‘माफ गर छोरी, तिमी बोलाइरहेकी थियौँ तर म आउनैँ सकिनँ’

  प्रकाशित मिति
४ जेष्ठ २०७८, मंगलवार १३:२३


 

झापा, ४ जेठ । इजरायली हवाई आक्रमणमा ध्वस्त भएको घरभित्र पुरिएकी गाजाकी छ वर्षीया बालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ ।
सुजी एस्कुन्ताना नामकी ती बालिकालाई अहिले गाजाको सबैभन्दा ठूलो अस्पतालमा भर्ना गरिएको छ । गत आइतबार इजरायलले गरेको हवाई आक्रमणमा उनको घर ढल्दा उनकी आमा र चार जना भाइबहिनी बितेका छन् ।

सात घन्टासम्म भग्नावशेषमा पुरिएकी सुजीलाई उद्धारकर्ताहरूले निकालेर सिफा अस्पताल पुर्याएका थिए । सोही अस्पतालमा उनका घाइते बुवा रियाद एस्कुन्तानाको पनि उपचार भइरहेको छ । ‘मलाई माफ गर, मेरी छोरी। तिमी बाबा आउनु भन्दै रोइरहेकी थियौ तर म आउनै सकिनँ,’ छेउकै अर्को बेडमा आइपुगेकी छोरीका हात चुम्दै रियादले भने ।

गाजा सहरमा रहेको उनीहरूको घर आइतबार बिहानै इजरायलले हानेको रकेटले ध्वस्त बनाएको थियो । आइतबारमात्रै इजरायलले गरेको आक्रमणमा परी ४२ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

इजरायलले गाजालाई नियन्त्रणमा लिएको विद्रोही सैन्य समूह हमाससँगै इस्लामिक जिहादलगायत अन्य समूहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको छ । ती समूहले अहिलेसम्म २ हजार ८ सय रकेट हानिसकेको उसको दाबी छ । गाजाबाट आएका रकेटबाट अहिलेसम्म १० जना इजरायलीको मृत्यु भएको छ। रकेट आक्रमणबाट जोगिन लाखौं मानिसहरूलाई सुरक्षित स्थानमा पठाइएको छ ।

‘यो हताहतीको कारण हमासले आपराधिक तरिकाले हामीमाथि गरिरहेको आक्रमण हो,’ इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले भनेका छन् । गाजाका विद्रोही सैन्य समूहको टनेल सिस्टमलाई लक्षित गरी गरिएको आक्रमणमा एस्कुन्तानाको घर पनि परेको थियो । दर्जनौं उद्धारकर्ता, प्रहरी अधिकारी र आफन्तले उनको परिवारको खोजी गरेका थिए ।
अस्पतालमा पुगेका आफन्तहरू सुजीका अरू भाइबहिनीको मृत्युको खबरले मर्माहत भएका देखिन्थे ।

सुजीलाई सामान्य चोट लागे पनि उनको अवस्था गम्भीर छैन। उनको एक्स–रे गरेपछि डाक्टरहरूले उनलाई बुवासँगैको बेडमा ल्याएर राखिदिएका हुन् । रियादले आफूहरू बस्ने घरमा डाक्टरहरू पनि बस्ने भएकाले परिवार सुरक्षित रहेको ठानेको बताएका छन् । उनीहरूले बच्चाहरूलाई सुरक्षित कोठामा राखेका थिए ।

‘अचानक आगोको मुस्लोजस्तो रकेट आयो र पर्खाल भत्कियो,’ रियादले समाचार संस्था रोयटर्ससँग भनेका छन्,‘हामी छोराछोरी हेर्न जाँदै थियौं । अर्को रकेट आएर बिस्फोट भयो । बिस्फोटका बेला उनले छोराछोरीले ‘बाबा, बाबा’ भनेको सुनेका थिए ।

‘म आफैं फसेको थिएँ । उनीहरूलाई हेर्न सकिनँ,’ उनले भने । सुरूमा उद्धारकर्ता आउँदा रियादले आफू जिउँदै छु भन्ने जानकारी दिन सकेनन् । आधा घन्टापछि आएका अरू उद्धारकर्तालाई मात्र उनले जनाउ दिन सके । निधारमा पट्टी बाँधेर अस्पतालको बेडमा पल्टिएका रियादले सुरूमा त आफूले पनि मर्न चाहेको बताए ।

‘दुनियाँमा भएको सबै रिसले म भरिएको थिएँ । तर जब मेरा छोरीहरूमध्ये एक जना बाँचेकी छ भन्ने सुनें भगवानलाई धन्यवाद दिएँ । यो छोरीले थोरै भए पनि मेरा अरू छोरीहरूको थोरै भए पनि मुस्कान दिनेछ किनकी यो उनीहरूकी बहिनी हो,’ रियादले भने ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: