धुलाबारी । ससुराको मृत्युमा दागबत्ती दिन जाँदा परिवारबाटै कुटपिट व्यहोरेकी अर्जुनधारा–८ हात्तीकिल्लाकी अमिता गौतमलाई न्याय दिलाउन घर र माइती दुबैतिरका गाउँले एकजुट भएका छन् ।
असार २१ गते ससुरा खड्गप्रसाद गौतमको मृत्यु भएपछि दाहसंस्कारका लागि लैजाने दिन असार २२ गते दिउँसो बुहारी अमितामाथि सासुआमा चन्द्रकला गौतम, आमाजु रोजी नेपाल र भाञ्जा विराज सुबेदीले समाजका सामू घरमै लात्तैलात्ताले कुटेका थिए ।
घरमा काजकिरिया गर्न नदिने उद्देश्यले कुटपिट गरिए पछि अमिताले मेचीनगर–१० धुलावारीस्थित माइतीमा बसेर ससुराको काजकिरिया एक्लै बारिरहेकी छन् ।
यसैविच, गौतम परिवारले अमितामाथि गरेको ज्यादतिबाट असन्तुष्ट हात्तीकिल्लाका स्थानीयबासी मानाचामल पुर्याउन मृतकका छोराहरुले काजकिरिया बारिरहेको घरको साटो पीडित अमिताको माइतीमा आज आइपुगेका छन् ।
हात्तीकिल्लास्थित समाज सुधार समिति सिंहवाहिनीको अगुवाइमा सयौँ गाउँले गाडी रिजर्भ गरेर आज धुलावारी आइपुगेका हुन् ।
अर्जुनधारावासीले गौतम परिवारले बुहारी अमितालाई घरमा लगेर काजकिरियामा नराखेसम्मा सामाजिक वहिष्कार गर्ने निर्णय गरिएको जनाउँदै त्यसैकारण मानाचामल मृतकको घरमा लैजानुको साटो पीडित बुहारीको माइतीघरसम्म ल्याउन बाध्य हुनुपरेको बताएका छन् ।
घरगाउँलेले आफुहरु गौतम परिवारको ज्यादतिविरुद्ध लड्ने र अमितालाई न्याय दिलाउन लागि पर्ने बताएका छन् ।
समाज सुधार समिति सिंहवाहिनीका सदस्य किशोर श्रेष्ठले मानाचामल पुर्याउन आएका सयौँ गाउँले र अमिताका माइती पक्षलाई सम्बोधन गर्दै गौतम परिवारबाट बुहारीमाथि भएको ज्यादतिले आफुहरु लज्जित भएको बताए ।
‘मलामीहरु बसमा चढिसकेका थियौँ, बुहारी नानीमाथि हातपात भयो’, श्रेष्ठले गौतम परिवारबाट भएको कुटपिट घटनाको निन्दा गर्र्दै भने–‘यो त अति नै भयो, हात्तीकिल्ला ठाउँकै बद्नाम गरे गौतम परिवारले ।’
बुहारी अमितामाथि लामो समयदेखि हिंसा हुँदै आएको र ससुराको काजकिरिया गर्न समेत नदिएर कुटपिट गरिएकाले गौतम परिवारलाई सामाजिक वहिष्कार गरिएको उनले बताए । उनले अर्जुनधाराबासी अमिताले न्याय पाउनु पर्ने पक्षमा रहेको बताए ।
मानाचामल बुझाउन आएको समूहलाई अर्जुनधारा नगरपालिका वडा नं. ८ का वडा सदस्य सुशिला सुबेदी र सेवन्त ढकालले समेत सम्बोधन गरेका थिए ।
सात समुन्द्रपारि भएका आफन्तहरु काजकिरिया गर्न आइपुग्ने हाम्रो संस्कार रहेकोमा माइतीमा भएकी बुहारी आउँदा काजकिरिया गर्न नदिएर कुटपिट गरिनु गौतम परिवारको अमानवीय ज्यादति भएको जनप्रतिनिधि सुबेदीले बताइन् ।
‘पारिवारिक विवादहरु थिए भने काजकिरिया सकिएपछि मिलाउँदा भैहाल्थ्यो’, वडा सदस्य सुबेदीले भनिन्–‘तर यसरी मलामी जान लागेकी बुहारीमिाथि कुटपिट गरिनु हुँदैनथ्यो, यस्तो अन्याय अरु कसैमाथि पनि नपरोस् ।’
नारी सशक्तिकरण समाज दमककी अध्यक्ष लता चापागाइँले २१ औँ शताब्दीमा महिलामाथि यस्तो अन्याय सहन नसकिने उल्लेख गर्दै ज्यादतिमा संलग्न गौतम परिवारलाई दवाव सिर्जना गर्न मानाचामल नै पीडितको माइतीमा ल्याउने साहस गरेकोमा हात्तीकिल्लाको समाजलाई धन्यवाद दिएकी छन् ।
एकल महिला जागरण समूह झापाकी अध्यक्ष दुर्गा आचार्यले कुटपिटमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कार्वाही गर्न माग गरेकी छन् ।
उनले बुहारीलाई कुटपिट गराउन जनप्रतिनिधि समेत रहेका काकाससुरा संलग्न भएकोमा विडम्बना व्यक्त गरिन् ।
धुलावारीकी महिला नेतृ रेणुका डाँगीले अमितामाथि भएको दूव्र्यवहार दर्दनाक भएको जनाउँदै यसलाई सहेर बस्न नसकिने बताएकी छन् ।
गौतम परिवारले अविलम्ब घटनाप्रति क्षमा माग्दै अमितालाई मृतककै घरमा लगेर ससुराको काजकिरिया गर्ने वातावरण नबनाए स्थानीय प्रशासन समेतको सहयोगमा हजारौ महिलाले अमितालाई गौतम परिवारसँगै मिसाएर शुद्याइ गराउने उनले चेतावनी दिइन् ।
कार्यक्रममा अमिताका भाइ अमर रिजाल, प्रेस क्लव मेचीनगरका अध्यक्ष ज्ञानेन्द्र निरौला र अर्जुनधाराका युवा नेता कृष्ण शेर्माले समेत मन्तब्य व्यक्त गरेका थिए ।