मानिसका जरा

  प्रकाशित मिति
२४ बैशाख २०७५, सोमबार १०:५१



मानिसका जरा हुन्छन् भन्दा पत्याउन नसकिएला । तर, मैले महसुस गरेँ कि मानिसका जरा हुँदा रहेछन् । मानिस सामाजिक प्राणी भएका कारण उसका जरा समाजमा हुँदा रहेछन् । रुख बिरुवाका जरा तिनैसँग जोडिएर माटामा पैmलिएका हुन्छन् भने मानिसका जरा पनि मानिससँगै जोडिएर समाजमा गाडिएका हुँदारहेछन् ।

रुख विरुवाका जरा माटामुनी हुने भएकाले ती सजिलै देखिदैनन् तर रुख बिरुवा हुर्कने, बढ्ने, पैmलने, हुरीबतासबाट जोगिने, जोगाउने जस्ता काम तिनै जराले गरिरहेका हुन्छन् । रुख विरुवालाई चाहिने खनिज पदार्थ तिनै जराको मद्दतले पाइरहेको हुन्छ । तर, देख्नेले रुख मात्रै देख्छन् जरा देख्दैनन् । यदि जरा कमजोर भयो भने रुख बिरुवा स्वतः कमजोर हुन्छन् । यति कुरा त सबैले बुझेकै हो ।

मानिस चलायमान प्राणी भएकाले उसका जरा पनि सीमित ठाउँमा मात्रै नभएर उसको पहुँच भएसम्मै हुने गर्छ । मानिस विवेकशील प्राणी भएकाले उसका जरा उसँग भएको विवेकका आधारमा विस्तार भएका हुँदा रहेछन् । त्यसैगरी मानिस बोल्ने गर्छ, ज्ञान आर्जन गर्छ, आर्जन गरेको ज्ञानको प्रयोग गर्छ, बोलीको प्रयोग गर्छ, काम गर्छ, सृजना गर्छ । उसका काम र सृजनाको प्रभावले उसका जराको निर्माण हुँदो रहेछ ।

जरा जति धेरै र बलियो भयो रुखविरुवा त्यति नै अग्लो, बलियो, दह्रो र ठूलो भए जस्तै मानिसका जरा पनि जति बलिया, दह्रा भयो मानिस त्यति नैै बलियो, अग्लो, ठूलो, लोभलाग्दो र काम लाग्दो अर्थात सबैले माया गर्ने खालको हुँदोरहेछ । मानिसले समाजबाट धेरै माया पाउने अवस्था बनाएको छ भने सम्झिनु पर्छ कि त्यो मानिसका जरा समाजमा धेरै परपरसम्म र मानिसका मनभित्र पुगेका रहेछन् । हरेक मानिस उभिएको पहिलो आधार घरपरिवार र त्यसपछिको आधार समाज हो । त्योभन्दा माथिको कुरा भनेको राष्ट्र हो, विश्व हो ।

प्राय सबै मानिस परिवारको लालनपालन, मायाममता र रेखदेखमा हुर्किएका हुन्छन् । त्यसैले ठूलो भएपछि उनीहरुको पहिलो कर्तव्य हुन्छ ऊ आफ्नो परिवार प्रति जिम्मेवार बनोस् । परिवारप्रति जिम्मेवार बन्नुको अर्थ आपूmलाई सानो छदा जन्माउने, हुर्काउने, जोगाउने, मायाममता गर्ने र सम्मान गर्नेलाई यथोचित मानसम्मान, रेखदेख, पालनपोषण, सुरक्षा आदि प्रदान गर्न महत्वपूर्ण योगदान गरोस् । कहिले कहीँ जन्माउने र हुर्काउने फरकफरक हुन सक्छन् । यस्तो बेलामा मानिसले जहाँ हुर्कने अवसर प्राप्त ग¥यो त्यो नै उसको परिवार हुन पुग्छ ।

परिवार पछिको दोश्रो महत्वपूर्ण सम्बन्ध मानिसको आफन्त र समाजसँग हुन्छ । व्यक्ति परिवारको सदस्य भए जस्तै परिवार समाजको सदस्य हुन्छ । परिवारप्रति जिम्मेवारी भएजस्तै समाजप्रति पनि जिम्मेवारी हुन्छ । समाजको हितमा कुनै काम नगर्ने तर समाजलाई समेत अहित गरेर त्यही समाजको सदस्य भइरहने परिवार वा व्यक्तिका जरा समाजसँगै गासिएका त हुन्छन् तर कमजोर हुन्छन् । अर्थात सधैँ आफ्नै बारेमा मात्रै सोच्ने र काम गर्ने मानिसले समाजको हित नगर्ने मात्रै होइन अहित हुने, नोक्सान हुने र गर्न नहुने काम गरिरहेको हुन्छ । तिनलाई परेको बेला समाजले किन सम्झन्छ र ? जुन परिवार वा व्यक्तिलाई समाजले वास्ता गर्दैन वा सम्झिदैन उनको जरा समाजमा पुगेको छैन भन्ने बुझिन्छ । भलै त्यस्ता मानिस देखाउनलाई र कुरा गर्नलाई समाजको अब्बल दर्जाको नागरिक भएको, समाजमा धेरै योगदान गरेको, समाजले सधै सम्मानपूर्वक सम्झने गरेको भनेर गफ गर्न पनि सक्छन् । केही मानिस समाजमा गुमनाम बनेर आप्mनो दैनिकी गुजार्छन् । यस्ता मानिसले पनि समाजलाई केही न केही त योगदान गरिरहेकै हुन्छन् । यस्ता मानिसलाई पनि समाजले कता हो कता राम्रो नमाने पनि नराम्रो मान्दैन । केही मानिस समाजको भलो हुने काम लगभग गर्दैनन् समाजका स्थापित मूल्य मान्यताभन्दा विपरित चलेर जीवन गुजारा गर्छन् । यस्ता मानिसप्रति समाजले उति राम्रो मान्य कुरै भएन । यसरी मानिसले समाजमा आप्mनो कर्म अनुसारको प्रभाव छाडेको हुन्छ । हो, यही प्रभावलाई नै मानिसका जरा भनेको हुँ ।

यहाँ एउटा सानो प्रसँग जोडनु सान्दर्भिक ठान्दछु । कुनै गाउँमा एकजना अलि नाम चलेका मानिसको निधन भएछ । काजक्रिया सकिएपछि क्रिया गर्ने छोराछोरीको मनमा लागेछ हाम्रा बाबु स्वर्ग गए कि नर्क गए होलान् ? यो कुराको जानकारी पाउन उत्सुक भएकाले कसलाई सोध्ने भनेर विचार गरेछन् । निकै गमेछन् । धेरै सोचविचार पछि उनीहरुले पत्याएका दुईजना टाढाका मानिसलाई गएर सोधेछन् । ती दुवैजनाले एउटै जवाफ दिएछन् र भनेछन् तिमीहरुका बाबु स्वर्ग गए कि नर्क गए भन्ने कुरा तिम्रा गाउँका मानिसलाई थाहा छ । उनीहरु अलमलमा परेछन् । फेरि सोधेछन् गाउँलेलाई कसरी थाहा हुन्छ ? ती दुवै बुद्धिमान र विवेकी मानिसले भनेछन्, हेर यदि गाउँका मानिसले स्वर्ग जाउन भने भने स्वर्ग जान्छन् र नर्क जाउन् भने भने नर्क जान्छन् । तर, गाउँलेले मुखले होइन मनले यस्तो चिताउनु पर्छ, मनले भन्नुपर्छ भनेछन् । यसको अर्थ थियो उनले गरेका कामले गाउँलेको मनमा कस्तो प्रभाव परेको छ भन्ने हो ।

समाजमा मानिसका जरा कति परपरसम्म पुगेका छन् भनेर थाहा पाउन विशेष सन्दर्भ पर्नुपर्छ । जस्तै विवाह, वर्तबन्ध, निधन, पूजाआजा, जन्मदिन, बिरामी आदि । अर्थात सुखदुखको सन्दर्भ ।

एकपटक गाउँका धनी मानिसका छोराको अल्पायुमै कुलतमा फसेकाले निधन हुन पुग्यो । मलामी उति धेरै थिएनन् । तर पनि अन्त्यष्टि कर्म गर्नु पथ्र्यो, भयो । सुध्याइँको दिन मलामी र आफन्तजनलाई बोलाएर खुवाउने चलन भएकाले त्यही अनुसारको व्यवस्था भएको थियो । तर, त्यो सुध्याइँको दिन उनको घर परिवारका अतिनिकट मानिस बाहेक कोही गएनन् । पकाए तुल्याएको सबै समान साँझमा प्mयाक्नु परेको थियो भनेको सुनेँ । सम्झेँ त्यो परिवारको जरा समाजमा उति पैmलिएको रहेनछ । मानिसले गफगाफमा भन्ने गर्थे उनकामा किन खान जानु । उनी कुन गतिला मानिस हुन र ?

असल मानिस र ठूला मानिसका बीचमा केही फरक छ । मानिस असलभन्दा पनि ठूलो हुन जोडबल गर्छन् । ठूला मानिस भनिनेहरुको आकर्षण उनको पद, पैसा र पावरसँग हुने गर्छ । जब पद, पैसा र पावर उनीहरुबाट टाढा हुन्छ तब त्यस्ता ठुला मानिसको आकर्षण ह्वात्तै घटछ । तर, असल मानिसलाई मानिसले सधँै सम्झने गर्छन् । श्रद्धापूर्वक सम्मान गर्छन् ।

कहिलेकाहीँ यस्तो संयोग पनि हुन्छ, ठुलो मानिस र असल मानिस एउटै हुन्छन् । वास्तवमा यस्ता मानिस दुनियाँमा निकै कम हुन्छन् । तर, समाजमा ठूला मानिसको अभाव हँुदैन । किनकि धेरै मानिस ठूलो हुन नै सधैँ प्रयास गरिरहेका हुन्छन् । ठूलो मानिस भएस् भनेर सानैदेखि आप्mना अभिभावक एवम् मान्यजनले भनेका हुन्छन् ।

समाजमा ठूला मानिसको प्रभाव हुन्छ तर मानिसको मनमा असल मानिसको प्रभाव हुन्छ । समाजमा प्रभाव जमाउनभन्दा मानिसको मनमा प्रभाव जमाउनु निकै कठिन काम हो । तिनै मानिसका जरा समाजमा गहिरो गरी भिजेका हुन्छन् जसले मानिसको मनमा आदरका साथ स्थान पाउँछन् । त्यसैले हामीले समाजमा भन्ने गरेको ठूलो मानिस हुनु भनेर आसिस दिनुभन्दा असल मानिस हुनु भन्नु धेरै उपयोगी हुन्छ । किनकि ठूला मानिसको कारण समाजमा नराम्रा र अरुको अहित हुने काम पनि हुन सक्छ जबकी असल मानिसले अरुको मन दुखाउने र समाजको अहित गर्ने काम गर्दैनन् । भलै ठूला मानिस जति असल मानिसको प्रभाव परपरसम्म नपुगेको होस् । भनिन्छ धेरैले चिन्नुभन्दा बरु थोरैले चिनुन् तर जतिले चिन्छन् तिनले असल भनेर चिनुन् । यो नै सफल र उत्तम जीवन हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: