मार्क्सवादी पार्टीको विकल्प छैन ः नेता कार्की

  प्रकाशित मिति
१३ बैशाख २०७७, शनिबार १५:५४


 

‘पार्टीलाई सिद्धान्तनिष्ठ ठाउँमा लैजान पर्यत्न गरिरहेका छौं । उत्पीडितलाई वाणी दिने काम मार्क्सवादले मात्रै गर्ने भएकाले मार्क्सवादी पार्टीको विकल्प छैन ।’

सामान्तया राजनीतिक दलहरुले दुईखाले चरित्र बोकेका हुन्छन् । एउटा सिद्धान्तनिष्ठ र अर्को व्यवहारवादी ।
सिद्धान्तनिष्ठ दलको दीर्घकालीन लक्ष्य हुन्छ, रणनीति हुन्छ । र, त्यो रणनीति पूरा गर्नका लागि उसले कार्यनीति बनाउँछ । अर्कोखाले दलको कार्यनीति मात्रै हुन्छ । दीर्घकालीन लक्ष्य नभएका यस्ता दलले जे–जे आउँछ, त्यहीअनुसारको व्यवहार गर्दै जान्छन् ।

व्यवहारवादी राजनीतिमा मजदुर, किसान, श्रमिकको हितमा काम गर्ने नारा दिएर चुनाव जितेका नेताहरुपछि मालिकको पक्षधर भएर निस्कन्छन् । किनभने, चुनाव जित्नका लागि झूठ बोल्नुलाई उसले व्यवहारिक राजनीति भनेर व्याख्या गर्छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने २०६३÷०६४ अगाडिसम्म दलहरु सिद्धान्तनिष्ठ नै थिए । राजतन्त्र, सामन्तवादको अन्त्य र लोकतन्त्र, जनतन्त्रको स्थापना उनीहरुका दीर्घकालीन लक्ष्य हुन्थे । दीर्घकालीन लक्ष्य भएपछि स्वतः दलहरु अन्तराष्ट्रिय सिद्धान्त, मूल्य मान्यता अनुसार निर्देशित हुन्थे ।
राजतन्त्रको अन्त्यपछि दलहरु व्यवहारवादी हुँदै गए । त्यसपछि उनीहरुले यसो गर्न सिद्धान्त दिँदैन भन्ने बिर्सिन थाले ।
उदाहरणका लागि कम्युनिष्टहरु जात–भातमा विश्वास गर्दैनथे । उ हेर कम्युनिष्ट भएर धामीझाँक्रीमा विश्वास गरेको भनिन्थ्यो । सिद्धान्तनिष्ठ राजनीति समाप्त भएपछि यस्तो कुरा सुनिन छाड्यो ।

सिद्धान्तनिष्ठ राजनीति कमजोर हुनुको पछाडि अन्तराष्ट्रिय कारणहरु पनि नभएको होइन । सन् १९८९ मा सोभियत संघ विघटन भएपछि सिद्धान्तको राजनीति जरुरी छैन भन्ने कुरा जबरजस्त स्थापित गरियो ।

पार्टी सिद्धान्तनिष्ठ भयो भने नेताहरु पनि सही बाटोमा हिँड्न कर लाग्छ, तर अहिले पार्टीहरु पार्टी जस्ता छैनन् । बेलुनजस्तो फुलाएर पार्टीले जे नगर्नुपर्ने हो, त्यही गर्ने र जेचाहिँ नगरी नहुने हो त्यही गराउने अवस्थामा पुर्याइएको छ
उदार प्रजातन्त्र र खुल्ला अर्थ व्यवस्था नै अन्तिम हो भन्ने कुरालाई बलियो बनाउँदै लगियो । उदार प्रजातन्त्रको विकल्प खोज्नु हुँदैन भन्ने कुरा आयो ।

सिद्धान्तनिष्ठ राजनीति आवश्यक छैन भनिसकेपछि पुँजीवाद यति उग्र र कर्कस भएर आयो कि उदार प्रजातन्त्रवादीहरु नै यसबाट पछि हट्न बाध्य भए ।
नेपालमा पनि ढिलोचाँडो यो आउनु थियो, आयो । सन् १९९० को दशकमा उद्योग, कलकारखाना धमाधम निजी क्षेत्रलाई जिम्मा लगाउनुको कारण पनि त्यसैको प्रभाव थियो ।

जानी–नजानी नेपाल भित्रिएको व्यवहारवादी राजनीतिले सुरुमा काङ्ग्रेसमा असर गर्यो । जसरी हुन्छ धेरै पैसा कमाएका मान्छेलाई समाजले वाहवाही गर्ने र इमान्दार, कर्तव्यनिष्ठ भए पनि पैसा नकमाउनेलाई हेयको दृष्टि राख्ने परिपाटीको विकास भयो ।
कम्युनिष्ट पार्टीमा पनि यसले विस्तारै घर गर्दै गयो । मूल्य, मान्यताको राजनीति नगर्ने व्यक्ति पनि कम्युनिष्टको नेता भए । नैतिकतामा नबस्नेहरुले पनि आफूलाई कम्युनिष्ट भनेर चिनाउन पाउने भए ।

