापा र बेदनिधी चापागाईको साथमा लागियो शान्तिनगरतिर । ९ बजेतिर पुगियो शान्तिनगर गडीगाउँ उच्च माविको प्रागङ्णमा । त्यहाँ पुग्दा स्वागतमा तयार थिए त्यही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय किसानहरू । मिठो चियाको सत्कार पछि सुरु भयो भलाकुसारी ।

ममा तीव्र उत्सुकता थियो माकुरा बुझ्ने । के साँच्चै माकुराले जालो बुनेकै हो त ? कुराको चुरो खोले आफ्नै जमिनको कुत नतिर्दा तत्कालीन पञ्चायत सरकारले दिएको सास्तीबाट स्थानीय किसान अगुवा काजीमान लिम्बूले । चार दशक लामो द्वन्द्व चलेको रहेछ किसान र स्कूलबीच । त्यही बेला प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल २०६९ सालमा त्यहाँ प्रवेश गर्यो । विवाद मिलाउन सघाउने भरोसा दिलाएछ त्यस संस्थाले । त्यही प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरण शैली रहेछ माकुरा । दुई झगडिया पक्षका बीचमा मध्यस्थता गराउन केन्द्रले गठन गरेको सहजीकरण टोलीलाई ‘माकुरा’ भनिदो रहेछ ।

२०१६ सालमा स्व. हेमनारायण श्रेष्ठले दान दिएको एक विघा र पछि भवानीप्रसाद खतिवडाले दिएको ३ कठ्ठा १० धुर जग्गामा गडीगाउ“ प्राथमिक विद्यालय शान्तिनगर–५ मा स्थापना भएको थियो ।

गडीगाउ“ विद्यालयले २०३२÷०३३ सालतिर तत्कालीन पञ्चायती सरकारले ऐलानी जग्गाहरू सङ्घ संस्थाका नाममा नापी हुन सक्ने निर्देशन जारी गरेपछि शान्तिनगर–२, ४, ५ र ७ का क्षेत्रहरूमा रहेका भएका सबै ऐलानी, पर्ती, झाडी झोस, नापी छुटका जग्गाहरू विद्यालयका नाममा नापी गरियो । विद्यालयले करिव ४०÷५० विघा जग्गा कायम ग¥यो । धनीपूर्जा लियो । 

वास्तवमा ती जग्गामा पहिल्यैदेखि स्थानीय किसानले जोतभोग गर्दै आएका थिए । तर प्रशासनमा पहुँच नभएका कारण निरीह किसानले आफ्नो जग्गा आफ्नो नाममा नापी गराउन र धनीपूर्जा लिन सकेनन् । किसानले झाडी र जङ्गल फाँडेर जोतभोग गरेको विद्यालय कानूनतः विद्यालयको भएपछि किसान र विद्यालयवीच द्वन्द्व बढ्नु स्वाभाविक थियो । यही विवाद चार दशकसम्म लम्बिएको हो । अरु कसैले मिलाउन नसकेको विवाद माकुराले मिलाएपछि यो घटना मुलुकभरका लागि उदाहरण बनेको छ ।

हामीलाई जग्गा विवाद र माकुराको वेलिविस्तार लगाए स्थानीय किसानले । घरघरी जुँगा मुसार्दै किसान अगुवा काजीमान लिम्बुले सुनाए–‘मलाई पनि खबर गर्यो माकुराले । तर कस्ता कस्ताले त मिलाउन नसकेको समस्या यसले के मिलाउँछ जस्तो लाग्यो र पहिलो बैठकमा गइन ।’ स्कूल र किसानबीचको द्वन्द्वकै कारण मानसिक रुपमा मात्र होइन शारीरिक रुपमा समेत सास्ती खेपेका लिम्बू माकुरा प्रवेश गरेको दुुई बर्षसम्म त सम्पर्कमै रहेनन् । तर, कुुरा बुझ्दै जाँदा थाहा पाएँ माकुराको जालो बुनाइले दशकौँदेखिको द्वन्द्वको अन्त्य गर्ने रहेछ । उनले सुनाए–‘ठूला नेता भनाउँदाले गर्न नसकेको काम पो गरिदियो यो माकुराले ।’

काजीमान दाइ मात्र होइन, अर्का किसान चुडामणि राना मगरले पनि खुलेरै माकुराको प्रशंसा गरे । उनी भन्दै थिए–‘यो स्कूल हाम्रै हो । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो त्यसैले अब हाम्रो चाहना नै स्कूललाई अलिकति फन्ड जम्मा गरेर आफ्नो जग्गा फिर्ता गर्नु हो ।’ एक बेला स्कूल समेत आफ्ना नानीहरू नपठाउने योजना बनाएका किसानहरू यतिबेला माकुरा समूहले सुमधुर सम्बन्ध बनाइदिएकोमा खुशी छन् । उनले किसानबाट सङ्कित हुन लागेको २ करोड बढी रकमलाई अक्षयकोष स्थापना गर्न आग्रह गरे ।

४७ विघा स्कूलको नाममा जग्गा छ तर यतिबेला डेढ विघामा मात्र भोगचलन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलमणि न्यौपानेले बताए । उनी भन्दै थिए– ‘सरकारले किसानमाथि दमन गरेकै हो । अनेकाँै आरोह अवरोह झेल्दै झोडा फँडानी गरेर बसेका किसानको जग्गा सरकारी स्वामित्वमा पार्नु उचित थिएन । तर, कानुनी रुपमा किसानमाथि अङ्कुश लगाए पछि हाम्रो केही चलेन । राज्यको नीतिमा भएको त्रुटिका कारणले स्कूल र किसान दुवैले समस्या झेल्दै गर्दा माकुरा समूहले प्रवेश गर्यो । जसले हामीबीचको ४ दशक भन्दा लामो द्वन्द्वको अन्त्य मात्र गरेन भावनात्मक रुपमा बढेको दुरीलाई समेत जोड्ने काम समेत गर्यो ।’

प्रव्रिmयागत रुपमा काम गर्दा केही समय लाग्ने भए पनि माकुरा समूहले दीगो रुपमै यस्ता समस्या समाधान गर्दै आएको स्रोत व्यक्ति सङ्गीता थापा बताउँछिन् । उनी भन्छिन्–‘हामीले मात्र यो सब गरेका होइनौँ, किसान, शिक्षक र सम्पूर्ण राजनीतिक दलको सहकार्यमा भएको हो ।’ उनले गडीगाउँ मात्र होइन जिल्लाको जल, जमिनसँग सम्बन्धित थुप्रै मुद्दाको छिनोफानो माकुरा समूहले गरेको बताइन् ।
गडीगाउँमा द्वन्द्वरत पक्षहरूसँगको भेटलाई मैले उपलब्धिमूलक ठानेँ । मेरो कौतुहलताको उत्तर किसान र स्कूलका जिम्मेवार व्यक्तिबाट पाएँ । साँच्चै नाम अनुसारको काम गरेर शान्तिनगरको गडीगाउँमा माकुरा समूह सबैको अभिभावक पो बनेको रहेछ ।

नेपाली समाजमा जग्गाको स्वामित्व सम्बन्धी झैझगडा बढी नै हुने गरेको छ । मानिसहरू एक हात साँधसीमानाका लागि बर्षौँदेखि आपसमा मनमुटाव गरिरहेका हुन्छन् । कुटपिट, हत्या र मुद्दा मामिला पनि यस्तै विवादमा बढी हुन्छन् । तर दुबै झगडियालाई उनीहरूको साझा सवाल के हो र त्यसको प्राप्ति कसरी हुन्छ भन्ने विषयमा शान्तिपूर्ण उपाय बुझाइदिन सक्ने हो भने दीर्घरोग बनिसकेका जग्गाका विवाद समेत माकुरा शैलीबाट मिलाउन सकिने रहेछ । मैले गडीगाउँ यात्राबाट निकालेको निष्कर्ष यही नै हो ।

पत्रपत्रिकामा माकुराको चर्चा पढ्दा र सुन्दा सुरुमा मैले पनि धेरै खुट्टो भएको कीरा माकुरालाई सम्झेको थिएँ । माकुराले जसरी वरिपरि जालो फ्याँकेर आफ्नो लक्ष्य पूरा गर्छ, त्यसरी नै द्वन्द्व रुपान्तरणका लागि गठित सहजीकरण समूहले काम गर्दो रहेछ । कीरा माकुराले आफ्नो जालमा पुतलीहरूलाई फँसाउँछ । तर गडीगाउँको द्वन्द्व रुपान्तरण सम्बन्धी काम गर्ने माकुराले कसैलाई पनि फँसाउँदैन । बरु द्वन्द्वमा बर्षौदेखि अल्मलिरहेका पक्षलाई उनीहरूको साझा सवालको पहिचान गर्न सघाउँछ र त्यसलाई प्राप्ति गर्न द्वन्द्वको बाटो होइन, शान्तिपूर्ण सम्बाद र सहमतिको बाटो उचित हुन्छ भनेर बुझाइदिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: