माफिया तन्त्रबाट कसरी जोगिने ?

  प्रकाशित मिति
३२ श्रावण २०७४, बुधबार ०९:१८


ramchandra-daiनेपाली समाजमा माफिया शब्दको चलन छ । यसको अर्थ के होला ? मैले नेपाली शब्दसागर पल्टाएँ, त्यसमा भेटिनँ । तर पनि राजनीतिमा, समाजमा यो शब्द निकै चल्तीमा छ । मैले बुझेको आधारमा यसको अर्थ र प्रभावका बारेमा केही भन्न र लेख्न आवश्यक ठानेँ ।

पञ्चायतकालमा भूमिगत माफियाको खुब चर्चा भयो । अझ पत्रकार पदम ठकुराठीको हत्या प्रयासपछि त यो शब्द एकदमै चल्तीको बन्यो । राजनीति र मिडियामा मानिसले यसको खुवै प्रयोग गरे । बहुदलीय व्यवस्थामा केही समय यो शव्दको प्रयोग राजनीतिमा उति भएन । तर, व्यवसाय गर्नेहरुसँग जोडेर यसको प्रयोग भयो । जस्तैः जग्गाको कारोवार गर्ने कतिपयलाई भू–माफिया भनियो । कहिले माफियाले जङ्गल सखाप पारे भनियो, कहिले चुरेदोहनमा माफिया सकृय भए भनियो । अहिले मेडिकल माफिया भन्ने शव्दको प्रयोग धेरै हुने गरेको छ । शिक्षामा माफिया, स्वास्थ्यमा माफिया, मिडियामा माफिया अर्थात यत्रतत्र माफिया हाबी भए भनेको सुनियो । राजनीतिमा माफिया हाबी भएको भन्ने पनि सुनिन्छ । के हो माफिया भनेको ? यसको बारेमा अलिकति मन्थन गरौँ ।

मेरो बुझाईमा माफिया भनेको देशमा चलनचल्तीका र स्थापित संविधान, नीति, नियम, कानुन, विधि आदिलाई छलेर, अपव्याख्या गरेर, मुलुक र समाजको अर्थात बहुजनको हित हुने कार्य नगरी केही धुर्त मानिसले धेरैलाई गुमराहमा पारेर आप्mनो स्वार्थ सिद्ध गर्न राज्यका स्थापित निकाय अर्थात वैधानिक अङ्गहरुको दुरुपयोगमा संलग्न व्यक्तिहरुको समूह हो । यसमा नीतिगत दुरुपयोग, संविधान र कानुनका छिद्रहरुको अपव्याख्या गर्ने कार्य समेत गरिन्छ । जस्तैः पञ्चायतकालमा भूमिगत गिरोह र भूमिगत माफिया भन्नाले तत्कालीन राजपरिवारका शक्तिशाली सदस्यले आफूले पाएकोभन्दा धेरै अधिकार प्रयोग गरेर राज्यका विभिन्न अङ्गहरुलाई प्रभावित गर्ने र आप्mनो स्वार्थ पूरा गर्ने कार्य गरेका थिए । यस्तो कार्यबाट उनीहरुले प्रशस्त आर्थिक लाभ लिने गर्थे । आप्mनो आर्थिक लाभको साम्राज्यलाई सुरक्षा प्रदान गर्न राज्य अङ्गका प्रमुख मानिसलाई लोभलालच, डरधम्की आदि देखाएर सधँै आप्mनो प्रभावमा पार्ने गर्थे । यस्ता सञ्चालित उच्चतहमा बसेका मानिसले देश र जनताको होइन, यस्ता गिरोह अर्थात माफियाको सेवा गर्थे । तलव सुविधा राज्यको लिने, सेवा माफियाको गर्ने यिनीहरुको चरित्र हुन्छ । यस्तो सेवा गरेवापत अतिरिक्त आर्थिक लाभ, पदीय प्रमोसन, सुरक्षा, सम्मान, पुरस्कार सबै पाउँछन् । यस्तो गिरोह अर्थात माफियाले कसलाई नेता बनाउने, कसलाई कुन पदमा पुर्याउने, कुन–कुन व्यक्ति आप्mनो प्रतिकूल छन् पहिचान गर्ने, त्यस्तालाई सिध्याउने, अपमान गर्ने जस्ता काम गर्छन् । अर्थात राज्यका अङ्गहरुका सेटिङ गरेर निर्वाध आप्mनो गैरकानुनी धन्धा चलाउने काम गर्छन् । पञ्चायतकालमा यस्तो कामको अगुवाई विशेष गरी राजपरिवारका मानिसले गर्ने र अरु प्रभावशाली मानिसले सघाउने गरेका थिए । पञ्चायतकालीन आइजीपी डीवी लामा यस्ता पात्रका उदाहरण हुन् । तत्कालीन भूमिगत राजनीतिक पार्टी नेपाल कम्युनिस्ट पार्टी र नेपाली काङ्ग्रेसले मुलुकको शासन पद्धतिमा यसखाले हस्तक्षेपको विरोध गर्दै जनतालई सचेत गरेर आन्दोलन चर्काएका थिए । यस्तै आन्दोलनका बलमा २०४६ सालमा पञ्चायत ढलेको थियो । राजपरिवारको हालिमुहाली खुम्चिएको थियो ।

माथिको कुराबाट के बुभ्mन सकिन्छ भने माफिया भनेको यस्तो गैरकानुनी समूह हो, जसले सङ्गठित रुपमा राज्यका मुख्य–मुख्य अङ्गहरुलाई प्रभावित गरेर आप्mनो स्वार्थपूरा गर्ने कार्य गर्दछ । तन्त्र भनेको शासन हो । जसरी हामी प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र, जनतन्त्र भन्छौँ त्यसले जनताको शासन भन्ने अर्थ लगाउँछ । यसलाई अङ्ग्रेजीमा डेमोक्रेसी भन्ने शब्दले सम्वोधन गर्छ । अब माफिया तन्त्रको अर्थ बुभ्mन सकिन्छ । यस्तो गैरकानुनी समुह जसले राज्यका मुख्य–मुख्य अङ्गहरुलाई आप्mनो प्रभावमा पारेर शासन गर्ने गर्छ । यस्तो शासनको मुख्य उद्देश्य देशको भलो गर्ने नभई निश्चित स्वार्थी समूहले देशको साधन, स्रोतमा कब्जा जमाएर, सत्तामा बस्नेलाई प्रभावित गरेर निरन्तर आप्mनो स्वार्थ पूरा गर्ने कार्य गर्दछन् । यस्ता समूहले नीतिगत भ्रष्टाचारदेखि नक्कली नोटको कारोवार, लागुऔषधको व्यापार, सुनको तस्करी, बहुमूल्य वस्तुको तस्करी, सत्ताका प्रमुख स्थानमा आप्mनो अनुकूलका मानिसको पदस्थापना आदि कार्य गर्छन् । जहाँ राज्य कमजोर हुन्छ, त्यहाँ माफिया हावी हुने गर्छन् । अर्थात राज्य बलियो भयो भने माफिया कमजोर हुन पुग्छन् । त्यसैले यस्ता समूहले राज्यलाई सधैँ कमजोर बनाइराख्न चाहन्छन् । राजनीतिज्ञ, न्यायलय, प्रशासन, प्रहरी, व्यवस्थापिका सबैलाई प्रभावित गरेर आप्mनो अनुकूलको निर्णय गराउने, नियम बनाउनेसम्मका काम यस्ता समूहले गर्ने गर्छन् ।

नेपालमा यतिखेर राजनीतिकोभन्दा पनि राजनीतिज्ञको हुकुम चल्ने गरेको छ । पार्टीमा नेताभन्दा बोस धेरै छन् । नेता जनताको आवश्यकता र भावना अनुसार काम गर्छन् तर बोस जनतालाई थर्काएर, करमा पारेर जनतालाई कज्याउने काम गर्छन् । बोसले जनताको अनुकूलमा होइन, आप्mनो अनुकूलका लागि काम गर्छन् । नेताका शक्तिको श्रोत जनता हुन् भने बोसको शक्तिको श्रोत हाकिम, माथिल्लो तहका बोस र माफिया हुने गर्छन् । त्यसैले बोसले जनतासँगभन्दा माफियासँग हिमचिम बढाउने गर्छन् ।

अहिले नेपालमा बाहिरी रुपमा हेर्दा राजनीतिक दल छन्, तिनले छानेको सरकार छ, अदालत छ, स्वतन्त्र आयोगहरु छन्, जनताको सेवा गर्न सरकारी ढुकुटीबाट सेवा सुविधा लिएका कर्मचारी छन् । तर, तिनमा माफियाको प्रभाव नजानिँदो पाराले बढिरहेको सहजै अनुमान गर्न सकिन्छ । माफियाको धर्म देश लुटेर आप्mनो स्वार्थ पूरा गर्नु हो । यो कामका लागि उनीहरु राज्यको विभिन्न अङ्गमा बसेका शक्तिशाली मानिसलाई प्रयोग गर्छन् । जो धेरै भ्रष्ट छन् तिनीहरु सजिलै प्रयोग हुन्छन् । त्यसैले पहिला यस्ता मानिसलाई भ्रष्ट हुन उक्साइन्छ । भ्रष्टहरुलाई ठाउँमा पुर्याउन पहल गरिन्छ । महत्वपूर्ण स्थानमा पदासीन गराइन्छ । अवरोध गर्न खोज्नेलाई ठेकान लाइन्छ । त्यसपछि निर्वाधरुपमा देश लुटेर आप्mनो स्वार्थ पूरा गरिरहन्छन् माफियाहरु । आफूलाई सुरक्षित गर्न माफियाहरु आप्mनो नेटवर्क बनाउँछन् । नेटवर्क बनाउन लगानी गर्छन् । कतिपय अवस्थामा पदासीन मानिस नै यस्तो नेटवर्कको केन्द्रमा हुन्छन् । लोकको अपमान गर्ने पूर्व अख्तियार प्रमुख लोकमान यसका राम्रा उदाहरण हुन् ।

कर फस्र्योट आयोगका चुडामणि शर्मा यस्तै पात्र हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको तस्करी हुनु र त्यो बर्षौँसम्म निर्वाध चल्नु त्यसैको प्रमाण हो । भू–माफिया, वनमाफिया, चुरे माफिया, राजस्व माफिया, भन्सार माफिया, मेडिकल माफिया, स्वास्थ माफिया, शिक्षा माफिया, यातायात माफिया, कति हो कति माफिया । आयल निगमलाई घायल बनाउने माफिया, बर्षौँ लोडसेडिङ गरेर मुलुकलाई अध्याँरोमा राख्ने माफिया, ठुलाठुला ठेक्कापट्टामा माफिया, खरिद विक्रीमा माफिया जताततै माफियाको राज अर्थात माफियातन्त्र हाबी हुने गर्छ । माफियालाई कमजोर नठान्नु होला तीनले राजनीतिक पार्टीका नेता, सांसद, मन्त्री, प्रधानमन्त्री, न्यायालय, आयोग, तलदेखि उपल्लोतहसम्मका कर्मचारी, जताततै पहुँच राख्छन् । कतिलाई पैसाले, कतिलाई पदले, कतिलाई लठैत लगाएर त कतिलाई कानुन लगाएरै ठेगान लाउँछन् यस्ता माफियाले । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएर ठेगान लाउनु र आप्mनो स्वार्थको रक्षा गर्नु यस्तै उदाहरण हो । यसको लागि उनीहरुले शक्तिशाली पदका शक्तिशाली मानिसलाई प्रयोग गरेको हामी सबैले देखेका, सुनेका र भोगेका छौँ ।

डा. गोविन्द केसी पटक–पटक अनसन बस्छन् मेडिकल माफियाबाट मुलुकलाई मुक्त गर्न । तर माफियाको नुन खाएकाहरु उनैले गुन लाएकाहरु टसमस गर्दैनन् । मुलुकको अर्बौँ राजस्व हिनामिना गर्ने ठुला व्यवसायी माफियाले कर फस्र्योट गर्ने आयोग आप्mनो अनुकूलको बनाउन लगाए र छुट लिए । मुलुक राजनीतिले चलाउनु पर्ने तर राजनीतिक मानिस माफियाको इसारामा काम गर्न थालेको अवस्था छ । यदि यो अवस्थामा सुधार ल्याउन सकिएन भने देशको दुर्गती हुन्छ । जनताले झनै दुःख पाउने छन् । यो अवस्थामा कसरी सुधार ल्याउने त ?
मुलुकमा पहिला कानुनको शासन कडाइका साथ लागू गर्नुपर्छ । राजनीति गर्ने मानिसले मात्रै पनि माफियासँग सम्पर्क नराख्ने हो भने तिनीसँग हिमचिम बढाउन कर्मचारी हच्किने छन् । त्यसकारण माफियासँग सम्पर्क राख्ने राजनीतिक व्यक्तित्व जुनसुकै पार्टीका भए पनि जनताले चिन्नु पर्छ र चुनावमा बहिस्कार गर्न सक्नुपर्छ । नेताले जनताको कुरा गर्छन् र चुनाव जित्छन् तर आप्mनो फाइदाका लागि माफियासँग प्रभावमा पर्ने गर्छन् ।

कतिपय अवस्थामा चुनावमा माफियाले नेतालाई सघाउँछन्, लगानी गर्छन् । चुनावमा उम्मेद्वार बनाउन पहल गर्छन्, लविङ गर्छन् । जबसम्म राजनीतिक पार्टीका प्रभावशाली व्यक्तिले माफियासँगको संसर्ग कायम राख्छन्, तबसम्म मुलुकमा माफियाको प्रभाव कम हुनेवाला छैन । त्यसैले देशभक्त, इमान्दार पार्टीका कार्यकर्ताले पार्टीमा खराव चरित्रका मानिसलाई राजनीतिमा हालीमुहाली गर्न दिनु हँुदैन । यदि खराव चरित्रका मानिसलाई पार्टीले उम्मेद्वार बनाई हालेछ भने मतदाताले त्यस्ता उम्मेद्वारलाई चुनावमा दण्डित गर्नुपर्छ । यदि राजनीतिको अर्थात पार्टीको आवरणमा माफियासँग जोडिएका, बाक्लो संसर्ग भएका पार्टीका मानिसलाई असहयोग गर्नुपर्छ । यो लामो प्रकृया हो । तर, यही बाटो नहिँडी हामी माफियातन्त्रबाट मुक्त हुन सक्दैनौँ । त्यसैले राजनीतिज्ञसँग जोडिएको माफियातन्त्रको अन्त्यका लागि संकल्प गरौँ । क्षणिक फाइदाका लागि होइन, बृहत हितका लागि अगाडि बढौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: