झापा, १६ असार । काठमाडौंको टँुडिखेलबाट १७ दिन अघि ‘माटो जोगाऔं’ भन्ने अभियान लिएर म्याराथुन दौड सुरु गरेका पर्वतका युवा नविन पुन मगर आज झापा आइपुगेका छन् ।
उनले ७५ दिनमा ३ हजार ५०० किलोमिटरको दूरी पार गर्दै ७७ वटै जिल्लामा म्याराथन दौड गरेर पुग्ने लक्ष्य लिएका छन् ।
झापामा आउँदा उनले १५ जिल्ला पार गरिसकेका छन् । उनी झापाको बिर्तामोड हँुदै आजै इलाम जिल्लातर्फ लागेका छन् ।
झापामा उनलाई आज कनकाई नगरपालिकामा रहेको हरिकूल नमूना उच्च माध्यमिक विद्यालयले भव्य स्वागत गरेको छ ।
विद्यालयले समेत लामा समयदेखि माटो जोगाऊ अभियान सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रमा बोल्दै उनले विश्वमा हरेक सेकेन्ड १२ कठ्ठा जमिन मरुभूमि हुने गरेको बताउँदै भने, “यही तरिकाले माटोको मौलिकता हराउँदै जाने हो भने अवको ६० बर्षमा जमिनमा उब्जाऊ हुन छाड्छ ।”
उनले माटोको प्रांगारिकपन नेपालमा दुई प्रतिशतभन्दा कम रहेको जानकारी दिँदै नेपालको माटो ‘डेन्जर जोन’मा परिसकेको बताए । उनका अनुसार कम्तीमा माटोमा तीन प्रतिशत माटोको अग्र्यानिकपन हुन आवश्यक छ ।
कार्यक्रमलाई मगरलाई स्वागत गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुर्खाले जोगाइदिएको माटोलाई हामीले थप अग्र्यानिक बनाउनका लागि पहल गर्नुपर्ने बताए ।
विद्यालयका पिन्सिपल रोशन केसीले हरिकुल नमूना उच्च मावि माटो जोगाउने अभियानमा जोडिसकेको जानकारी दिदै यस आन्दोलनमा जोडिनका लागि सबैमा आह्वान समेत गरे ।