कतिपयले भन्छन–जनता खराब भएकाले नेता पनि खराब भए भनेर तर यो सरासर गलत हो । सुरुमा नेताहरु असाध्यै स्वार्थी र व्यक्तिवादी भएपछि त्यसको प्रभाव जनतामा परेको मात्रै हो ।
नेता भनेको कसै न कसैले आर्दश मान्ने व्यक्ति हो । भाषण सुन्न आएका जनताले नेताहरुले जो बोल्छन् त्यो मात्रै सुनेर फर्किंदैनन् । उनीहरुले नेताको जीवन पद्दति पनि अध्ययन गरेर फर्कन्छन् ।

मानौँ दैलेखबाट कुनै कार्यकता काठमाडौँमा नेताको घरमा पुग्यो रे । त्यहाँ उसले नेताको घर, गाडी, सोफा, परिवार, आफन्त सबैको अध्ययन गर्छ । कस्तो मान्छे आउँदा नेताले झर्को–फर्को गर्छ, कस्ता व्यक्तिलाई हाँसीहाँसी स्वागत गर्छन, उसको प्राथमिकता केमा छ भन्ने कुरामा राम्ररी बुझेर फर्किन्छ ।
अहिले आफ्नो कुर्सी बलियो बनाउन नेताहरुले जुन–जुन गैरराजनीतिक गतिविधि गरिरहेका छन् नि, त्यसको प्रत्यक्ष प्रभाव आम कार्यकर्ता र जनतासम्म पुगिरहेको हुन्छ ।

रोजा लक्जेम्बर्गले त्योबेलामै संसद्वाद भनेको अवसरवाद कोरल्ने ठाउँ हो भन्नुभएको थियो । अहिलेको अध्यादेश प्रकरणलाई पनि त्यसैसँग जोडेर हेर्नुपर्ने हुन्छ ।
अवसरवाद र मूल्य मान्यतामा हिँड्न सिकाउने पार्टीले हो । पार्टी सिद्धान्तनिष्ठ भयो भने नेताहरु पनि सही बाटोमा हिँड्न कर लाग्छ, तर अहिले पार्टीहरु पार्टी जस्ता छैनन् ।

बेलुनजस्तो फुलाएर पार्टीले जे नगर्नुपर्ने हो, त्यही गर्ने र जेचाहिँ नगरी नहुने हो त्यही गराउने अवस्थामा पुर्याइएको छ । नेपालका जति ठूलो पार्टी भए पनि ५०÷६० जनाको केन्द्रीय कमिटी भए पुग्छ ।
तर, ४÷५ सय केन्द्रीय सदस्य नभएको पार्टी नै छैन । त्यत्रो ठूलो कमिटी भएपछि हत्तपत्त बैठक बोलाउनै परेन । बोलाइहाले पनि छलफल गर्नै परेन । दुई, चारजना नेताहरुले प्रवचन दियो, बैठक सकियो ।
केन्द्रीय सदस्यहरुको मनमा के कुरा छ, बैठकमा राख्न सम्भव नै हुँदैन । बैठक भए पो कुरा राख्न पाइन्थ्यो, त्यो त एक किसिमको जात्रा भइरहेको हुन्छ ।

अहिले पार्टीमा समस्या देखिनुको कारण नै यही हो । सिद्धान्त छोड्नुको परिणाम देखिन थालेको छ । यसले अन्ततः ठूलो दुर्घटना निम्त्याउँछ । पार्टीलाई रसातलमा लैजान्छ । यसमा कुनै शंका छैन ।
त्यति हुँदाहुँदै पनि पार्टीलाई सिद्धान्तनिष्ठ ठाउँमा लैजान पर्यत्न गरिरहेका छौं । उत्पीडितलाई वाणी दिने काम मार्क्सवादले मात्रै गर्ने भएकाले मार्क्सवादी पार्टीको विकल्प छैन ।

यो पार्टीको ८–१० लाखमध्ये केही कार्यकर्ता मात्रै जुर्मुराए पनि सिद्धान्तनिष्ठा ठाउँमा लैजान सकिन्छ भन्ने विश्वासमा छु ।
अहिले नेताहरु जे पनि गर्न तयार हुनुको कारण फलाना पनि बिग्रेकै छ भनेर हो । उसले भान्जालाई नियुक्ति दियो, अर्कोले साढुभाइलाई जागिर लगायो भनेरै मनलाग्दी गर्ने प्रवृत्ति बढेको हो ।

यसले पार्टीलाई सरासर अन्तरघाततर्फ लगिरहेको छ । सम्हाल्न सकिएन भने अरुविरुद्ध प्रयोग भइरहेको गैरराजनीतिक हतियार आफैंमाथि प्रहार हुन बेर लाग्दैन ।
(नेकपा नेता राम कार्कीसँग अनलाइन खबरले गरेको कुराकानी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: