काँकडभिट्टा । मानसिक सन्तुलन गुमाएकी एक सुत्केरीको आज विहान झापाको बाहुनडाँगीस्थित भृकुटी बजारबाट उद्धार गरेर मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।
उनलाई झापाको महिला तथा बालबालिका कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले स्थानीयको सहयोगमा उद्धार गरेर अस्पताल पुर्याएको हो ।
मधेशी मूलकी जस्ती देखिने नाम ठेगाना नखुलेकी करिब २५ बर्षीया ती महिलाले आजै विहान मान्छे नबस्ने एउटा खाली टहरोमा शिशु जन्माएकी इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक दुर्गा रेग्मीले बताइन् ।
सुत्केरीको क्रममा अत्याधिक रक्तस्राव भएका कारण कमजोर भएकी र नवजात शिशुको अवस्था समेत वेवारिसे भएकोले तत्कालै उद्धार गरी अस्पताल पुर्याइएको महिला तथा बालबालिका कार्यालय झापाका प्रमुख इन्दिरा ओझाले बताइन् ।
मेची अञ्चल अस्पतालमा उपचाररत ती महिलालाई रगत दिइएको छ भने शिशुको अवस्था सामान्य रहेको प्रमुख ओझाले जानकारी दिइन् ।