मेचीनगर । एसियन ग्रामीण पर्यटन महोत्सवको छैठौं संस्करण मेचीनगरको काँकरभिट्टामा आयोजना हुने भएको छ ।
माघ २६ देखि ३० गतेसम्म काँकरभिट्टामा महोत्सवको आयोजना हुने महोत्सवका संस्थापक अर्जुन कार्की सीमाले जानकारी दिए ।
सन् २०१२ देखि बाहुनडाँगीमा लगातार हुँदै आएको महोत्सव पहिलोपल्ट बाहुनडाँगी बाहिर आयोजना हुन लागेको हो ।
मङ्गलवार पर्यटन कार्यालय काँकरभिट्टामा मेचीनगर नगरप्रमुख विमल आचार्यको प्रमुख आतिथ्यमा भएको सरोकारवालाहरुसँगको छलफलमा महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोग पुर्याइने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
नगरकी उपप्रमुख तथा मेचीनगर पर्यटन प्रबर्धन समितिकी संयोजक मीना पोखरेल उप्रेतीको अध्यक्षतामा छलफल कार्यक्रम भएको थियो ।
सो अवसरमा संविधानसभा सदस्य उषा गुरुङ, पर्यटन कार्यालयका प्रमुख, पार्टीका प्रतिनिधिहरु, होटल तथा ट्राभल्स व्यवसायीहरु, पत्रकार र सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
छलफलपश्चात अर्जुन कार्की सीमा अध्यक्ष र डिल्लीराम घिमिरे उपाध्यक्ष रहेको ३१ सदस्यीय महोत्सव आयोजक समिति गठन गरिएको अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।