मापदण्ड विपरित बन्दै गरेको सहीद मार्गको कार्य रोक्न नगरको निर्देशन

  प्रकाशित मिति
२ जेष्ठ २०७५, बुधबार ०९:२७


मेचीनगर । मेचीनगर नगरपालिकाले वडा नं. १० को शहिदमार्गमा मापदण्ड मिचेर काम भइरहेको भन्दै कालोपत्रे निर्माण कार्य रोक्न उपभोक्ता समितिलाई पत्र पठाएको छ ।

नगरपालिकाले तोकेको मापदण्ड र सम्झौता बमोजिम काम नभइरहेको भन्ने जनगुनासो आइरहेका बेला नगरपालिकाले नै उपभोक्ता समितिलाई पत्र पठाएर सचेत गराएको हो ।

नगरपालिकाले शहिद मार्ग कालोपत्र निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र कट्टेललाई गत बैशाख २८ गते पत्र पठाई निर्माण कार्य रोक्न आदेश दिएको हो ।

धुलावारीबाट भद्रपुर र चन्द्रगढी जोड्ने अति व्यस्त सो सडकमा निर्माण कार्यका लागि भन्दै बाटो समेत बन्द गरिएको दुई महिना पुग्न लागिसकेको छ ।

एकातिर निर्माण कार्य सुस्त हुनु र अर्कातिर नगरपालिकाले नै उपभोक्ता समितिलाई सचेत गराउनु पर्ने अवस्था आएपछि सडकको काम अधुरै हुने हो कि भन्ने शङ्का उब्जिएको छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदीले हस्ताक्षर गरेको सो पत्रमा ‘कालोपत्रे गर्ने कार्य सम्बन्धित प्राविधिक एवम् साइट इञ्चार्जको निर्देशन पालना नगरी गर्दै गरेको बुझिएको हुँदा तत्काल कार्य रोक्का गरी यस कार्यालयमा उपस्थित हुन’ उपभोक्ता समितिका अध्यक्ष कट्टेललाई अनुरोध गरिएको छ ।

पत्रको बोधार्थ वडा अध्यक्ष सुदय पनेरु, उपप्रमुख मीना उप्रेती र नगर प्रमुख विमल आचार्यलाई पठाइएको छ ।
मेचीनगर नगरपालिकाको ७० लाख र उपभोक्ताको ३० लाख सहभागिता गरी कूल १ करोड रुपैयाँको लागतमा शहिद मार्गको शान्तिचोकदेखि दक्षिण इन्द्र बुढाथोकीको घर छेउछाउसम्म कालोपत्रे गर्नका लागि कट्टेलको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो ।

सोही उपभोक्ता समितिले सडक निर्माण गरिरहेको छ । समितिले भद्रपुरका निर्माण व्यवसायी हरि घिमिरेलाई कालोपत्रे कार्य गर्न ठेक्का दिएको छ ।

नगरपालिकाका प्राविधिकहरु सो बाटोको कालोपत्रे कार्यमा ठेकेदार पक्षले कमसल गिटी र न्यून गुणस्तरको बिटुमिन प्रयोग गरेको बताउँछन् ।

‘हाम्रो नगरपालिकाबाट खटिएका प्राविधिकहरुले मापदण्ड पूरा गर्न फिल्डमै अनुगमन गरेर बारम्बार सचेत गराउँदा समेत उपभोक्ता समितिले अटेर गरेको हुँदा काम रोक्न आदेश दिनु परेको हो’–अनुगमनमा खटिएका नगरका एक प्राविधिक भन्छन्–‘सडक निर्माण गुणस्तरीय हुनु पर्नेमा हाम्रो सरोकार रहन्छ ।’

उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र कट्टेल नगरपालिकाले दिएको निर्देशन र स्वीकृत मापदण्डको पालना गर्न उपभोक्ता समिति प्रतिबद्ध रहेको बताउँछन् ।

‘नगरपालिकाले बिटुमिन राम्रो भएन भन्यो’, अध्यक्ष कट्टेल लोकतन्त्र पोस्टसँग भन्छन्–‘हामीले पहिले ल्याइएको सबै बिटुमिन फर्काउन लगायौँ ।’

नगरपालिकाले काम रोक्न पत्र पठाएको भोलिपल्टै आफु नगरपालिकामा उपस्थित भएको उनले बताए ।
‘किन कामै रोक्नु भएको भनेर मैले सोधेँ’, अध्यक्ष कट्टेलले नगरपालिकाका पदाधिकारीहरुसँग भएको कुराकानी बारे बताउँदै भने–‘उहाँहरुले राम्रोसँगले काम गर्नुहोस्, फुकुवा पठाइदिने छौँ भन्नु भएको छ ।’

हाल काम रोकिएको र ढिलासुस्ती समेत भइरहेको विषयमा ध्यानाकर्षण गराउँदा अध्यक्ष कट्टेलले बिटुमिन पकाउने मेशिन र ज्यालादारी कामदारहरु नभएर काममा बिलम्ब भइरहेको स्वीकार गरेका छन् ।

‘दाउराले अलकत्रा नपकाउने सोच राखेर मेशिन नै खोज्ने काम भइसकेको छ’, उनले भने–‘अब ज्यालादारी कामदार खोज्न साथीहरु इण्डिया जानु भएको छ ।’

उपभोक्ता समितिले सडक कालोपत्रे कार्यका लागि नगरपालिकासँग गत चैत ६ गते सम्झौता गरेका थियो भने भोलिपल्टैदेखि काम सुरु गरेको थियो ।

तर बैशाख १२ गते कालोपत्रे सुरु गर्दा बिटुमिन (अलकत्रा)को गुणस्तरमा प्रश्न उठेपछि काम रोकिन पुगेको अध्यक्ष कट्टेल बताउँछन् ।

सो सडकको कालोपत्रे कार्य यही असार मसान्तसम्ममा सम्पन्न भइसक्नु पर्ने सम्झौतामा उल्लेख छ । तर यस्तै विवाद र ढिलासुस्ती भइरह्यो भने निर्धारित अवधिमा निर्माण कार्य सम्पन्न हुन मुस्किल छ ।

बर्खा लाग्न थालिसकेको हुँदा कालोपत्रको गुणस्तर समेत राम्रो नहुने हो कि भन्ने आशङ्का बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: