मेचीनगर । मेचीनगर–९ मा रहेको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नंं. १ को २४ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
संस्थाको कार्यालय परिसरमा आयोजित सभामा समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूले प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा आर्थिक वर्ष २०७६÷०७७ का लागि १ करोड १२ लाख ७६ हजार ४४७ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिएको छ । समूहले पर्यापर्यटन विकासका लागि बजेट विनियोजन गरेर सञ्चालन गर्ने योजना बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । समूहले पर्यटकीय आकर्षणका लागि सिमसार क्षेत्र निर्माण प्रक्रिया अगाडि बढाइसकेको छ । प्रदेश नं १ सरकारबाट विनियोजित ५० लाख रुपैयाँ पोखरीको व्यवस्थापन, वनभोज स्थल, निर्माण, पर्यापर्यटन क्षेत्र घेराबारा तथा अन्य पर्यटकीय आकर्षण बढाउने काममा बजेट खर्च गरिने लक्ष्य राखिएको अध्यक्ष लिम्बूले बताए ।
संस्थाले गत आवमा गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत अति विपन्न वर्गका तीन उपभोक्ताको आवास निर्माण गरिएको र चालु आवमा पनि निरन्तरता दिइने योजना रहेको छ । यसका लागि ५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष लिम्बुले बताए । संस्थाले हरियाली बन बनाउन तथा उपभोक्ता हितका निमित्त थुप्रै कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
समूहका कार्यालय सचिव तीर्थ खड्काले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य गोपाल बुढाथोकी, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य संगीता थापा, मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्का, समाजसेवी मणिकुमार उप्रेती, माथिल्लो मागुरमाडी वनका अध्यक्ष कर्म गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समूहका उपाध्यक्ष जोगेन मेचेले स्वागत गरेको कार्यक्रममा हरि आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र फुयल, खुट्टीडाँगी बनका अध्यक्ष टंक नेपाल, समाजसेवी भक्तिप्रसाद आचार्य, लक्ष्मी पाठक, प्रतिक्षा पराजुली, कञ्चन तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
२०५३ सालमा स्थापित उक्त वनको ‘क’ वर्गको उपभोक्ता संख्या ६७५ र ‘ख’ वर्गको ४१ रहेको छ । उत्तर दक्षिण मोहडामा १६५.६३ हेक्टर क्षेत्रफलमा फैलिएको सावको क्षेत्रलाई संरक्षण तथा व्यवस्थापन गर्न तीन खण्डमा विभाजन गरिएको समूहकी सचिव कमला गौतमले बताइन् ।