मागुरमाडी बनमा दलीय भिडन्त

  प्रकाशित मिति
२३ पुष २०७६, बुधबार १०:४८


उम्मेद्वार बमबहादुर मगर

मेचीनगर । विभिन्न सङ्घ संस्थाको निर्वाचनलाई राजनीतिक पार्टीको चुनाव जत्तिकै महत्व दिनाले हरेक टोलमा राजनीति प्रतिस्पर्र्धाको ‘इस्यु’ बन्न थालेको छ । सानातिना टोल र सङ्घसंस्थाको चुनावमा ठुला पार्टीको प्रमुखहरुले चासो दिँदा राजनीति प्रतिस्पर्र्धाको इस्यु पार्टीमा बढ्न थालेको हो ।

केही वर्ष अघिसम्म टोल र सङ्घ संस्थाको चुनाव हुँदा राजनीति इस्युका कारण पार्टी–पार्टीबीच प्रतिस्पर्र्धा हुँदैन थियो । सहमति र सहकार्यमा यस्ता चुनावहरु सहज तरिकाले हुने गरेको थियो । तर, पछिल्लो समय हरेक सङ्घ संस्थामा गहिरो रुपमा राजनीतिले जरा गाड्न थालेको छ । जसले गर्दा एक त उम्मेद्वारले आफ्नो राजनीति दाउमा लगाएका हुन्छन् भने पैसा र समय पनि खर्च उत्ति नै भइरहेको हुन्छ ।

नगरका योजनाका टोल विकास समिति, खानेपानी, बाणिज्य सङ्घ, सामुदायिक वन वा अन्य कुनै पनि सङ्घ संस्थामा राजनीतिकले पुरै जरा गाडेको छ । मेचीनगरमा पनि विभिन्न सङ्घ संस्थामा यस्तै हुँदै आएको छ । विगतमा सहमतिमा हुन्थ्यो भने अहिले राजनीतिक पार्टीबीच कडा प्रतिस्पर्धा हुन थालेको छ ।

मेची उद्योग बाणिज्य सङ्घ धुलाबारी, काँकरभिट्टा खानेपानी, प्रकृति संरक्षण समिति, सामुदायिक वनलगायतमा पार्टीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

आगामी पुस २९ गते मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन विट नम्बर २ मा पनि यस्तै राजनीतिक पार्टीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाली काङ्ग्रेसको लोकतान्त्रिक तथा नेकपाको प्रगतिशील प्यानल बनाएर उम्मेद्वारी खडा गरिएको छ ।

नेपाली काङ्ग्रेस मेचीनगर समितिले मङ्गलबार उम्मेद्वारको घोषणासमेत गरेको छ । काङ्ग्रेसका क्षेत्रीय समितिका सभापति मणिकुमार उप्रेती, नगर सभापति इन्द्रबहादुर बुढाथोकी, ९ नम्बर वडा अध्यक्ष गोपाल खड्कालगायतका नेता कार्यकर्ताको सहभागितामा उम्मेद्वारी घोषणा गरेको हो ।

उम्मेद्वार टङ्कबहादुर श्रेष्ठ

मागुरमाडी सामुदायिक वन विट नम्बर २ को आसन्न निर्वाचनका लागि नेपाली काङ्ग्रेसको लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा टङ्कबहादुर श्रेष्ठ, उपाध्यक्षमा राजेन्द्र थपलिया, सचिवमा विमला सिन्जाली मगर, सहसचिवमा कल्पना अधिकारी र कोषाध्यक्षमा टिका ढकाल उम्मेद्वार छन् । त्यस्तै, क्षेत्र नम्बर १ अन्तरगत सदस्यमा गजेन्द्रप्रसाद गौतम उम्मेद्वार बनेका छन् ।

नगर सभापति बुढाथोकीले उम्मेद्वार घोषणा कार्यक्रममा नेकपा पार्टीका डिल्लीराम उप्रेती, नरबहादुर रसाइली, कृष्ण श्रेष्ठ, नरबहादुर तामाङ र रोश्नी तामाङ नेकपा पार्टी परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेको जानकारी दिए ।

यता, नेकपाको प्रगतिशील प्यानलबाट अध्यक्षमा बमबहादुर मगर, उपाध्यक्षमा राजन खड्का, सचिवमा शान्ति राई, सहसचिवमा निर्मला उपरकोटी र कोषाध्यक्षमा राजन चिमरिया उम्मेद्वार बनेका छन् ।

त्यस्तै, क्षेत्र नम्बर १ अन्तरगत सदस्यमा मोहनप्रसाद भट्टराई उम्मेद्वार बनेका छन् । वनको ५ वटा क्षेत्र अन्तरगत २, ३, ४ र ५ नम्बर क्षेत्रमा सदस्यहरु यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् । प्रत्येक क्षेत्रमा दुईजना महिला र पुरुष निर्वाचित हुनुपर्नेमा क्षेत्र नम्बर १ मा दुई पुरुषबीच प्रतिस्पर्धा हुँदैछ भने क्षेत्र नम्बर ५ मा दुई महिला निर्वाचित भएका छन् ।

यसअघि सर्वसम्मत भएकाहरुमा क्षेत्र नम्बर २ बाट दधिराम खरेल र खेमकुमारी चिमरिया, क्षेत्र नम्बर ३ बाट टिकाबहादुर लुङ्गेली मगर र खगीमाया मगर, क्षेत्र नम्बर ४ बाट डिल्लीराम भण्डारी र रञ्जना लिम्बु तथा क्षेत्र नम्बर ५ बाट मिनु घोर्साइँ तामाङ र चित्रा तामाङ छन् ।

सर्वसम्मत भएकाहरु मध्ये क्षेत्र नम्बर २ बाट दधिराम खरेल नेपाली काङ्ग्रेसको लोकतान्त्रिक प्यानलका निर्वाचित सदस्य हुन भने बाँकी सदस्य प्रगतिशील प्यानलका छन् ।

मागुरमाडी सामुदायिक वन विट नम्बर २ को निर्वाचन समितिका सचिव ठाकुर अधिकारीका अनुसार आगामी पुस २९ गते हुने निर्वाचनका लागि मङ्गलबार उम्मेद्वारको मनोनयन दर्ता भएको छ ।

कार्यसमितिको मेजर पाँचमा १० जना र क्षेत्र नम्बर १ को दुई सदस्यका लागि उम्मेद्वारी परेको अधिकारीले जानकारी दिए । निर्वाचन तालिका अनुसार बुधबार उम्मेद्वारको दावी विरोध कार्यक्रम छ ।

निर्वाचन समिति संयोजकमा इन्दिरा कार्की भण्डारी तथा सदस्यहरुमा बद्रीप्रसाद थपलिया, प्रेम पनेरु, डिल्लीराम भट्टराई, राजनकुमार उप्रेती छन् भने इलाका वन कार्यालयबाट एकजना बन प्राविधिक रहने छन् ।

बनको पाँचवटा टोल समिति मध्ये एक नम्बर बाहेक चारवटा टोलका सदस्यहरु यसअघि सर्वसम्त निर्वाचित भइसकेका छन् । मागुरमाडी सामुदायिक वनमा २१३ जना उपभोक्ताले मतदान दिन पाउने छन् । बनको ३ वर्षे कार्यकालका लागि १५ जनाको नयाँ कार्यसमिति चुनिने छ ।

© अर्जुन कार्की
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: