।। अर्जुन कार्की ।।
मेचीनगर, २९ चैत । लकडाउनको १९ औं दिन पुगिरहँदा पूर्वी नाकाको सहर काँकरभिट्टामा शनिवार नेपाल प्रहरी मार्चपाससहित कडा रुपमा प्रस्तुत भएको छ ।
केही न केही बहाना निकालेर मोटरसाइकल कुदाउने, फिजिकल डिस्टेन्ट पालना नगरी भीड हुने, चोकमा उभिएर गफ फिट्ने र रमिता हेर्न निस्कनेहरु बल्ल मेचीनगरमा हायलकायल भएका छन् ।
जनगुनासो आएपछि शनिवारदेखि सडक चकमन्न हुने गरी प्रहरी कडा रुपमा प्रस्तुत भएको हो ।
प्रहरीले कोरोना विरुद्वको लडाई जित्नका लागि सर्वसाधारणले घरभित्रै बसेर लकडाउनको पूर्ण पालना गर्नुपर्ने भन्दै शनिबार विहान काँकरभिट्टा बजारमा माइकिङसहित मार्चपास गरेको थियो ।
विहान ८ वजे सयजना भन्दाबढीको सुरक्षाकर्मीको टोली हातहतियार र बर्दीमा बजारमा मार्चपास गर्दै उत्रिएको देखेपछि लकडाउनलाई वेवास्ता गर्दै सडकतिर निस्कनेहरुको भागाभाग भएको थियो ।
कफ्र्यु लागेको हो कि भन्ठानेर खाद्यान्न सामग्री किन्न पसलमा भेला भएका सर्वसाधारण समेत हतार–हतार घरतिर लागेका थिए ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी राजेन्द्र पोखरेल आफै माइकिङ गर्दै सय जना जतिको टोली लिएर बजारमा निस्केका थिए । लकडाउनको पालना गर्दै घरमा बसेका मानिसहरुले घरका बरण्डा र झ्यालबाट प्रहरीलाई हातको इसाराले धन्यवाद दिएका थिए ।
शुक्रबारसम्म काँकरभिट्टा बजारमा मान्छेहरु दिनभरि नै फाट्टफुट्टा हिँडिरहेको देखिन्थे । तर शनिबार बजार चकमन्न भएको थियो ।
डीएसपी पोखरेलले कोरोनाविरुद्वको लडाईमा सबैले साथ दिनुपर्ने आह्वान गर्दै लकडाउन पालना नगरेको खण्डमा कडा कारवाही गरिने चेतावनी दिएका छन् ।
‘कोरोनाविरुद्वको लडाईमा कसैसँग किन्चित सम्झौता हुँदैन,’ डीएसपी पोखरेलले सर्वसाधारणलाई भनेका छन्–‘वैशाख ३ गतेसम्म लकडाउनको पूर्ण पालना गरौँ । खाद्यान्न सामग्री, औषधि लगायतका अत्यावश्यक वस्तु चाहिएमा हामीलाई खवर गर्नु होला, हामी त्यसको व्यवस्था गछौँ ।’
डीएसपी पोखरेलको टोलीले ईटाभट्टा, धुलाबारी र चारआलीका बजारमा समेत माइकिङ गरेको थियो । त्यता पनि शनिवार लकडाउनको पूरा पालना भएको देखियो ।
उनका अनुसार भारत र नेपाल दुबैतिरबाट अब कोहीपनि छिर्न नपाउने भएका छन् । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टाछुट्टै क्याम्प खडा गरी सीमानालाई पुरै बन्द गरिदिएका छन् ।
काँकरभिट्टा नाकामा कडाइसँगै सीमा सुरक्षा निगरानी समिति समेत गठन भइसकेको छ । इलामको सलकपुरदेखि तिरिङ, बाहुनडाँगी, नकलबन्दा, तुर्केनी, गैरीगाउँह ुँदै सतिघट्टा र ज्यामिरगडीसम्म जनप्रतिनिधि, नागरिक समाज, सक्रिय युवाहरु र प्रहरीको निगरानी समिति बन्नेको डीएसपी पोखरेलले जानकारी दिए ।
सीमा नाकामा ५२ जनाको सीमा सुरक्षा निगरानी समिति गठन भएको उनले बताए । वडाध्यक्षको नेतुत्वमा उक्त समिति गठन भएको हो ।
यस्तै, काँकरभिट्टा, ईटाभट्टा, धुलाबारी, चारआलीका बजारमा लकडाउन पालना स्वयमसेवक परिचालन समिति गठन गरिने इप्रकाले जनाएको छ ।
त्यसका लागि मेची उद्योग वाणिज्य संघ, माइती नेपाल लगायत संस्थासँगको सहकार्यमा बजारमा स्वयमसेवक खटाइने उनले जानकारी दिए ।
लकडाउनको पालना नगर्नेलाई झापाको दमक, शिवसताक्षी, कनकाई, बिर्तामोड, भद्रपुर लगायतका पालिकामा प्रहरीले ‘टु आवर लकडाउन सेल’को नीति लागू गरेको छ । अर्थात लकडाउनको अवज्ञा गर्नेलाई दुईघन्टा तातो घाममा सडकमा उभ्याइने गरिएको छ ।
प्रहरीले शनिवारदेखि गरेको कडाइलाई स्थानीयवासीले सामाजिक सञ्जालमार्फत स्वागत गरेका छन् । अधिकांशले यस्तो कडाई अझ अघिदेखि हुनुपथ्र्यो भनेका छन् ।
‘आजको लकडाउन ठिक लाग्यो तपाई नि’–फेसबुकमा सामाजिक कार्यकर्ता गीता लकाई खड्काले फेसबुकमा लेखेकी छन् ।
निरु आचार्यले लेखेकी छन्–‘बल्ल लकडाउन जस्तो देखियो ।’
मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निरु परियारले लकडाउन हामी सबैको लागि गरिएको हो भन्ने बुझिदिन नगरवासीलाई आग्रह गरेकी छन् । लकडाउन अटेर गर्नेमाथि प्रहरीले कडा रुपमा प्रस्तुत हुनु स्वाभाविक भएको उनको भनाई छ ।