‘माङ्गेना’मा च्यातिएको चन्द्र–सूर्य

  प्रकाशित मिति
१४ श्रावण २०७४, शनिबार ११:११


mangena 2
‘शाहवंशको महानताको इतिहास निर्माण गरिएको छ, त्यो नक्कली हो’, उनी भन्छन्–‘त्यो शाहवंशको औचित्य पुष्टि गर्नका लागि लेखिएको हो, जनताको इतिहास होइन ।’

लेखक युग पाठकलाई एउटा प्रश्नले खुब पिरोल्यो–‘समाज विकासको चरणमा हामी नेपाली कहाँ छौँ ? हामीले आफू, आफ्नो समाज र आफ्नो देशलाई ठिकसँग बुझेका छौँ ?’ ५ वर्षअघि लेखकको दिमाग हल्लाएको यो प्रश्नको जवाफ पुस्तकका रुपमा आएको छ ।

२०६९ सालमा उनको पहिलो पुस्तक ‘उर्गेनको घोडा’ (उपन्यास) प्रकाशित भएको थियो । नेपालमा राजनीतिक क्रान्तिहरू भए तर ती क्रान्तिले स्थापित गरेका एजेन्डाहरू किन संस्थागत हुन सकेनन् ? आन्दोलनले उठाएका एजेन्डाहरू संस्थागत गर्ने क्रममा किन समस्या आए ? ‘माङ्गेना’ मा यी र यस्तै प्रश्नको विभिन्न आयामबाट जवाफ खोज्ने प्रयास गरेको पाठक बताउँछन् ।

‘नेपालको बारेमा लेखिएका पुस्तक र सन्दर्भ सामग्री पढ्दै जाँदा नेपाल हामीले बुझेको जस्तो होइन रहेछ भन्ने थाहा भयो । हामीलाई जे बुझाइयो त्यो पनि होइन रहेछ’, पाठकभन्छन्–‘हाम्रो इतिहास र इतिहासको स्वाभिमान भनेर जे पढाइन्छ त्यसका अन्य आयाम पनि रहेछन् । आन्दोलनका एजेन्डा किन संस्थागत भएनन् भन्ने प्रश्नसँग यी कारणहरू पनि जोडिँदा रहेछन् ।’

आफ्नो दिमाग हल्लाउने प्रश्नको उत्तरमा लेखिएको ‘माङ्गेना’ मार्फत धेरै मानिसहरूको दिमाग हल्लाउने उनको योजना छ । त्यसो त पुस्तक बजारमा नआउँदै युग पाठकमाथि आक्रमण सुरु भैसकेको थियो । बहस र विवादको केन्द्रमा ‘माङ्गेना’को आवरण छ जहाँ राष्ट्रिय झण्डा च्यातिएको देखाइएको छ । ‘राष्ट्रिय झण्डा कुरुप बनाई छाप्ने युग पाठकलाई टुँडिखेलको बिचमा राखेर यसैगरी च्यातचुत गर्न मिल्दैन?’–एकजनाले फेसबुकमा आक्रोश पोखेका छन् ।

कतिपयले पाठकलाई अराष्ट्रिय आरोप लगाएका छन् त कतिले राष्ट्रिय झण्डाको अपमान गरेको बताएका छन् । फेसबुकको एक स्ट्याटसमा कमेन्ट गर्दै समीक्षक हरि अधिकारीले लेखेका छन्–‘युग पाठक हीन मनोग्रन्थी पीडित ध्वंसात्मक चिन्तनले भरिएको आत्मश्लाघी व्यक्ति भएकोले उनले लेख्ने र गर्ने यस्तै हो ।’

‘बौद्धिक आन्दोलन सिर्जना गर्ने’ उद्देश्यले ‘माङ्गेना’ लेखेका युगले पुस्तकको आवरणमै यस्ता प्रतिक्रियाहरू आउलान् भन्ने सोचेका थिए त ? ‘पछिल्लो समय म जे लेख्दै वा बोल्दै आइरहेको छु र त्यहाँ जस्तो प्रतिक्रिया पाउने गर्थेँ लगभग त्यस्तै प्रतिक्रिया आउँछन् भन्ने मलाई लागेको थियो’, उनी भन्छन्–‘एकखालका मान्छे पूर्वाग्रही भएर प्रतिक्रिया दिइरहेका छन् कति मानिसलाई झण्डा फुटाएको जस्तो लागेर यत्तिकै प्रतिक्रिया दिइरहेका छन् ।’

के हो ’माङ्गेना’ ?
माङ्गेना शब्द लिम्बु भाषा र संस्कृतिसँग सम्बन्धित छ । किताबको भूमिकामा उनले माङ्गेनाबारे व्याख्या गरेका छन् । उनका अनुसार माङ्गेना लिम्बु संस्कृतिभित्रको संस्कारमात्र होइन, दर्शन पनि हो । त्यो दर्शन भन्छ–समाजमा कसैको पनि शिर झुक्नु हुँदैन । समाजमा मानिसहरूले शिर झुकाउनुपर्ने परिस्थितिहरू विद्यमान छन् । जसले अपमानित महसुस गर्छ त्यसको शिर उठाउने काम राज्यले गर्नुपर्छ । ‘अधिकांश जनताको शिर झुकेको छ भने त्यो समाजको उत्थान हुँदैन । मान्छेको शिर उठाउन अनुष्ठान गर्नुपर्छ’, उनी भन्छन्–‘लिम्बु संस्कृतिमा मान्छेको शिर उठाउन माङ्गेना गरिन्छ ।’ अनि देशको माङ्गेना कसरी गर्ने त ? ‘शिर के के कारणले झुकेका छन्, ती अन्तर्विरोधहरू पहिचान गर्नुपर्यो, सामाजिक कारण छ कि जातीय कारण छन् कि पहिचान गर्नुपर्यो । ती कारणको उपचार गर्यो भने मान्छेको शिर उठाउन सकिन्छ’, युगले जवाफ दिए ।

नेपालका आदिवासी संस्कृतिभित्र रहेका ज्ञानहरू सबै समुदायमाझ अन्तर्घुलीत भएमात्र राष्ट्रिय एकता बन्ने उनको बुझाई छ । नेपालमा यतिका भाषाहरू छन् तर किताबको नामका लागि उनले लिम्बु भाषा नै किन रोजे ? लिम्बु भाषाबाट पुस्तकको नाम राख्नुको कारण आफ्नो ज्ञानमाथिको पहुँचको सीमा भएको उनी बताउँछन् । ‘संसारमा धेरै ज्ञान हुन्छ तर सबै ज्ञानमा तपाईँको पहुँच हुँदैन । यहाँ धेरै भाषा छन्, संस्कृति छन् तर मलाई सबै थाहा छैन’, उनी भन्छन् । लिम्बु भाषासम्म उनको पहुँच कसरी पुग्यो त ? लिम्बु संस्कृतिमा आधारित नाटक ‘युमा’ लेख्दा उनले ‘माङ्गेना’सँग साक्षात्कार गरे । कविहरू स्वप्निल स्मृति र चन्द्रवीर तुम्वापोबाट युमाबारे बुझे । मुन्धुमको अध्ययन गरे । मुन्धुममा माङ्गेनाका प्रसङ्गहरू छन् ।

mangena 1पुस्तकको आवरण ‘माङ्गेना’ को आवरण कलाकार सचिन यगोल श्रेष्ठले बनाएका हुन् । उनी पुस्तकको आवरणलाई ‘कलात्मक अभिव्यक्ति’ भन्छन् । नेपालको झण्डाको चित्र कोरिएको भित्तो भत्किएको पेन्टिङ आवरणमा छ । ‘पुस्तक पढिसकेपछि मलाई लाग्यो कि धेरै कुरा राष्ट्रिय आवरण दिएर ढाकछोप गरिएको छ । जो शासनमा आउँछ उसले हरेकपटक भित्तामा नयाँ नयाँ नारा लेखेको छ र पुरानोलाई छोपेको छ । लेयरमाथि लेयर छन्’, उनी भन्छन्–‘चन्द्र सूर्यजस्तो अटल कुरा पनि भत्किन सक्छ र विस्फोट हुन सक्छ भन्ने कलात्मक अभिव्यक्ति आवरणमा छ ।’

भत्किएको बनाउने, फेरि भत्किन नदिने र विस्फोट हुन नदिने प्रतिबद्धताका रुपमा आफ्नो कलालाई बुझ्नुपर्ने कलाकार श्रेष्ठ बताउँछन् । ‘कला भनेको हेर्नेको दृष्टिमा फरक फरक हुन सक्छ तर यसलाई राष्ट्रियतासँग जोडेर भन्दा पनि कलात्मक अभिव्यक्तिकै रुपमा बुझ्दा राम्रो हुन्छ’, उनी भन्छन् ।

पुस्तकका लेखक युग पाठक पनि झण्डाको अपमान भनेर विवादको विषय बनाउनुभन्दा कलाका रुपमा बुझ्न अनुरोध गर्छन् । ‘यो कला हो । कलाले कसैलाई फुटाउने र जुटाउने गर्दैन । कलाकारले चित्रमा अर्थ बुझाउँछ । कलाले मान अपमान होइन, अर्थ दिन्छ ।’ किताबमा के छ ? लेखक युग पाठकका अनुसार ‘माङ्गेना’ले पञ्चायतकाल र त्यसभन्दा अघिदेखि संस्थागत गरिएका विचारधाराहरूमाथि प्रश्न गर्छ । ‘पुराना विचारधाराहरू खारेज गर्नुपर्ने र नयाँ विचारधाराका आधारमा नेपाली समाजलाई चिन्ने र बुझ्ने वैचारिक अवधारणा विकास गर्नुपर्ने दलील प्रस्तुत छ’, उनी भन्छन् । शासकहरूको इतिहास लेखिए पनि आमनागरिकको इतिहास नलेखिएको बताउने पाठक इतिहास लेखनको परम्परामाथि पनि आफूले प्रश्न गरेको बताउँछन् ।

‘जसरी हामीकहाँ इतिहास लेखिएको छ, जुन तरिकाले पृथ्वीनारायणदेखि आजसम्म शाहवंशको महानताको इतिहास निर्माण गरिएको छ, त्यो नक्कली हो’, उनी भन्छन्–‘त्यो शाहवंशको औचित्य पुष्टि गर्नका लागि लेखिएको हो, जनताको इतिहास होइन ।’ जनताले दैनिक जीवनमा सङ्घर्षर श्रम गरेर कसरी एउटा देश निर्माण गरिरहेका हुन्छन् कस्ता कस्ता अपमान र विभेद सहेर समाज निर्माण गरिरहेका हुन्छन्, त्यो इतिहास हामीले पढ्ने इतिहासमा आउँदैन भन्ने मत उनको छ । ‘माङ्गेना’मा युग पाठक नेपालको विकास अवधारणामाथि पनि प्रश्न गर्छन् । ‘७० वर्षदेखि जे कुरालाई विकास भनिएको छ, त्यो विकासको अवधारणा नै गलत छ, त्यसलाई पनि नयाँ ढङ्गले हेर्नुपर्छु’, उनी भन्छन्–‘विभिन्न सीमान्तकृत समुदायले पहिचानको मुद्दा उठाउँदै राज्यसत्ताको पुनर्संरचना चाहेका छन्, त्यो आवाजलाई पुनः पुस्तकले उठाउँछ । नेपाललाई चिन्ने र बुझ्ने नयाँ अवधारणा चाहिन्छ ।’

पुस्तकमा इतिहास लेखन परम्परा, उत्पीडित समुदायले भोगेको नेपाल, उनीहरुले निर्माण गर्न खोजेको नयाँ नेपाल, विकासको इतिहास, बौद्धिकताको इतिहास, शिक्षाको इतिहास र नेपाली मिडियाको पछिल्लो समयको चरित्रका बारेमा बहस छ । आफ्नो पुस्तक ‘समकालीन इतिहासलाई हेर्ने नयाँ दृष्टि’ भएको दावी पाठक गर्छन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: