मारिनेहरु दक्षिण झापाकै धेरै

  प्रकाशित मिति
२१ कार्तिक २०७४, मंगलवार १६:२५


भद्रपुर । पाँच वर्ष यता जङ्गली हात्तीको आतङ्क दक्षिणी झापामा बढेको छ ।

भारतसँग सीमा जोडिएको उत्तरी झापाको बाहुनडाँगीलाई ‘हात्तीपीडित क्षेत्र’ मानिदै आए पनि विगत पाँच वर्षमा यस्तो पीडा दक्षिण झापातिर सरेको छ । पृथ्वीनगर क्षेत्र त हात्तीको क्रिडास्थल जस्तै बन्न पुगेको छ ।

जिल्ला बन कार्यालय झापामा रहेको तथ्याङ्क हेर्दा २०६९ साल यता झापामा २४ जनाको मृत्यु भएको पाइन्छ । मारिनेहरु आधाभन्दा बढी दक्षिण झापाकै छन् ।

जिल्लाभरमा मृत्यु भएका २३ जनामध्ये १२ जना दक्षिण झापाका बासिन्दा छन् भने ११ जना उत्तरी झापाका र एक जना माइपश्चिम क्षेत्रका छन् ।

पाँच वर्षे अवधिमा पृथ्वीनगर (हाल भद्रपुर) क्षेत्रका मात्रै ६ जना हात्तीको आक्रमणमा मारिएका छन् । सो अवधिमा बाहुनडाँगीमा ३ जना मारिएका छन् ।

जिल्ला बन कार्यालय झापाका प्रमुख बोधराज सुबेदीका अनुसार भारतीय बथानसँग वर्षौदेखि छुट्टिएर करीव १३ वटा जङ्गली हात्ती दक्षिण झापाको जलथल जङ्गलमा बस्दै आएका छन् ।

तिनै हात्ती राति चरणका लागि गाउँ पस्दा मानवीय क्षति हुने गरेको छ ।

अधिकांश रैथाने हात्ती जलथलमा बस्ने गरेको र केही निचाझोडा तथा दहीझोडातिर घुम्ने गरेको जानकारहरु बताउँछन् ।

दिनभरि जङ्गलको झाडीमा लुकेर बस्ने ती हात्तीहरु साँझ पर्नासाथ आहारको खोजीमा पाखा निस्कन्छन् र स्थानीयबासीको खेत र घरभित्र घुसेर जे भेट्यो त्यही खाइदिन्छन् ।

पाकेर झुलेको धान, मकै र फलफुल हात्तीले मन पराउने आहार हुन् । जङ्गल छेउछाउका बासिन्दाले फलाएको बाली हात्तीका लागि सुरक्षित आहार बन्ने गरेको छ ।

बर्षभरिको मिहेनतको कमाईको रुपमा रहेको अन्नबाली खान आएको हात्तीलाई धपाउँदा मानिसमाथि हात्तीले आक्रमण गर्दै आएको छ । मान्छे र हात्तीविचको यही द्वन्द्वमा कहिले हात्ती र कहिले मानिस मारिने गरेका छन् ।

हतियार छ, तालिम छैन
चन्द्रगढी । बनको सुरक्षाका लागि सरकारले परिचालन गरेको सशस्त्र बन रक्षकहरुलाई हाल जङ्गली हात्ती धपाउन प्रयोग गरिदै आएको छ ।

गोलीगठ्ठा भए पनि हात्ती धपाउने तालिम नभएका बन रक्षकहरुले गाउँ पसेका हात्तीलाई परम्परागत तरिकाले जङ्गलतिर धपाउने गरेका छन् ।

हात्ती गाउँ पसेको खबर आउनासाथ तत्काल सो गाउँमा जाने गरेका बन रक्षकहरुले गाउँलेहरुलाई जोगाउँदै हात्तीलाई जङ्गलतिरै फर्काउन प्रयास गर्दै आएका छन् ।

‘हाम्रा बन रक्षकहरु पुगिसकेपछि मानवीय क्षति हुने गरेको छैन’, सहायक बन अधिकृत देबेन्द्र उप्रेती भन्छन्–‘किनकि, बन रक्षकहरुले गाउँलेलाई सुरक्षित रहन सल्लाह दिन्छन् र हात्तीलाई जङ्गलतिरै फर्काउन भरमग्दुर प्रयास गर्छन् ।’

हतियार साथमा भए पनि हात्तीलाई गोली हान्ने स्वविवेकीय अधिकार भने बन रक्षकहरुलाई दिइएको हुँदैन ।

बन रक्षकहरुले साइरन बजाएर हात्तीलाई धपाउने गर्छन् भने गाउँलेहरुलाई हात्ती नजिक पुग्नबाट रोक्छन् । यो तरिका परम्परागत शैलीकै छ ।

हात्ती धपाउने तालिम र सुविधा भने बन रक्षकहरुले पाउन सकेका छैनन् । जसका कारण हात्तीसँग जहिल्यै नजिक पुग्ने बन रक्षकहरुको जीवन पनि उत्तिकै जोखिममा पर्ने गरेको छ ।
………………….
दक्षिण झापाका १२ जना
ज्ञानबहादुर चाम्लिङ, पृथ्वीनगर
मङ्गलवीर तामाङ, पृथ्वीनगर
बजारी राजबंशी, बालुबाडी
भवानीप्रसाद घिमिरे, बनियानी
देबीकुमार राई, पृथ्वीनगर
झुमादेवी भट्टराई, शरणामति
जयनारारायण अधिकारी, गरामनी
बालमाया लिम्बु, भद्रपुर
शर्मिला लिम्बु, भद्रपुर
रतिलाल मेचे, हल्दिवारी
मनराज केरुङ, कचनकबल
दुर्गा कटुवाल, भद्रपुर

उत्तरी झापाका ११ जना
गणेशबहादुर भुषाल, बुधवारे
लक्ष्मीप्रसाद पौडेल, बुधवारे
शुक्र कवर, धाइजन
असली राई, बाहुनडाँगी
गोपीलाल विक, शान्तिनगर
कृष्णमाया रानामगर, बुधवारे
धनबहादुर राई, शान्तिनगर
रामचन्द्र बोगटी, अर्जुनधारा
लक्ष्मी रम्तेल, बाहुनडाँगी
डम्बरबहादुर कुँवर, मेचीनगर
मनोहरि ढुङ्गेल, बाहुनडाँगी
धनमाया कार्की, दमक
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: